मजदुर, विद्यार्थी र डेरावालालाई राहत दिन कांग्रेसको माग

25 March, 2020

प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोनाको संक्रमण हुन नदिन सरकारले गरेको ‘लकडाउन’ थप लम्बिन सक्ने भन्दै मजदुर, विद्यार्थी र डेरा गरी बस्नेलाई विशेष राहत प्याकेज घोषणा गर्न माग गरेको छ ।

प्रवक्ता विश्वप्रकाश शर्माले विज्ञप्ति जारी गर्दै विशेष राहत घोषणा गर्न सरकारसँग माग गरेका हुन् । ‘लकडाउनको अवधि ७ दिनबाट लम्बिन पनि सक्छ, त्यस्तो स्थितिमा ‘दिनभरि काम गरेर माम जुटाउने वर्ग’को चुल्हो यो लकडाउनले पूरै लक गर्न सक्छ,’ विज्ञप्तिमा भनिएको छ, ‘अतः सरकारले चुनौतीपूर्ण आर्थिक जीवन भोगिरहेको वर्गका लागि यथाशीघ्र विशेष राहतको प्याकेज निर्माण गरेर कार्यान्वयनको प्रक्रिया सुनिश्चित गर्न तत्काल ध्यान पुर्‍याउनुपर्छ ।’

लकडाउनको अवधि लम्बिए विद्यार्थी र बेरोजगारको घनत्व धेरै रहेको राजधानीलगायत मुख्य सहरी क्षेत्रमा डेरा गरेर बसेका युवाहरूको स्थितिमा जटिलता उत्पन्न हुने भन्दै कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ । ‘सरकारको सम्बन्धित निकायले बेरोजगार र विद्यार्थीका लागि विशेष राहत योजना अविलम्ब निर्माण गरेर यस्तो स्थिति सामना गर्न सघाउ पुर्‍याउनुपर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

सरकारको सुस्त तयारीमा असन्तुष्टि

खाद्यान्न, पानी, अन्य रोगका औषधि, ग्यास, मट्टीतेलसहित दैनिक उपभोग्य सामानको आपूर्तिका लागि संघ, प्रदेश र स्थानीय तहका सरकारबीच उचित समन्वय गर्न, होम क्वारेन्टाइनमा बसेकालाई कोरोनासम्बन्धी निश्चित लक्षण देखिए अस्पताल पुर्‍याउने र उपचार प्रक्रियाको सहजता बढाउन पनि कांग्रेसले सरकारसँग माग गरेको छ ।

स्वास्थ्यकर्मीको मनोबल उच्च राख्न राज्य, राजनीतिक दल एवं सिंगो समाजको विशेष ध्यान र साथ पुग्न जरुरी रहेको कांग्रेसले औँल्याएको छ । विश्व स्वास्थ्य संगठनले नेपाल जोखिममा रहेको सूचना दिएको महिना दिन पुगिसक्दा पनि पर्याप्त ‘पिपिई’ प्रबन्ध नगर्नु सरकारको गम्भीर लापरवाही भन्दै कांग्रेसले यथाशीघ्र आयात गर्न माग गरेको छ ।

परीक्षण किटको अभाव हुन सक्ने स्थिति आउन नदिन आपत्कालीन ढंगले जोहो गर्न, केन्द्रको टेकुमा मात्रै कोरोना परीक्षण भइरहेको भन्दै सात प्रदेशका सात ठाउँमा वैकल्पिक प्रयोगशाला प्रबन्ध गरेर परीक्षण सहज बनाउन पनि कांग्रेसको माग छ । लकडाउनले सबैथरी व्यवसायलाई गम्भीर असर पुग्ने स्थिति दृष्टिगत गरेर सरकारले व्यवसायीको बैंकिङ ब्याज घटाउने र किस्ता तिर्ने समयावधि लम्ब्याउन समन्वयको भूमिका यथाशीघ्र निर्वाह गर्न पनि कांग्रेसले माग गरेको छ । लाखौँ नेपाली विदेशी भूमिमा ‘लक्ड’ भएको भन्दै तिनलाई सरकारले विविध माध्यमबाट अभिभावकको भूमिका निभाएर सहजीकरण गर्न पनि कांग्रेसले माग गरेको छ ।

कांग्रेसको ५० लाख सहयोग

कोरोनाको जोखिम सामना गर्न सरकारले निर्माण गरेको कोषमा कांग्रेसले ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । पार्टीका संघीय सांसदहरूले १५ दिनको तलब सरकारको कोषमा जम्मा गर्ने निर्णय कांग्रेसले यसअघि नै गरिसकेको छ 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024