मणिपुरबाट २२ नेपाली फर्काइँदै

5 March, 2020

जनकराज सापकोटा

काठमाडौँ — संगठित मानव तस्करको गिरोहले भारतको मणिपुर हुँदै म्यानमार लैजान खोज्दा उद्धार गरिएका २२ जना नेपालीलाई नेपाल ल्याउने तयारी गरिएको छ । दिल्लीस्थित नेपाली दूतावासमा कार्यरत एसएसपी प्रकाश अधिकारीका अनुसार फरक–फरक समयमा उद्धार गरिएका उनीहरूमध्ये धेरैजसो महिला रहेको र तिनीहरू मानव तस्करको फन्दामा परेर अवैध बाटो हुँदै वैदेशिक रोजगारीका निम्ति जान लागेका थिए । अधिकांशलाई खाडीका विभिन्न देशमा घरेलु कामदारका रूपमा लैजान लागिएको थियो ।

२०७२ वैशाखमा घरेलु कामदार पठाउनेसम्बन्धी निर्देशिका जारी गर्दै सरकारले साउदी अरब, कतार, कुवेत, यूएई, ओमान र बहराइन, लेवनान र मलेसियामा घरेलु महिला कामदार पठाउन प्रतिबन्ध लगाएको थियो । सरकारी प्रतिबन्धपछि महिलालाई भारतीय बाटो हुँदै अवैध रूपमा तेस्रो देश लैजाने काममा संगठित मानव तस्करहरू सक्रिय देखिन्छन् । मणिपुर हुँदै अवैध रूपमा म्यानमार छिराएर खाडी र इराकजस्ता देशमा घरेलु कामदारको तस्करी नयाँ घटना होइन । २०७५ फागुन ७ मा पनि मणिपुरबाट भारतीय प्रहरीले अवैध बाटोबाट घरेलु कामदारका रूपमा मुख्यतः इराक र कुवेत जान हिँडेका १ सय ७९ जनाको उद्धार गरेको थियो । जसमा १ सय ४७ जना महिला थिए । प्रहरीको मानव तस्कर नियन्त्रण ब्युरोका अनुसार गत वर्षको फागुनयता संगठित मानव तस्करको सम्पर्कबाट अवैध रूपमा विभिन्न देशको श्रम बजारमा प्रवेश गर्न खोज्ने २ सय ७२ जनाको उद्धार भएको छ ।

ब्युरोका प्रवक्ता एसपी गोविन्द थपलियाले उद्धार भएकालाई सरकारी प्रक्रिया पूरा गरेरै नेपाल फर्काउने तयारी भइरहेको बताए । उनले उद्धार भएकाबारे भारतीय प्रहरीले पनि अनुसन्धान गरेको उल्लेख गर्दै भने, ‘नेपाली, भारतीय र खाडीका विभिन्न देशका एजेन्ट मिलेर तस्करीको यस्तो रुट चलाएको देखिन्छ ।’ एसपी थपलियाको बुझाइमा दिल्लीस्थित विमानस्थल हुँदै तेस्रो मुलुक जानका लागि ‘नो अब्जेक्सन सर्टिफिकेट’ अनिवार्य गरिएपछि मणिपुर हुँदै अवैध रूपमा म्यानमार छिराउने रुट सक्रिय भएको देखिन्छ ।

गत वैशाख २६ मा पनि पूर्वोत्तर भारतको मिजोरमबाट अवैध रूपमा खाडीका विभिन्न देशमा घरेलु कामदारका रूपमा लैजान लागिएका २३ महिलाको उद्धार गरिएको थियो । मिजोरमको प्रान्तीय राजधानी आइजोलबाट करिब १ सय ८८ किलोमिटरको दूरी छिचोलेपछि चम्फाइ बजार पुगिन्छ । छिमेकी म्यानमारको सिमानामा रहेको यो बजारको पारिपट्टि जोखोथार बजार छ । तेस्रो देशका नागरिकलाई पारिको बजार जान भिसा लिनु अनिवार्य छ तर संगठित मानव तस्करका गिरोहले अध्यागमनका कर्मचारी र प्रहरीलाई प्रलोभनमा पारेर यही बजार हुँदै वा मणिपुरको मोरो भन्ने ठाउँ हुँदै अवैध रूपमा म्यानमार छिराउने गरेको देखिन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024