‘भिजिट भिसामा पुरानै मापदण्ड ब्युँंताउन दलालहरू सक्रिय’

17 September, 2026

भिजिट भिसामा पुरानै प्रावधान ब्युँताउन केही दलालहरू सक्रिय हुन थालेको अध्यागमन विभागका अधिकारीले जनाएका छन् । गत वर्ष कात्तिकदेखि कागजपत्र पुगेका कुनै पनि नागरिकलाई विदेश भ्रमणमा नरोक्ने गरी सरकारले मापदण्ड लागू गरेको थियो ।

त्यो प्रावधानले विदेशमा महिलाहरू बेचिएको भाष्य बनाएर दलाल समूह पुरानै प्रावधान लागू गराउन सक्रिय हुन थालेको विभागका महानिर्देशक रामचन्द्र तिवारीले बताए । ‘नेपाली नागरिक विदेश जान योग्य छस्/छैनस् भनेर सब्जेब्टिभ आधारमा जाँच्ने र फर्काउने, भाष्यचाहिँ नागरिकहरू बेचिन्छन् भनेर बनाउने यो दलालहरूको इकोलोजीले जे बनाउन खोजेको छ, त्यसमा कतै न कतै यस्ता भ्वाइसहरू आउन थालेको देख्छु,’ बुधबार विभागमा आयोजित पत्रकार सम्मेलनमा उनले भने । तथ्यांक प्रस्तुत गर्दै उनले विगतमा भन्दा अहिले भिजिट भिसामा जाने महिलाहरूको संख्या कम भएको बताए । मापदण्ड सहज बनाएपछि महिलाहरू बेचिएको भनेर भ्रम फैलाएको विभागको दाबी छ । सबै पक्षसँग छलफल र उच्चस्तरीय समितिको सिफारिसका आधारमा भिजिट भिसामा विदेश जानेलाई दुईतर्फी टिकट, होटेल बुकिङलगायत प्रावधान हटाइएको थियो । त्यसरी सहजीकरण गर्नुअघि र पछि भिजिट भिसामा विदेश जानेको संख्या उस्तै रहेको विभागको तथ्यांक छ।

गत वर्ष भिजिट भिसाको संगठित असुलीको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाट विस्तृत अनुसन्धान भएपछि सरकारले पुरानो मापदण्ड खारेज गरेर शंकाको आधारमा कसैलाई नरोक्ने निर्णय गरेको थियो । जसले गर्दा भिजिट भिसामा हुँदै आएको ट्राभल एजेन्सीदेखि अध्यागमनसम्मको सेटिङ भत्किएको छ । पुरानै समूह फेरि सक्रिय भएर भिजिट भिसामा विदेश जानेहरूलाई रोक्नुपर्छ भनेर लागेको विभागका अधिकारी बताउँछन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024