भारतमा बेचिएका १५ बालबालिकाको उद्धार

9 September, 2026

भारतका विभिन्न ठाउँमा पुर्‍याइएका १५ जना बालबालिकाको उद्धार गरिएको छ। महोत्तरीबाट महाराष्ट्र पुर्‍याइएका ६ जना, कञ्चनपुरका २ किशोरी र १ नाबालक, पाल्पा र अछामका २ नाबालक, नवलपरासी पश्चिमकी १ जना तथा रौतहट र सिरहाका ३ जना बालबालिकाको विभिन्न ठाउँबाट उद्धार गरिएको हो।

दिल्लीस्थित नेपाली दूतावास र किन इन्डियाको संयुक्त पहलमा १० जना बालक र ५ जना बालिकाको उद्धार गरिएको हो। किन इन्डियाका निर्देशक नवीन जोशीका अनुसार उद्धार गरिएका बालबालिका भारतका विभिन्न सहरमा खराब अवस्थामा भेटिएका थिए। महोत्तरीको सम्सी गाउँपालिकाका ६ जना बालबालिकालाई मदरसामा निःशुल्क पढाउने भन्दै परिवारकै सहमतिमा महाराष्ट्रको जलान जिल्लामा पठाइएको थियो।

स्थानीय प्रहरीसँगको समन्वयमा उनीहरूलाई मदरसाबाट उद्धार गरिएको हो। मदरसा कानुनअनुसार दर्ता नभएको र मदरसाको नाममा शंकास्पद गतिविधि भेटिएको थियो। त्यहाँबाट १३ जना बालबालिकाको उद्धार गरिएको थियो, जसमा ६ जना नेपाली रहेका छन्।

यस्तै घरायसी झैझगडा र हिंसामा परेका कञ्चनपुरका २ बालिका र १ बालक साथै पाल्पा र अछामका २ बालकलाई महाराष्ट्रबाटै उद्धार गरिएको छ। पारिवारिक यौन हिंसामा परेर भारतको झारखण्ड पुगेकी नवलपरासी पश्चिमकी बालिकाको पनि उद्धार गरिएको छ। राम्रो काम पाइने र कमाइ राम्रो हुने प्रलोभनमा उनलाई झारखण्ड पुर्‍याइएको थियो। बिहारका विभिन्न ठाउँमा काम गर्दै गरेका ३ जना बालबालिकाको पनि उद्धार गरिएको छ।

किन इन्डियाका निर्देशक नवीन जोशी भन्छन्, ‘नेपाली बालबालिकालाई भारतका होटलहरूमा काममा लगाइदिने भन्दै पु र्‍याइन्छ। त्यहाँ पुर्‍याएर श्रम शोषण गर्ने, खान–लाउन नदिने तथा हिंसामा पार्नेहरूको संख्या उल्लेख्य छ। कतिपय बालबालिका आफैं पनि भारत पुगेका हुन्छन् भने कतिपय गाउँघरका साथीसंगी र आफन्तको सहयोगमा पुगेका हुन्छन्। पछिल्लो समय बालिकाहरू बेचबिखनमा पनि पर्ने गरेका छन्।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026