शुक्लाफाँटा नगरपालिका–३ जोनापुरकी ३९ वर्षीया सुनिता डगौरा मृगौला सम्बन्धी बिरामी छिन् । पाँच महिनादेखि भारत उत्तर प्रदेशको बरेलीमा उनको उपचार भइरहेको छ । जेठो छोरा अभिशेक आमाकै उपचार खर्च जुटाउन जेठमा रसुवाको लाङटाङ हाइड्रोपावरमा काम गर्न गएका थिए । उनले मजदुरी गरेर नियमित रुपमा पठाएको रकमबाट सुनिताको उपचार भइरहेको थियो ।
भदौ १० मा भोटेकोशीमा आएको बाढीसँगै अभिशेक सम्पर्कविहीन भए पनि सुनिताको उपचार पनि रोकियो । ‘छोराले खर्च पठाएपछि उपचार भइरहेको थियो, अब छोराकै अत्तोपत्तो छैन, कसरी उपचार गर्नु ?’ सुनिताले भनिन्, ‘उपचारकै लागि भएको जमिन पनि मातमो बिक्री गरेका छौं, अब खान लाउनै गाह्रो हुने भयो ।’
सुनिताको मृगौला सुन्निने समस्या छ । जसका कारण श्वासप्रश्वासमा पनि समस्या भएर हिँडडुल गर्नै नसकिने हुन्छ । भदौ १० को बिहानै अभिशेकले आमालाई फोन गरेर केही बेरमा डिउटीमा जाने र साँझ कुरा गर्नै भनेका थिए । ‘एक/दुई दिनमै अलिकति खर्च लिएर आउँछु, त्यसपछि दिल्ली गएर केही महिना नौकरी गरी हजुरको उपचार गराउँछु, भनेको थियो,’ छोरासँग अन्तिम पटक भएको कुराकानी सम्झिँदै सुनिताले भनिन्, ‘यतिका दिन भयो छोरासँग कुनै सम्पर्क नै भएन, अब त छोरा आउने आस पनि लाग्दैन ।’
डगौरा परिवारले असोज २ मा कुशको शव बनाएर छोराको अन्तिम संस्कार गरेको छ । योसँगै छोरा आउने आश पनि सकिएको डगौरा बताउँछिन् । ‘अन्तिम संस्कार त गर्यौं, तर अझै पनि मनले मानिरहेको छैन, कतैबाट छोरा टुप्लुक्क आँगनमा आइहाल्छकी भन्ने भइरहन्छ,’ उनले भनिन्, ‘यतिका दिनसम्म कतैबाट फोन खबर आउँछकी भन्ने आसमै बितायौं ।’
डगौरा परिवार अब थप उपचारका लागि काठमाडौं जाने सोचेर खर्च जुटाउने काममा लागेको छ । उपचारका लागि कति रकम लाग्ने हो, कति जुटाउन सकिने हो ? केही अनुमान छैन । डगौरा परिवारको नाममा ४ कठ्ठा जग्गा छ । उक्त जग्गा पनि उनकै उपचारका लागि डेढ लाखमा बन्धकी राखिएको छ । भएको जमिन पनि बन्धकी राखिएपछि झनै समस्या भएको उनी बताउँछिन् ।
छोराको खोजीमा बन्दुराम गाउँलेहरुसँगै काठमाडौं र बाढी प्रभावित क्षेत्रमा समेत पुगेका थिए । ऋण काढेर बाढी प्रभावित क्षेत्रमा पुगेका उनी छोरा भेटाउने आश मारेर घर फर्किएका हुन् । घर फर्केपछि पनि उनी केही दिनसम्म आशमै थिए । तर लामो समयसम्म पनि कुनै खबर नआएपछि उनले गत शुक्रबार कुशको शव बनाएर अन्तिम संस्कार गरेका हुन् ।
बन्दुराम घर बनाउने मिस्त्रीको काम गर्छन् । गाउँमा नियमित काम पाउनै गाह्रो हुन्छ । आफुले कमाएरको रकमबाट घर खर्च चलाउने र छोराले पठाएको रकमबाट श्रीमतीको उपचार गराउने योजना बनाएका थिए । अब छोरा नै सम्पर्कविहीन भएपछि उनलाई झनै समस्या परेको छ । ‘गाउँलेहरुले आर्थिक सहयोग जुटाइरहेका छन्, कति रकम जम्मा हुन्छ, त्यसैको भरमा छु,’ बन्दुरामले भने, ‘गाउँलेले संकलन गरेको रकम पाएपछि थोरै ऋण काढेर काठमाडौं लैजाने योजना बनाएको छु ।’ तर उपचारका लागि कति खर्च लाग्ने हो, कति समय लाग्ने हो भन्ने विषयमा भने उनी अनभिज्ञ नै छन् ।
बाढीपछि सम्पर्कविहीन भएका अभिशेक डगौरा दम्पतीका जेठो छोरा हुन् । उनी निकै मिहनेती पनि थिए । कान्छो छोरा सुशान्त १५ वर्षका मात्रै छन् । उनी घरमै छन् । शुक्लाफाँटा नगरपालिका–३ का वडाध्यक्ष नरेन्द्र चौधरीका अनुसार सुनितालाई मृगौलासँगै अल्सर र मधुमेहको समस्या पनि छ । जसका कारण उपचारमा निकै खर्च लाग्ने देखिन्छ । उनको उपचारका लागि स्थानीयसँगै वडा कार्यालय, नगरपालिका, प्रदेश सरकार र संघीय सरकारसँग समेत पहल भइरहेको चौधरीले बताए ।