भारतमा बन्धक बनाइएका नेपालीको उद्धार

12 June, 2026

Mahesh Kumar Dash

रोजगारीका लागि भारतको हरियाणा पुगेर साहुको बन्धकमा परेका महोत्तरीको बर्दीबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका १६ जना नेपालीलाई उद्धार गरी नेपाल ल्याइएको छ ।

उहाँहरूलाई सरोकारवाला निकाय, बर्दीबास–१४ का वडाध्यक्ष विजयकुमार महतो र ‘आफन्त नेपाल फाउन्डेसन’ को रोहवरमा बुधबार सीमावर्ती भिट्ठामोड चौकीमा ल्याएर परिवारको जिम्मा लगाइएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभएको छ ।

२०८२ चैत १३ गते ३४ जनाको समूह रोजगारीका लागि बर्दीबास नगरपालिका–१४ स्थित मुसहर बस्तीका नेपाली भारतको हरियाणा राज्यको झन्झर थानामा अवस्थित पोल्ट्री फार्ममा गएका थिए । त्यसमध्ये १६ जना साहुको बन्धकमा परेका थिए ।

बन्धकमा परेका बर्दीबास–१४ स्थित मुसहर बस्तीका ३५ वर्षीय विष्णु सदा, ३० वर्षीय महावती सदा, १० वर्षीय अरुन सदा, २६ वर्षीय अमृत सदा, १९ वर्षीय किरण सदा, ३५ वर्र्षीय झरी सदालाई परिवारको जिम्मा लगाइएको छ ।

त्यसै गरी ३४ वर्षीय लालमुनि सदा, १७ वर्षीय काजल सदा, १३ वर्षीय साजन सदा, नौ वर्षीय शङ्कर सदा, ४० वर्षीय मोहन सदा, ४५ वर्षीय बच्ची सदा, १८ वर्षीय मुकेश सदा, १५ वर्षीय आशिष सदा, १७ वर्षीय अजय सदा र १२ वर्षीय किरण सदासमेत गरी १६ जनालाई परिवारको जिम्मा लगाइएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवका अनुसार पीडितहरू बेचबिखनको चपेटामा नभई पारिवारिक रूपमै रोजगारीका सिलसिलामा भारत गएको अनुसन्धानबाट खुलेको हो । भारत पुगेपछि यहाँबाट मासिक पारिश्रमिक दिने र खान बस्ने व्यवस्था गर्ने गरी लगिएको भए पनि उहाँहरूलाई खान बस्ने मात्र व्यवस्था गरेर काम गर्न लगाइयो र घरसमेत आउन नदिएको अवस्थामा पीडितलाई उद्धार गरिएको उहाँले बताउनुभयो । प्रमुख जिल्ला अधिकारी यादवले भन्नुभयो, “भारतको हरियाणा प्रान्तस्थित एक पोल्ट्री फार्ममा काम गर्ने मुसहर समुदायका नेपाली कामदार बन्धक बनाएको सूचना प्राप्त भएपश्चात् इलाका प्रहरी कार्यालय बर्दीबासमा उजुरी परेपछि खोजी कार्य सुरु गरिएको थियो ।”

भारतीय कन्सुलेट जनरलको कार्यालय वीरगन्ज र नेपालकोे दिल्लीस्थित दूतावासलाई सम्पर्क गरी घटनाबारे जानकारी गराएपछि दूतावास र आफन्त इन्डिया फाउन्डेसन नामक संस्थाको पहलमा भारतीय प्रहरीले हरियाणास्थित काम गर्ने पोल्ट्री फार्मबाट उद्धार गरिएको थियो ।

उहाँहरूको नाम, ठेगाना, उमेर र पारिवारिक अवस्था सबै बुुझेर बर्दीबास नगरपालिका–१४ का वडाध्यक्षको उपस्थितिमा परिवारजनको जिम्मा लगाएर घरसम्म पु¥याउने व्यवस्था मिलाइएको प्रजिअ यादवले बताउनुभयो । यता पीडित जय सदाले कामका लागि गएका १६ जनालाई बन्धक बनाएर कुटपिटसमेत गरिएको सुनाउनुभयो ।

उहाँले भन्नुभयो, “हामी काम गर्न सक्दैनौँ, हिसाब गरिदिनुभन्दा हिसाब पनि नगरिदिने र अन्त कतै काम गर्न पनि जान दिँदैन्थे, दिनरात नभनीकन सुत्नसमेत दिइएको थिएन ।” राति सुत्ने समयमा पनि काममा लगाउँथे, काम नगरेको अवस्थामा कुटपिटसमेत गरेको पीडा उहाँले सुनाउनुभयो । सोही घटनामा परेकी महावती सदाले साहुले काम गरेनौ भने प्रहरीबाट थुन्न लगाइदिने, छ महिना काम गरे मात्र घर जान दिने जस्ता धम्की दिने गरेको पीडा सुनाउनुभयो ।

साहुको यातना सहेर केही दिन काम गरेँ तर पछि यति भएपछि नेपालमा सम्पर्क गरेको बताउँदै उहाँले नेपाल र भारतको प्रयासपछि घर आउन सफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “त्यहाँ बस्दासम्म जिउँदै घर फर्किने आशा नै मरिसकेको थियो, भिट्ठामोडको प्रहरी चौकी पुगेर आफन्तलाई भेटन पाएपछि मात्र हामी बाँचेर आएको विश्वास लाग्यो ।”

घटनामा परेका पीडित जय सदाकी आमा मनिता सदाले भन्नुभयो, “छोराको वास्तविक अवस्था थाहै थिएन, अन्डा ओसार्ने काम हो, राम्रो काम हो भनेर छोरालाई लग्यो, चैतमै गएको छोरासँग फोनमा संवाद हुँदा ठिकै छु भन्थ्यो पछि त छोरालाई बन्धक बनाई कुटपिट गर्दै काममा लगाएको थाहा पाएकी थिएँ ।” यता आफन्त नेपालका मानबहादुर श्रेष्ठले पीडितलाई काम गर्न जाँदा महिलालाई नौ हजार भारतीय रुपियाँ र पुरुषलाई १२ हजार भारतीय रुपियाँ र खाना बस्न दिन्छु भनेर लगेको तर पछि खान बस्ने मात्र व्यवस्था दिएर काम लगाएको थाहा पाएको बताउनुभयो ।

बर्दीबास–३, गौरीडाँडाका दिलीप परियारले आकर्षक तलब र सुविधा दिलाइदिने आश्वासन दिँदै गत चैत १३ गते उहाँहरूलाई भारतको हरियाणा पठाएको थियो । त्यसपछि उहाँहरू समस्यामा परेको परिवारजनले जनाएको छ । गरिबी, अशिक्षा र रोजगारीको अभावका कारण विपन्न समुदायका नागरिक यस्ता घटनामा परेर पटक पटक समस्यामा पर्दै आएका हुन् । यस्तो कार्य रोक्नका लागि सचेतना र निगरानीलाई थप प्रभावकारी बनाउनुपर्ने आवश्यक देखिएको स्थानीयको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024