मलेसियामा नेपालीबाटै ठगिन्छन् नेपाली

11 May, 2014

मिलेसियामा काम गर्दै आएका चितवनका सुमन अधिकारी गत अगस्टमा घरमा पैसा पठाउने कम्पनी खोज्दै कोतारायको माइडिन सुपरमार्केट छेउमा पुगे । उनले त्यहाँ रहेका नेपालीसँग यसबारे सोधे । तर आफ्नै मुलुकका दाजुभाइले उनलाई साँघुरो गल्लीमा पुर्‍याएर ६४ हजार ५ सय रुपैयाँ (२ हजार १ सय ५० रिंगिट) र एक सेट मोबाइल फोन लुटिदिए । घरपरिवारलाई दसैंखर्च पठाउन त्यहाँ पुगेका उनी रित्तो हात होस्टल फर्किए ।  सिप्तरीका देवीराम राय यादव दुई वर्षदेखि गैरकानुनी हैसियतमा जोहोरबारुको एक फर्निचर कम्पनीमा कार्यरत थिए । वैध बनाइदिने आसमा उनी साथीमार्फत राज भनिने नेपाली दलालको सम्पर्कमा पुगे । तर करिब १ लाख ६० हजार रुपैयाँ )५ हजार ३ सय रिंगिट) असुलेर उक्त दलाल फरार भयो । वैध बनाउनुको सट्टा दलालले सबै रकम कुम्ल्याएर ११ महिनाअघि फरार भएपछि बल्ल उनले आफू ठगिएको थाहा पाए । अहिले न दलाल सम्पर्कमा छ, न त पैसा फिर्ता नै । उनी गैरकानुनी हैसियतमै रुमल्लिइरहेका छन् ।  मलेसियामा नेपालीहरू ठगिने/लुटिने क्रम बढ्दो छ, त्यो पनि नेपालीबाटै । मुलुकभित्रै दलालको बिगबिगी झेल्दै पसिना बगाउन मलेसिया हान्निएकालाई यहाँसमेत नेपालीले नै ठग्ने गरेका छन् । ‘ठगिएको गुनासोसहित कारबाही गरिपाउँ भन्दै धेरै निवेदन पर्ने गरेको छ,’ नेपाली दूतावासका एक अधिकारीले भने, ‘बढीजसो नेपालीले नै नेपालीलाई ठगेका छन् ।’  धेरै तलब सुविधा पाइने जागिर लगाइदिने, गैरकानुनी हैसियत भएकालाई वैध बनाइदिने वा घर फर्काइदिने जस्ता प्रलोभनमा नेपालीहरू फस्ने गरेका छन् । बिमा रकम मिलाइदिने र जेलमा भएकालाई मुक्त गराइदिनेजस्ता आश्वासनबाट पनि उनीहरू ठगिने गरेका छन् । धेरै तलब सुविधाको लोभमा वैध कामदार पनि भएको जागिर छाडेर गैरकानुनी बन्ने गरेका छन् । तीबाहेक लागू औषधको कुलतमा फसेका नेपाली आफ्नो देशका नागरिक आउजाउ बढी हुने ठाउँमा लुटपाटमा संलग्न भएका पनि छन् । यस्ता गतिविधिमा लाग्नेहरूमा घरपरिवारसित सम्पर्क विहीन भएका र गैरकानुनी हैसियतमा रहेकाहरू छन् ।  एउटै कम्पनीमा कार्यरत र होस्टलमा सँगै बस्नेले पनि सहकर्मी ठगेर भाग्ने गरेका छन् । होस्टलमा बस्नेहरू प्रायः पालैपालो रकम संकलन गरेर नेपाल पठाउने गर्छन् । त्यसक्रममा सहकर्मीसँग सापटी लिएपछि एकाएक फरार हुने घटना बढेका छन् । ठाउँअनुसार जानकारी अभाव, भाषासम्बन्धी समस्या, नगद लिएर हिँड्ने बानी भएकाले उनीहरू ठगिने गरेका हुन् । नेपालीले नेपालीलाई झट्टै विश्वास गर्नाले पनि धेरै ठगिएका छन् । महत्त्वपूर्ण धनमाल गुमाएर उनीहरूले घरफिर्ती खर्च अभावसमेत झेल्ने गरेका छन् ।  प्रहरीकहाँ उजुरी गर्दा खासै सुनुवाइ नहुने गुनासो पीडितहरूको छ । दूतावासले पनि कारबाहीका लागि पहल नगरिदिने आरोप उनीहरूले लगाए । ठग्नेको पहिचान नखुल्नाले कारबाही गर्न समस्या हुने गरेको दूतावासका अधिकारीहरूले बताए । दूतावासका अनुसार पहिचान खुले पनि ठगी गर्नेले फोन नम्बर र बस्ने ठाउँ फेर्नाले कारबाही गर्न गाह्रो छ । ‘भनेसुनेकै भरमा विश्वास गरेर रकम दिँदा यस्ता समस्या एकदमै धेरै आउने गरेको छ,’ दूतावासका अधिकारीले भने, ‘रकम लिए वा दिएको रसिद वा बैंकिङ स्लिपजस्ता प्रमाण अभावमा ठगलाई कारबाही गर्न अप्ठ्यारो पर्ने गरेको छ ।’

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024