भारतको हरियाणामा ‘बन्धक’ बनाइएका १६ नेपाली फर्किंदै

10 June, 2026

भारतको हरियाणा राज्यस्थित एक पोल्ट्री फार्ममा बन्धकजस्तै अवस्थामा राखिएका १६ जना नेपालीको उद्धार गरिएको छ । महोत्तरीको बर्दीबास मुसहर बस्तीका उनीहरूलाई ‘आफन्त इन्डिया फाउन्डेसन’को सहयोगमा उद्धार गरी नेपाल ल्याउन लागिएको हो । उनीहरूलाई उद्धारपछि दिल्लीस्थित नेपाली दूतावासबाट सबै आवश्यक कानुनी प्रक्रिया पूरा गरी नेपाल ल्याउन लागिएको हो । उनीहरू बुधबार अपराह्नसम्म जलेश्वर नगरपालिका– ३ स्थित भिट्ठामोड नाका आइपुग्ने आफन्त इन्डिया फाउन्डेसनका निर्देशक विनोदकुमार खातीले बताए । उद्धार गरिएकामध्ये सातजना १८ वर्षमुनिका छन् ।

बर्दीबास इलाका प्रहरी कार्यालयबाट प्राप्त सूचनाका आधारमा नेपाली दूतावास, नयाँदिल्लीको समन्वय तथा हरियाणा प्रहरीको क्राइम ब्रान्चअन्तर्गत मानव तस्करीविरोधी इकाइ, भारत सरकारका सम्बन्धित निकाय र आफन्त इन्डिया फाउन्डेसनको संयुक्त पहलमा उनीहरूको उद्धार गरिएको हो । उद्धार गरिएका नेपालीहरू हरियाणाको झज्जर जिल्लाको मातनहेलस्थित एक पोल्ट्री फार्ममा बन्धकसरह अवस्थामा राखिएको पाइएको खातीले बताए ।

‘प्रारम्भिक अनुसन्धानमा उनीहरूलाई रोजगारीको प्रलोभन देखाएर भारत लगिएको र त्यहाँ शारीरिक तथा मानसिक यातना दिँदै जबर्जस्ती श्रममा लगाइएको खुलेको छ,’ उनले भने । उद्धारपछि सम्बन्धित फार्म सञ्चालक तथा श्रमिक आपूर्तिमा संलग्न ठेकेदारलाई पक्राउ गरी कानुनी प्रक्रिया अगाडि बढाइएको र पीडितहरूले पाउनुपर्ने पारिश्रमिकबापत करिब दुई लाख रुपैयाँ उपलब्ध गराइएको उनले बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024