मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर करोडौं ठगी

13 October, 2026

Narayan Adhikari

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने नाममा भएको करोडौं ठगीकै शैलीमा अहिले इजरायल पठाउने भन्दै ठगी भएको खुलेको छ ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले गरेको अनुसन्धानका क्रममा भुटानी शरणार्थी प्रकरणकै जस्तो शैली अपनाएर नक्कली कागजात बनाई ठगी भएको खुलेको हो ।

भुटानी शरणार्थी समस्या समाधानका लागि भन्दै तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’को पालामा ३० जेठ २०७६ मा कार्यदल बनाइएको थियो । गृह मन्त्रालयका पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्व गठित कार्यदलमा विज्ञको रूपमा गणेशबहादुर केसी र सदस्यसचिवको रूपमा गृहका तत्कालीन शाखा अधिकृत दीपकप्रसाद न्यौपाने थिए ।

पन्थी कार्यदलको प्रतिवेदनमा अनसूची नै थपेर नक्कली नाम राख्दै अमेरिका लैजाने भनेर ठगी भएको उल्लेख थियो । ठिक यस्तै शैलीमा मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएर विश्वास दिलाउँदै ठगी गरेको सीआईबीका एक अनुसन्धान अधिकृतले बताए ।

अहिले पक्राउ परेकामध्ये शिवराम श्रेष्ठ र ज्ञानबहादुर कार्की त्यही नक्कली कागजात बनाउने व्यक्ति रहेको सीआईबीका ती अधिकारीले बताए । ‘उहाँहरू दुई जनाको आरोप मन्त्रिपरिषद्को निर्णय भन्दै नक्कली कागजात बनाएको भन्ने छ । उहाँहरूलाई मुलपानी क्षेत्रबाट पक्राउ गरी अनुसन्धान गरेका छौं,’ ती अनुसन्धान अधिकृतले भने ।

शिवराम र ज्ञानबहादुरले भारतीय मुलको जस्तो देखिने व्यक्तिले मन्त्रिपरिषद्को निर्णय जस्तो देखिने कागजात बनाउन लगाएको प्रहरीसमक्ष बयान दिएका छन् । उनीहरूले नक्कली कागजात बनाए वापत केही रकम बुझेको आरोप छ ।

नेपाल सरकार र इजरायल सरकारबीच जीटुजी (सरकार टु सरकारबीच) सम्झौता भएर वैदेशिक रोजगारीमा नेपालबाट केयर गिभरमा इजरायल पठाइँदै आएको छ । नेपाल सरकारले सन् २०२४ मा लिएको परीक्षामा सम्मिलितमध्ये १५६ जनालाई मन्त्रिपरिषद्बाट विशेष निर्णय गराएर लैजाने भन्दै उनीहरूले रकम लिएर ठगी गरेको आरोप छ ।

यो समूहले मन्त्रिपरिषद्को नक्कली कागजात बनाएर विश्वास दिलाउनेदेखि प्रधानमन्त्रीका प्रमुख सल्लाहाकारको नाम लिँदै प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँ लिएर इजरायल पठाउने भन्दै रकम उठाएको बताइएको छ ।

सुरुमा यो ठगीको उजुरी विमल पराजुलीको नामबाट हेलो सरकारमा परेको थियो । हेलो सरकारको च.नं. १५८० को पत्रमार्फत सीआईबी आएको थियो । सन् २०२४ मा सञ्चालित केयर गिभरको परीक्षामा ३ हजार ४६१ जना परीक्षार्थीहरू उत्तीर्ण भएका थिए ।

प्रतीक्षा सूचीमा रहेकालाई यो समूहले मन्त्रिपरिषद्को निर्णय भन्दै विश्वास दिलाउन नक्कली कागजात देखाउने, प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम लिँदै विश्वासमा दिलाउने गरेको बताइन्छ ।

प्रतीक्षा सूचीमा रहेका १ हजार १५२ जनामध्ये १५६ जनालाई क्याबिनेटबाट विशेष निर्णय गराई तत्काल इजरायल पठाउने भन्दै त्यसको नक्कली कागजात बनाएर विश्वास दिलाएका थिए ।

यसरी नक्कली कागजात नै बनाएर भुटानी शरणार्थीकै जस्तो शैलीमा अहिले अर्को ठगी भएको सीआईबीका अधिकारीहरू बताउँछन् ।

कांग्रेस केन्द्रीय सदस्य उम्मेदवार विनिता खड्काविरुद्ध पनि उजुरी परेको थियो । तर, प्रमाण जुटेपछि मात्रै उनलाई पक्राउ गरिएको सीआईबीले बताएको छ । ‘अहिले पक्राउ परेकी खड्काविरुद्ध सुरुमा उजुरी परेको थियो । तर, अनुसन्धानका क्रममा प्रमाण भेटिएपछि बल्ल पक्राउ गरेर अनुसन्धान अघि बढाएका हौं,’ सीआईबीका एक अधिकारी भन्छन्, ‘खड्का र कांग्रेसकै अर्का नेता चौलागाईंबीच इजरायल प्रकरणमा कनेक्सन देखिएको छ ।’

यद्यपि, खड्कालाई सोमबार काठमाडौं जिल्ला अदालतले थुना बाहिरै राखेर अनुसन्धान गर्न आदेश गरेको छ । चौलागाईंलाई भने प्रहरीले सुरुमै पक्राउ गरेको थियो ।

यो समूहले पक्राउ पर्नुभन्दा ४/५ दिनअघि मात्रै रकम बुझेको खुलेको छ । रकम बुझ्ने मुख्य व्यक्ति भने बालिका खड्का रहेको प्रहरीले बताएको छ । उनी मुख्यगरी पीडितसँग जोडिएर काम गर्ने र बाँकी भने बालिकासँग कनेक्सन बनाएर काम गर्ने व्यक्तिहरू हुन् ।

एकै व्यक्तिबाट साढे २ करोड ठगी

प्रहरीले गरेको अहिलेसम्मको अनुसन्धानअनुसार एकै व्यक्तिबाट साढे दुई करोडसम्म ठगी गरेको पाइएको छ । ती व्यक्तिले भने विभिन्न व्यक्तिलाई सम्पर्क गरी इजरायल जानका लागि रकम उठाएको र अहिले पक्राउ परेको गिरोहलाई बुझाएका थिए ।

तर, उनीहरू सबै अहिले अलपत्र परेका छन् । अहिलेसम्म २२ जनाले सीआईबीमा उजुरी दिएका छिन् । २२ जनाबाट साढे ६ करोड ठगी भएको उजुरी आएको सीआईबीका प्रवक्ता तथा एसएसपी अनुपमशमशेर जबराले बताए ।

‘अहिलेसम्म ठगिएको भन्दै २२ जनाले उजुरी दिनुभएको छ । यो संख्या अझै बढ्न सक्छ,’ प्रवक्ता जबरा भन्छन् ।

त्यस्तै सीआईबीले पनि सूचना नै निकालेर कोही पीडित भए सम्पर्क आउन तथा उजुरी दिन आह्वान नै गरेको छ ।

५ जना पक्राउ

यो प्रकरणमा सीआईबीले सुरुमा दुई जनालाई पक्राउ गरेको थियो । १ असोजमा सीआईबीले रामेछापको सुनापति गाउँपालिका–१ घर भएका ५९ वर्षीय भरत चौलागार्इं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ कि ३२ वर्षीया बालिका शिवाकोटी पक्राउ परेका थिए ।

उनीहरूविरुद्ध सुरुमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट ठगीसम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरेको थियो ।

त्यसपछि मुलपानी क्षेत्रबाट ज्ञानबहादुर कार्की र शिवराम श्रेष्ठ पक्राउ परेका थिए । पछिल्लो पटक भने कांग्रेस केन्द्रीय सदस्य उम्मेदवारसमेत रहेकी विनिता खड्का पक्राउ परेकी हुन् ।

संगठितमा अनुसन्धान

सुरुमा ठगीको कसुरमा अनुसन्धान गरेको प्रहरीले त्यसपछि ठगीसँगै आपराधिक लाभको कसुरमा पनि म्याद लिएर अनुसन्धान गरेको थियो ।

तर, अहिले संगठित अपराधको कसुरमा पनि म्याद लिएर अनुसन्धान अघि बढाइएको सीआईबीले बताएको छ ।

सुरुमा दुई जनालाई पक्राउ गरेर अनुसन्धान गरेको प्रहरीले अनुसन्धानको क्रममा थप व्यक्तिको संलग्नता खुलेको र संगठित रूपमा काम गरेको देखिएपछि संगठित अपराधको कसुर पनि लगाएको हो ।

संगठित अपराधको कसुर लगाएसँगै ६० दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्ने सुविधा प्रहरीलाई हुन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026