मलेसियाको एफडब्लूसीएमएस सूचीबाट नेपाली म्यानपावर व्यवसायीहरू हट्न तयार

25 August, 2026

Hom Karki

नेपालबाट श्रमिक ल्याउन सूचीकृत भएका म्यानपावर कम्पनीले आफूहरू मलेसियाको सूचीबाट हट्न तयार भएको बताएका छन् ।

मलेसियाले नेपालसहित १० स्रोत देशबाट श्रमिक ल्याउने म्यानपावर कम्पनीलाई विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) मा सूचीकरण गरेको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको समन्वयमा सोमबार श्रम मन्त्रालयमा बसेको बैठकमा सूचीकृत भएका व्यवसायीहरू आफूहरू एफडब्लूसीएमएसबाट हट्ने बताएका हुन् । उनीहरूले सूचीकरणमा पर्न कुनै पहल नभएको र आफ्नो जानकारी बाहिर रहेको बताए ।

संघका अध्यक्ष डिकबहादुर खत्रीले २५ मध्ये २२ जना सहभागी भई मलेसियाको प्रणालीबाट हट्ने प्रतिबद्धता जनाएको बताए ।

मलेसियाको मानव संशाधन मन्त्रालयले ‘विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली’ (एफडब्लूसीएमएस) मा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै श्रमिक ल्याउन पाउने निर्णय गत शुक्रबार सार्वजनिक गरेको थियो ।

एफडब्लूसीएमएसमा फिलिपिन्सका ९९, श्रीलंकाका ४०, भियतनामका ४०, नेपालका २५, बंगलादेशका २५, कम्बोडियाका २३, भारतका १०, म्यानमारका १०, पाकिस्तानका १० र थाइल्यान्डको १ म्यानपावर कम्पनीलाई सूचीकृत भएका छन् । रोजगारदाताले एफडब्लूसीएमएस सूचीकृतबाहेक अन्य म्यानपावर कम्पनीमार्फत श्रमिक भर्ना गर्न नपाइने मलेसियाको मानव संसाधन मन्त्रालयको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ । यसलाई मलेसियाले शनिबारदेखि नै कार्यान्वयनमा ल्याएको छ ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले नेपाल र मलेसिया सरकारबीचको द्विपक्षीय संयन्त्रमार्फत सबै म्यानपावर कम्पनीको सहभागिता, पारदर्शिता र समान अवसर सुनिश्चित हुने गरी समाधान खोज्न आग्रह गरेको छ ।

बैठकमा संघका अध्यक्ष डिकबहादुर खत्रीले वैदेशिक रोजगार व्यवसायमा समान अवसर हुनुपर्ने, सबै इजाजतपत्रवाला संस्थाबीच स्वस्थ प्रतिस्पर्धा हुनुपर्ने, कुनै पनि नाम वा माध्यमबाट सिन्डिकेट स्वीकार्य नहुने, नेपाली श्रमिकमाथि अतिरिक्त आर्थिक भार पार्ने व्यवस्था स्वीकार्य नहुने र व्यवसायीलाई विभेद गरी सीमित संस्थालाई मात्र अवसर दिने व्यवस्था मान्य नहुने धारणा राखेको बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024