मलेसियामा थुनिएका नेपाली कामदार रिहा हुने

3 April, 2014

मलेसियाले धरपकडमा परेका नेपाली कामदारलाई चाँडै रिहा गरी स्वदेश फर्काउने भएको छ । नेपाल भ्रमणमा रहेका मलेसियाका गृहमन्त्री अहमद जालिद हमिदीले नेपालका श्रम राज्य मन्त्री टेकबहादुर गुरुङसँगको भेटमा मलेसियामा अवैधानिक भएर बसेका कामदारलाई तत्काल स्वदेश फर्काउने वातावरण बनाउने बताएका हुन् । 

मलेसियाले गत भदौ र माघमा अवैध आप्रवासी कामदारलाई धरपकड अभियान थालेको थियो। यसमा करिब ७ सय नेपाली कामदार पक्राउ परेको मलेसियास्थित नेपाली दूतावासले जनाएको थियो । श्रम समेत हेर्ने मलेसियाका गृह मन्त्री हमिदीको नेपाल भ्रमणमा राज्यमन्त्री गुरुङले पक्राउ परेका नेपाली कामदारको विषयमा चासो राखेपछि हमिदीले उनीहरुलाई प्रक्रिया पुर्‍याई स्वदेश चाँडै फर्काउने बताएका हुन्। मन्त्री गुरुङले नेपाली कामदारको तलब, सुविधा, सुरक्षा र अवसरका विषयमा कुरा उठाएको गुरुङका प्रेस संयोजक मधु लम्सालले नागरिकलाई जानकारी दिए। गुरुङले अवैध नेपाली कामदारलाई वैध बनाउनुपर्ने नभए चाँडै स्वदेश फिर्ता गर्ने वातावरण निर्माण गर्नुपर्ने कुरा उठाएको लम्सालले जानकारी दिए।

भेटको अवसरमा मलेसियासँग श्रम सम्झौताका विषयमा पनि कुराकानी भएको थियो। मलेसियासँग श्रम सम्झौता हुन नसक्दा कामदारको हक अधिकार तथा सेवा सुविधाका विषयमा अन्योल भएको भन्दै मन्त्री गुरुङले चाँडो सम्झौता हुनुपर्ने कुरालाई जोड दिएका थिए । गृहमन्त्री हमिदीले मलेसिया फर्केपछि श्रम सम्झौताका विषयमा कुरा चालाएर प्रक्रियामा लैजाने बताएका छन्। सम्झौताका लागि चाँडै मस्यौदा बनाएर दुई देशका समझदारी पछि कार्यान्वयनम ल्याउने उनले बताएका हुन्। मलेसिया कामदारको सुरक्षा र अधिकारको विषयमा संयमित रहेको बताउँदै हमिदीले हरेक विषयमा सम्झौता हुने उनले बताए। साथै उनले भेटमा बायोमेटि्रक प्रणालीलाई लागू गर्नुपर्ने बताउँदै चाँडै अगाडि लैजान मन्त्री गुरुङलाई आग्रह गरेका थिए। भेटमा हमिदीले एक वर्षभित्र थप २ लाख नेपाली कामदारलाई रोजगारी दिने समेत बताएका छन्। नेपाली कामदार मिहिनेती र इमान्दार हुने भएकाले नेपाली कामदारलाई प्राथमिकता दिदै एक वर्षभित्र २ लाख नेपालीलाई रोजगार दिने हमिदीले बताएका हुन्। औद्योगिक, कृषि र सुरक्षाका कामका लागि नेपाली कामदारलाई उच्च प्राथमिकता दिने उनले बताएका हुन्। अहिले नेपाली कामदारको लागि मलेसिया प्रमुख गन्तव्य बन्दै आइरहेको छ।  भेटवार्तामा मलेसियाका लागि नेपाली राजदूत निरञ्जनमानvसिंह बस्न्यात लगायत सहभागी थिए । मलेसियामा हाल करिब ६ लाख नेपाली कामदार कार्यरत छन्।

Publish on:  3 April 2014 | Nagarik

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024