मलेसियामा मृत्यु भएका सप्तरी विष्णुपुर गाउँपालिका–६, गोरगामाका ३२ वर्षीय मञ्जय सदाको शव कम्पनीकै खर्चमा नेपाल ल्याइने भएको छ । क्वालालम्पुरस्थित नेपाली राजदूतावास र सदा कार्यरत रहेका केलाङस्थित फ्लास कम्पनीबीच गत मंगलबार उक्त सहमति भएको हो ।
सहमतिअनुसार शव नेपाल पठाउँदा लाग्ने सम्पूर्ण खर्च कम्पनीले व्यहोर्ने र शव कास्केट कम्पनीमार्फत फर्काइनेछ । कम्पनीले मृत्यु प्रमाणपत्र, पोस्टमार्टम र प्रहरी रिपोर्टलगायत अस्पताल र त्यहाँका सरकारी निकायबाट हुने अन्य प्रक्रियाका लागि काम सुरु भइसकेको राजदूतावासले जनाएको छ । मृत्यु प्रमाणपत्र प्राप्त भइसकेपछि नेपालबाट आवश्यक पर्ने नाता प्रमाणित प्रमाणपत्र र शव बुझ्ने व्यक्तिको आवश्यक विवरण माग गरिनेछ । त्यसपछि मात्रै टिकट बुकिङसहितका थप कार्य पूरा गरी शव नेपाल पठाइने छ । तर, अवैध रुपमा काम गर्दै आएका मृतक सदासँग पासपोर्ट नहुँदा शव सनाखत गर्न समस्या भइरहेको छ । डीएनए परीक्षण गराउनुपर्दा शव पठाउन बढी समय लाग्न सक्ने अन्यथा थप प्रक्रिया पूरा गर्न २ सातासम्म लाग्ने राजदूतावासले जनाएको छ ।
मृतक सदा १२ वर्षअघि रोजगारीका लागि मलेसिया पुगेका थिए । तर, भनेअनुसार काम र तलब नपाएका सदाले त्यहाँको काम छाडेर तफाध्दल सेक्युरिटी एसडीएन बीएचडीमार्फत फ्लास कम्पनीमा ‘राजीव बहादुर’ नामले काम गर्दै आएका थिए । चार साताअघि अचानक सिकिस्त बिरामी परेका सदालाई केलाङस्थित तेंग्कु अम्पुअन राहिमह अस्पतालमा भर्ना गरिएको थियो । उपचारको क्रममा सदाको चैत २६ गते बिहीबार मृत्यु भएको थियो ।
उपचार खर्च र अन्य गरी कूल ७ लाख रुपैयाँ खर्च जुटाउन नसक्दा थप चिन्तामा डुबेका परिवारको विषय ‘इकान्तिपुर’ले सार्वजनिक गरेको थियो ।