मलेसियामा दुई नेपालीलाई आजीवन जेल

8 June, 2013

सुरेन्द्र पौडेल

मलेसियाको उच्च न्यायलयले दुई नेपालीसहित तीन जनालाई आजीवन काराबासको सजाय सुनाएको छ। दुई वर्षअघि एक सुरक्षा कम्पनीको प्रमुख कार्यकारी अधिकृतको अपहरण गरी फिरौती लिएको घटनामा दोषी ठहर गर्दै अदालतले शुक्रबार यो सजाय सुनाएको हो। सजाय पाउने तेस्रो व्यक्ति भने मलेसियाली हुन्। 

आरोपी तीनै जनाले अपहरण गरी १० किलो सुन फिरौती लिएको अदालतमा स्वीकारेपछि सिलनगोर राज्यको राजधानी शाह आलमको उच्च न्यायालयले फैसला सुनाएको हो। आजीवन काराबासको सजाय पाउने दुई नेपालीमा ३२ वर्षे आर रोशन र ३० वर्षका टिजे रमेश छन्। दुवै निर्माण मजदुरका रूपमा मलेसिया गएका थिए। सजाय पाउने मलेसियाका नागरिक सी रुद्र भने हवाई परिचारक हुन्।

‘अपहरण हुँदा पीडित घाइते भएका छैनन्। फिरौतीस्वरूप लिइएको सुन फिर्ता भइसकेको छ, जुन पीडित पक्षलाई प्राप्त भइसक्यो,’ दोषीलाई मृत्युदण्डको सजाय नदिई आजीवन कारावास सुनाउनुको कारण न्यायाधीस अब्दुल अली अब्दुल्लाहले फैसलामा खुलाएका छन्। पीडित पक्षले मुद्दा दायर गर्दा तीनै जनालाई मृत्युदण्ड मागेका थिए।

पीडित घाइते नभएकै कारण आरोपीहरू मृत्युदण्डको सजायबाट बचेको मलेसियन अखबार ‘द स्टार’ले आफ्नो अनलाइन संस्करणमा उल्लेख गरेको छ। समाचारमा सजाय पाउने दुई नेपाली नागरिकको स्थायी ठेगाना भने खुलाएको छैन। फैसलापछि तीनै जनालाई अनुहार छोपी दालतबाट बाहिर निकालिएको थियो।

दुई नेपालीलाई आजीवन काराबास भएको जानकारी मलेसियास्थित नेपाली दूतावासलाई भने छैन। मलेसियाका विभिन्न अदालतमा थुप्रै नेपालीमाथि मुद्दा चलिरहेकाले कुनको फैसला शुक्रबार भएको हो यकिन नभएको भनाइ दूतावास बताउँछ।

‘विभिन्न आपराधिक घटनामा संलग्न रहेको आरोपमा थुप्रै नेपालीमाथि मलेसियाका अदालतमा मुद्दा चलिरहेका छन्। यीमध्ये कुनचाहिँका आरोपीलाई आजीवन कारावास सुनाइएको हो, त्यो जानकारी मलेसिया सरकारबाट प्राप्त भएको छैन,’ दूतावासका श्रम सहचारी अमलकिरन ढकालले टेलिफोनबाट नागरिकलाई भने। शनिबार र आइतबार मलेसियामा सार्वजनिक बिदा हुने हुँदा सोमबार मात्र घटनाबारे बु‰ने उनले जनाए।

२०६७ फागुन २३ गते स्थानीय समय अनुसार बिहान साढे ११ बजे ६६ वर्षीय ए कानापाथीलाई पोर्ट कलाङ भन्ने स्थानबाट तीन जनाले अपहरण गरेका थिए। अपहरणकारीले १० केजी सुन फिरौती मागेका थिए। जुन सुनको बजार मूल्य त्यतिबेला १४ लाख ४० हजार रिंगेट (४ करोड १७ लाख ६० हजार रुपैयाँ) मूल्यांकन गरिएको थियो।

फिरौती बुझाई मुक्त भएपछि पीडितले अपहरणकारी पहिचान गरी प्रहरीमा उजुरी गरेका थिए। उजुरी परेको दुई दिनपछि प्रहरीले तीनै आरोपीलाई पक्राउ गरेको थियो। उनीहरूलाई त्यही वर्ष चैत ८ गते कलाङ मेजिस्ट्रेट कोर्टमा पेस गरिएको थियो। त्यसपछि उनीहरूको मुद्दा उच्च न्यायालय सारिएको थियो। उनीहरूमाथि मलेसियाको अपहरण कानुन, १९६१ अनुसार मुद्दा चलाइएको थियो |

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024