मलेसियाको म्यानपावर मापदण्डमा अध्ययन गर्न श्रमसचिवलाई प्रधानमन्त्रीको निर्देशन

31 October, 2025

होम कार्की

प्रधानमन्त्री सुशीला कार्कीले मलेसिया सरकारले वैदेशिक रोजगार व्यवसायीका लागि तोकेको नयाँ मापदण्डका कारण पर्न सक्ने सम्भावित असर अध्ययन गरी आवश्यक पहलकदमी लिने गृहकार्य गर्न श्रमसचिव कृष्णहरि पुष्करलाई निर्देशन दिएकी छन् ।

प्रधानमन्त्री कार्कीले बिहीबार बिहान सचिव पुष्करलाई आफ्नो कार्यकक्षमा बोलाएर उक्त विषयमा जानकारी लिएकी थिइन् । मलेसियाले मर्यादित श्रम आप्रवासनको अभ्यासलाई बलियो बनाउन भन्दै ‘उचित संख्या’मा स्रोत देशमा रहेको म्यानपावर कम्पनीलाई छनोट गर्न १० वटा मापदण्ड निर्धारण गरेको छ । उसले आफ्ना प्रमुख स्रोत देश नेपालसहित पाँच देशलाई नै कात्तिक २९ गतेभित्र मापदण्ड पुगेको म्यानपावर कम्पनीको सूची पठाउन अनुरोध गरेको छ ।

सचिव पुष्करले मलेसिया पठाएको नयाँ मापदण्डबारे प्राप्त भएको जानकारी गराएका थिए । यसलाई कूटनीतिक रुपमा सम्बोधन गर्नुपर्ने बताए । प्रधानमन्त्री कार्कीले परराष्ट्र, अर्थ र श्रम मन्त्रालयसँग पनि समन्वय गर्न निर्देशन दिएकी छन् ।

मलेसिया अदक्ष श्रमिकको लागि प्रमुख गन्तव्य मुलुक हो । वैदेशिक रोजगार व्यवसायी संघले मलेसियाको नयाँ मापदण्डले एकाधिकार गर्ने भन्दै अस्वीकार गर्न नेपाल सरकारलाई आग्रह गरेको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026