मलेसियाद्वारा नेपालसहित १० स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यानपावर कम्पनी सूचीकृत

24 August, 2026

Hom Karki

नेपाली श्रमिकको प्रमुख रोजगार गन्तव्य मलेसियाले नेपालसहित १० स्रोत मुलुकबाट श्रमिक ल्याउने म्यानपावर कम्पनीलाई सूचीकृत गरेको छ । यो निर्णयपछि ‘विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली’ (एफडब्लूसीएमएस) मा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउनेछन् ।

मलेसियाको मानव संसाधन मन्त्रालय (केसुमा) ले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रियालाई शनिबारदेखि पूर्ण रूपमा कार्यान्वयनमा ल्याएको जनाएको छ । एफडब्लूसीएमएसमा फिलिपिन्सका ९९, श्रीलंकाका ४०, भियतनामका ४०, नेपालका २५, बंगलादेशका २५, कम्बोडियाका २३, भारतका १०, म्यानमारका १०, पाकिस्तानका १० र थाइल्यान्डको १ म्यानपावर कम्पनीलाई सूचीकृत गरिएको छ । रोजगारदाताले एफडब्लूसीएमएस सूचीकृत भएका बाहेक अन्य म्यानपावर कम्पनीमार्फत श्रमिक भर्ना गर्न नपाइने मलेसियाको मानव संसाधन मन्त्रालयको विज्ञप्तिद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

‘रोजगारदाताले ६ भदौदेखि एफडब्लूसीएमएसमार्फत अनलाइन आवेदन दिई विदेशी कामदार भर्ना गर्न सक्नेछन् । यो प्रक्रिया रोजगार ऐन, १९५५ को धारा ६० अन्तर्गत विदेशी कामदार भर्ना गर्न प्रारम्भिक स्वीकृतिका लागि आवेदन दिनबाट सुरु हुनेछ । त्यसपछि ससर्त स्वीकृति पत्र जारी गरिनेछ,’ विज्ञप्तिमा भनिएको छ, ‘आवेदन पूर्ण भएको र तोकिएका सबै मापदण्ड तथा सर्तहरू पूरा भएको अवस्थामा उक्त स्वीकृतिपत्र १४ दिनभित्र प्राप्त गर्न सकिनेछ ।’ विदेशी श्रमिक भर्ना प्रक्रियालाई प्रभावकारी, पारदर्शी र सुरक्षित हुने ढंगले सञ्चालन गर्न प्रतिबद्ध रहेको समेत मन्त्रालयले जनाएको छ ।

मलेसियाले सूचीकृत गरिएका म्यानपावर कम्पनीको विषयमा नेपाल सरकारसँग सहमति लिएको छैन । गत वर्ष कात्तिकमा मलेसियाले ‘दुई देशबीच मर्यादित श्रम आप्रवासनलाई अभ्यास गर्नका लागि उचित संख्यामा म्यानपावर कम्पनी छनोट गर्न’ नेपालसहित ५ वटा देशका म्यानपावरका लागि १० वटा मापदण्ड निर्धारण गरेको भन्दै नेपाललाई पत्र पठाएको थियो । उक्त मापदण्डअनुसार म्यानपावर कम्पनीको सिफारिस गर्न २७ कात्तिकको समयसीमा तोकिएको थियो । सरकारले भने त्यसलाई प्रस्तावका रूपमा मात्रै स्वीकार गरेको नोट मलेसियालाई पठाएको थियो । ‘मलेसियाले पठाएको १० बुँदे मापदण्ड प्रस्ताव मात्र हो । यही नै अन्तिम होइन,’ त्यतिखेर प्रधानमन्त्री कार्यालयले पठाएको नोटमा भनिएको थियो, ‘तसर्थ द्विपक्षीय वार्ताका माध्यमबाट नेपाली श्रमिक र व्यवसायी दुवैको अधिकतम हित हुने गरी मर्यादित र सुरक्षित रोजगारी सुनिश्चित गर्ने ।’ त्यसपछि दुई मुलुकबीच श्रमिक भर्ना प्रक्रियाबारे कुनै पनि वार्ता भएन । तर, मलेसियाले एक्कासि शुक्रबार विदेशी श्रमिकको भर्नासम्बन्धी नयाँ मोडल लागू गरेको भन्दै सूचीकृत गरिएका म्यानपावरको नाम सार्वजनिक गरेको छ ।

यसैबीच युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले शनिबार मलेसियाका कार्यवाहक राजदूत मोहम्मद फिरदोस आजामसँग भेट गरेका छन् । मन्त्रालयमा भएको उक्त भेटमा मन्त्री यादवले श्रमिक भर्नासँग सम्बन्धित विषयलाई द्विपक्षीय संवादबाट टुंग्याउनुपर्ने बताए । कार्यवाहक राजदूत आजामले मलेसियाले श्रमिक भर्नामा पछिल्लो पटक लिएको नीतिबारे नेपाललाई जानकारी दिएको मन्त्रालयका प्रवक्ता पीताम्बर घिमिरेले जानकारी दिए । ‘मलेसियासँग श्रम सम्झौता छ । श्रम आप्रवासनको विषयमा द्विपक्षीय छलफल, परामर्श र संवाद गर्नुपर्छ । यसका लागि प्राविधिक समितिको बैठकबाट टुंग्याउनुपर्छ भन्ने विषय श्रम मन्त्रालयको हो,’ श्रम प्रवक्ता घिमिरेले कान्तिपुरलाई भने । मन्त्री यादव र कार्यवाहक राजदूत आजामबीचको भेटलगत्तै सरकारले परराष्ट्र मन्त्रालयमार्फत शनिबार नै मलेसियालाई कूटनीतिक नोट पठाएको छ ।

यसैबीच नेपाल वैदेशिक रोजगार व्यवसायी संघको शनिबार बसेको आकस्मिक बैठकले मलेसियाद्वारा सूचीकृत गरिएका २५ वटा संस्थालाई निलम्बन गर्ने निर्णय गरेको छ । ‘संघले २५ वटा संस्थालाई हाललाई निलम्बन गरेर सोमबारसम्म स्पष्टीकरण दिन भनिएका छौं । ती संस्थालाई नियमन गर्न सम्बन्धित नियामक संस्थालाई पत्रचार गर्नेछौं,’ संघका अध्यक्ष डिकबहादुर खत्रीले भने ।

खत्रीले मलेसियाको श्रम सम्बन्धलाई कायम राख्न कुशल ढंगले कूटनीतिक पहल गर्नुपर्ने बताए । ‘सरकारले कुशल कूटनीतिक प्रयासद्वारा यसको हल खोज्नुपर्छ,’ उनले भने, ‘यदि यो सम्भव भएन भने केही समयका लागि २५ वटा म्यानपावर कम्पनीहरूलाई सरकार आफैंले निलम्बन गर्नुपर्छ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024