भिजिट भिसामार्फत ओमान पुगेका नेपाली ठगिने क्रम बढिरहेको छ ।
यसरी ओमान पुगेकाहरू कामको प्रलोभनमा ठगिने गरेको र यस्तो संख्या बढिरहेको त्यहाँस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले सूचना जारी गर्दै भिजिट भिसामा आएर काममा लगाइदिने भन्दै ठगिनेको संख्या बढिरहेको जनाएको हो । ठूलो रकम असुल गरी ओमानमा भिजिट भिसामा पठाएर काममा लगाइदिन्छु भन्दै ठगी गर्नेको संख्या बढिरहेको दूतावासले जनाएको छ ।
अहिले ओमान आएर अलपत्र परेका धेरै नेपालीले दूतावासमा सम्पर्क गरेका छन् । अलपत्र परेका धेरैले ठूलो रकम तिरेको बताएका छन् । तर, रकम बुझाएको प्रमाण केही पनि नहुने र राम्रो तलब सुविधा सहित जागिर लगाइदिन्छु भन्दै ठगी गर्ने गरेको पाइएको दूतावासले जनाएको छ ।
ओमानमा नै बसेर भिजिट भिसामा काम गर्ने भिसामा परिणत नहुने दूतावासले प्रष्ट पारेको छ । भिजिट भिसामा आएको, ओभर स्टे भएर गैरकानुनी रूपमा बसेको अवस्थामा उद्धार कार्यमा निकै समस्या हुने, ओभर स्टे बसेको अवस्थामा दिनको १० ओमानी रियालका दरले जरिबाना लाग्ने समेत दूतावासले प्रष्ट पारेको छ ।
ओमान आउन लागेका नेपालीलाई कामका लागि भनेर भिजिट भिसामा नआउन अनुरोध गरेको छ । कुनै समस्यामा परेको वा ठगीमा परेको खण्डमा दूतावासमा सम्पर्क गर्नसमेत अनुरोध गरिएको छ ।