वैदेशिक रोजगारीका लागि मलेसियामा गएका सल्यानका एक युवकको चक्कु प्रहारबाट मृत्यु भएको छ । मृत्यु हुनेमा सल्यान कपुरकोट गाउँपालिका– ३, दमारखोलाका २१ वर्षीय बेदबहादुर बुढा रहेका छन् । आइतबार मलेसियाको समयअनुसार राति ३ बजेतिर आफ्नै साथीको चक्कु प्रहारबाट बुढाको मृत्यु भएको हो।
कपुरकोट गाउँपालिका– ३ का वडाध्यक्ष प्रदीप खड्काका अनुसार चक्कु प्रहार गर्ने व्यक्ति रोल्पा गंगादेव गाउँपालिका– ३, नाउली भालुमारेका करिब २५ वर्षीय चोपीलाल डाँगी रहेका छन् ।
घटनापछि डाँगी र अन्य केही युवालाई मलेसियाको प्रहरीले नियन्त्रणमा लिएको छ । घटना पेनाङ राज्यमा भएको हो । त्यहाँको प्रहरीले आफ्नै आधिकारिक वेबसाइटमार्फत यसबारे जानकारी सार्वजनिक गरेको छ ।
मृतकका काका पर्शुराम बुढाले घटनाको पुष्टि गर्दै पोस्टमार्टम र प्रहरी रिपोर्टपछि शव नेपाल ल्याउने तयारी भइरहेको जानकारी दिए । घटनाको कारण प्रारम्भिक अनुसन्धानले साथीबिचको आपसी विवादलाई देखाएको छ ।