भोटेकोशी बाढीः सुरुङभित्र तीन दिनको त्रास

11 September, 2026

Purussotam Subedi

भोटेकोशी क्षेत्रमा आएको भयानक बाढीले ठुलो जनधनको क्षति पुर्‍याएको छ । सोही क्षेत्रमा विद्युत् आयोजनाअन्तर्गत सुरुङभित्र काम गरिरहेका पश्चिम नवलपरासीको रामग्राम नगरपालिका–१४ निवासी रोहितकुमार कुँवर बाढीको चपेटाबाट सकुशल ज्यान जोगाएर घर फर्कन सफल हुनुभएको छ ।

कुँवरले बताउनुभएको घटनाक्रमअनुसार विपद्को त्यो डरलाग्दो क्षण र उद्धारको कथा यस्तो छ ।

सुरुङभित्र काम गरिरहेका बेला बाढीको त्रास

घटनाका दिन रोहित २१६ मेगावाट क्षमताको जलविद्युत् आयोजनामा इलेक्ट्रीसियनका रूपमा सुरुङभित्र काम गरिरहनुभएको थियो । सुरुमा बाहिरको अवस्थाबारे केही थाहा नभए पनि सुरुङभित्र पानी प्रवेश गर्न थालेपछि मात्र उहाँहरूले खतराको महसुस गर्नुभयो । त्यसलगत्तै साइरन बज्न थाले र सेफ्टी अफिसरले तत्काल बाहिर निस्कन निर्देशन दिनुभयो ।

“हामी बाहिर आउँदा त बाढीले सबै बगाइसकेको थियो, क्याम्पहरू सबै लगिसकेको थियो । हामी पनि माथि भाग्न थाल्यौँ । माथि भागेरै हाम्रो ज्यान जोगियो,” रोहितले त्यो कहालीलाग्दो क्षण सम्झिँदै भन्नुभयो ।

१० देखि १५ मिनेटमै सुरक्षित स्थानतर्फ

बाढीको सूचना पाएलगत्तै सुरुङभित्र रहेका मजदुरहरू १० देखि १५ मिनेटभित्रै सुरक्षित स्थानतर्फ भाग्न सफल भएका थिए । उहाँहरू सुरुमा चौरतिर गए पनि त्यहाँसमेत खतरा बढेपछि सुरुङबाहिर रहेका चिनियाँ कामदारको क्याम्प, कन्ट्रोल बिल्डिङ हुँदै माथिल्लो डाँडातिर पुगेर ज्यान जोगाउनुभयो ।

पानीको सतह लगातार बढिरहेका कारण उहाँहरूले रातको समयमा समेत ज्यान जोगाउन पटक–पटक माथि र तल गर्नुपरेको थियो ।

१११ जना कामदार, एक जना अझै बेपत्ता

उक्त आयोजनामा मेकानिकल र इलेक्ट्रिकलतर्फ गरी कुल १११ जना कामदार कार्यरत थिए । सुपरभाइजर र सेफ्टी अफिसरबाट प्राप्त जानकारीअनुसार इलेक्ट्रिकलतर्फका सबै मजदुर सुरक्षित रूपमा बाहिर निस्कन सफल भए पनि मेकानिकलतर्फका एक जना मजदुर भने अझै बेपत्ता छन् ।

तीन दिनको त्रासपछि हेलिकोप्टरबाट उद्धार

घटनास्थलमा लगातार बाढी र जोखिम रहेकाले उहाँहरू तीन दिनसम्म सुरुङ र डाँडाकै क्षेत्रमा त्रासमा बस्नुपरेको थियो । परिवारसँग सम्पर्क गर्न खोज्दा नेटवर्कले साथ दिएन । घरका मानिसहरूले सञ्चारमाध्यम वा छोटो समयका लागि आएको नेटवर्कमार्फत उहाँ सुरक्षित रहेको खबर पाए पनि निरन्तर सम्पर्क हुन नसक्दा परिवार निकै तनावमा थियो ।

घटना भएको तीन दिनपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत उहाँहरूको सकुशल उद्धार गरिएको हो ।

कम्पनीको सहयोग, घटनाको मानसिक असर

उद्धारपछि काठमाडौँ आएर एक साताको विश्रामपछि उहाँ आफ्नै घर फर्कनुभएको छ । आयोजनाको सुरुङ तथा भौतिक संरचनामा ठुलो क्षति पुगे पनि कम्पनीले सम्पूर्ण कर्मचारीलाई सुरक्षित रूपमा काठमाडौँ ल्याएर आवश्यक सेवा–सुविधा उपलब्ध गराएको उहाँले बताउनुभयो ।

मानसिक रूपमा ठीक भएपछि मात्र काममा बोलाउने प्रतिबद्धता कम्पनीले जनाएको उहाँको भनाइ छ । भोटेकोशीको त्यो भयानक बाढी र सुरुङभित्र बिताएका क्षण सम्झँदा अझै पनि आफूलाई त्यहाँ कहिल्यै नफर्किऊँ जस्तो लाग्ने रोहितकुमार कुँवर बताउनुहुन्छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024