भदौ-कात्तिकमा भित्रिन्छ, वर्षभर आउने रेमिट्यान्सको २५ प्रतिशत

13 October, 2026

Yagya Banjade

वर्षभरमा भित्रिने रेमिट्यान्समध्ये २५ प्रतिशतसम्म तीन महिना (भदौ–कात्तिक) मै आउने गरेको छ । यी तीन महिनामा तीज, दसैं र तिहार पर्ने भएकाले अरू बेलाभन्दा बढी खर्च हुने गर्छ । यसकारण यस अवधिमा रेमिट्यान्स आप्रवाह पनि बढ्ने गरेको बताइएको छ ।

चाडपर्वमा हुने आर्थिक गतिविधिका लागि विदेशमा रहेका नेपालीले आफ्नो घरमा रकम पठाउने भएकाले पनि यस अवधिमा तुलनात्मक रूपमा बढी रेमिट्यान्स भित्रिने गरेको जानकार बताउँछन् । चाडपर्वका बेला घर फर्किने, परिवारलाई खर्च पठाउने र किनमेलका लागि रकम जुटाउने क्रम बढ्दा रेमिट्यान्स बढ्ने र त्यसले बजारमा उपभोग पनि बढाउने उनीहरूको तर्क छ ।

चाडबाडका बेला सबैले घर खर्च जुटाएर सरसापट गरेर नै पठाउने भएकाले धेरै रेमिट्यान्स आउने रोजगारीका लागि हाल कुवेतमा रहेका धीरेन्द्र सुवेदीले बताए । ‘कतिले २/३ महिना अघिदेखि नै जोहो गरेर दसैंमा पठाउँछु भनेरै जम्मा गरेर राखेका हुन्छन्,’ उनले भने, ‘दसैंकै लागि भनेर यहाँका कम्पनीहरूले बोनस दिन्छन् भन्ने हुँदैन । तर सबैले परिवारका लागि भनेर जेनतेन गरेर चाडबाड खर्च घर पठाउँछन् ।’

यस वर्ष नेपालमा भएको प्राकृतिक प्रकोप भोटोकोशी बाढीका कारण नेपाली र नेपालको पक्षमा रहेर सबै मनी एक्सचेन्ज कम्पनीहरूले शून्य शुल्कमा पैसा पठाउने सुविधा दिएका छन् । अहिले कुवेतबाट कुनै पनि एक्सचेन्जले पैसा पठाउँदा सेवा शुल्क लिने गरेका छैनन् । यसकारण पनि धेरै रेमिट्यान्स भित्रिएको सुवेदीको भनाइ छ । आफ्नै खातामा हरेक महिना समान रूपमा पैसा पठाउने गरेको उनले जनाए । ‘मेरो हरेक ३/३ महिनामा बोनस आउँछ, त्यो पनि मैले रेमिट नै गर्ने गर्छु,’ उनले थपे ।

आर्थिक वर्ष २०८२/८३ मा २३ खर्ब ६३ अर्ब १२ करोड रुपैयाँ रेमिट्यान्स मुलुक भित्रिएको छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा गत वर्ष रेमिट्यान्स आप्रवाह ३७.१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांक छ । यो रेमिट्यान्समार्फत वार्षिक रूपमा भित्रिएको हालसम्मकै उच्च र चालु आर्थिक वर्षको बजेटभन्दा बढी हो । उक्त वर्ष प्राप्त रेमिट्यान्स नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को अनुपातमा ३५.८ प्रतिशत हो । अर्थतन्त्रको आकारसँग तुलना गर्दा रेमिट्यान्स आप्रवाहको अंश एकतिहाइभन्दा बढी पुगेको छ ।

वार्षिक रूपमा हेर्दा पनि हरेक पछिल्ला वर्षमा रेमिट्यान्स आप्रवाह निरन्तर बढिरहेको छ । राष्ट्र बैंकका अनुसार मासिक रूपमा औसत १ अर्ब २० करोडदेखि १ अर्ब ६० करोड अमेरिकी डलरसम्म रेमिट्यान्स भित्रिरहेको छ । पश्चिम एसियाको द्वन्द्वले खाडी क्षेत्रको रोजगारी प्रभावित हुने भएकाले रेमिट्यान्स प्रभावित हुने पूर्वानुमान गरिएको थियो । विश्व बैंक, एसियाली विकास बैंकलगायत निकायले समेत रेमिट्यान्स प्रभावित हुने आकलन गरेका थिए । तर यथार्थमा रेमिट्यान्स नघटेर निरन्तर बढिरहेको छ ।

‘डलरको भाउ बढ्नु र युरोप क्षेत्रबाट धेरै रेमिट्यान्स आउन थाल्नुले पछिल्ला महिनामा निरन्तर रेमिट्यान्स बढिरहेको छ,’ नेपाल मुद्रा विप्रेषक संघका पूर्वअध्यक्ष चन्द्र टन्डनले भने । अहिले खाडी मुलुकबाट करिब ३५ प्रतिशत र बाँकी ६५ प्रतिशत रेमिट्यान्स युरोप क्षेत्र र अन्य मुलुकबाट आउने गरेको उनले जनाए ।

‘युद्धको असर अपेक्षाअनुसार रेमिट्यान्समा परेको छैन । खाडी क्षेत्रका केही राष्ट्रमा बहराइनमा अलिअलि थियो । अहिले त्यसमा पनि सुधार हुँदै गएको छ,’ टन्डनले थपे, ‘पछिल्ला वर्षमा त्यसै पनि खाडीबाट आउने रेमिट्यान्स घटिरहेको छ । तर यी क्षेत्रबाट जति रेमिट्यान्स घटिरहेको छ त्योभन्दा बढी युरोपबाट आउन थालेकाले समग्र रेमिट्यान्स निरन्तर बढिरहेको हो ।’

हाल नेपाल आउने रेमिट्यान्सको करिब ४० प्रतिशत पश्चिम एसियाबाट आउने गरेको छ । पछिल्ला महिनामा यो हिस्सा घट्दो छ । हाल खाडी क्षेत्रमा करिब १९ लाख नेपाली श्रमिक छन् । रोजगारीका लागि हरेक वर्ष विदेशिने ७ लाख नेपालीमध्ये खाडी मुलुकमा मात्रै करिब ६५ प्रतिशत अर्थात् साढे चार लाख पुग्छन् ।

पछिल्ला वर्षमा रोजगारका लागि खाडीबाट युरोपेली राष्ट्रहरूमा जाने क्रम निरन्तर बढिरहेको टन्डनले बताए । ‘खाडीमा काम गर्नेमध्ये धेरै अदक्ष जनशक्ति रहेका थिए । खाडीबाट युरोप क्षेत्रमा स्थानान्तरण हुनेमध्ये धेरैजसो दक्ष र अर्धदक्ष छन्,’ उनले भने, ‘खाडीको तुलनामा युरोपमा कामको गुणस्तर, सेवा सुविधा सबै राम्रो छ ।’

आर्थिक वर्ष २०८१/८२ मा १७ खर्ब २ अर्ब रेमिट्यान्स भित्रिएको थियो । त्यसमा खाडी मुलुकको हिस्सा करिब ३९ प्रतिशत (६ खर्ब ७३ अर्ब) थियो । आर्थिक वर्ष २०८०/८१ मा ३८.९ र आर्थिक वर्ष २०७९/८० मा ४५.१ प्रतिशत हिस्सा खाडी क्षेत्रको छ । गत वर्ष नेपाल आएको कुल रेमिट्यान्समा भारतको हिस्सा १० प्रतिशत, यूके, अस्ट्रेलिया र मलेसियाको करिब ६/६ प्रतिशत रेमिट्यान्स नेपाल भित्रिएको राष्ट्र बैंकले जनाएको छ ।

कोभिड–१९ को बेलामा जस्तै पश्चिम एसिया द्वन्द्वका कारण पनि नेपालको रेमिट्यान्स प्रभावित हुने पूर्वानुमान गरिए पनि त्यस्ता आकलन पटक–पटक पूरा नभएको राष्ट्र बैंकका प्रवक्ता गुरुप्रसाद पौडेलले बताए । ‘कोभिडका बेलामा पनि विश्व बैंक, एडीबीलगायत निकायले १७ प्रतिशतसम्म रेमिट्यान्समा गिरावट हुन सक्ने प्रक्षेपण गरिएको थियो । वैदेशिक रोजगारमा गएका धेरै मानिस बेरोजगार हुने भएकाले घर फर्किन सक्छन् । र ती राष्ट्रहरूले रोजगारीका अवसर बढाउन दबाब पर्न सक्छ लगायत अनुमान गरिएको थियो,’ पौडेलले भने, ‘तर कोभिडलगत्तैको एक महिना घटेर वृद्धिदर ऋणात्मक रहेको रेमिट्यान्स त्यसपछिका महिना निरन्तर बढेर अघिल्लो वर्षको भन्दा ४/५ अर्बले मात्र कम आयो । पूर्वानुमानअनुसार रेमिट्यान्स घटेन ।’

रेमिट्यान्सको पुस्तान्तरण बढिरहेकाले पश्चिम एसियाको युद्धले रेमिट्यान्स प्रभावित नभएको प्रवक्ता पौडेलको भनाइ छ । ‘नेपालबाट वैदेशिक रोजगारीमा जाने परिवारको हजुरबुबा पुस्ता भारत अथवा बेलायत (सेनामा) जान्थे, बुबा पुस्ता दुबई, मलेसियालगायत खाडी राष्ट्रमा गएका थिए । अहिले नाति पुस्ता युरोप, अमेरिका, जापान, कोरियालगायत विकसित राष्ट्र गइरहेका छन्,’ उनले भने, ‘यसकारण युद्धले खाडी प्रभावित भए पनि त्यसको असर रेमिट्यान्समा नदेखिएको हो ।’ पछिल्ला वर्षमा जापान, कोरिया, युरोपियन राष्ट्रबाट राम्रो रेमिट्यान्स आइरहनु र त्यो बढ्दो क्रममा रहेको पौडेलले बताए ।

मासिक रूपमा अर्बौं डलर बराबरको रकम भित्रिँदा यसले घरपरिवारको क्रयशक्ति र बजारमा वस्तु तथा सेवाको माग बढाउन सहयोग पुर्‍याएको छ । तर अर्थतन्त्रमा रेमिट्यान्सको हिस्सा ठूलो हुनुका साथै यसप्रतिको निर्भरता पनि बढ्दै गएको तथ्यले उत्पादन र रोजगारीका आन्तरिक अवसर विस्तारको आवश्यकतालाई उजागर गर्छ ।

नेपालमा आकार पछिल्ला वर्षमा निरन्तर बढेको तथ्यांकले देखाउँछ । आर्थिक वर्ष २०७७/७८ मा ९ खर्ब ६१ अर्ब रुपैयाँ रहेको रेमिट्यान्स २०७८/७९ मा १० खर्ब ७ अर्ब र २०७९/८० मा १२ खर्ब ४० अर्ब रुपैयाँ पुगेको थियो । आर्थिक २०८०/८१ मा १४ खर्ब ४५ अर्ब र २०८१/८२ मा १७ खर्ब २३ अर्ब रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ । यो तथ्यांकले पनि हरेक पछिल्लो वर्ष नेपालमा रेमिट्यान्स आप्रवाह निरन्तर बढेको देखिन्छ । यसले पछिल्ला वर्षमा नेपालको अर्थतन्त्रको रेमिट्यान्समा परनिर्भरता बढिरहेको देखाउँछ ।

पछिल्ला पाँच आर्थिक वर्षको तथ्यांकअनुसार भदौ, असोज र कात्तिकमा भित्रिने रेमिट्यान्स वार्षिक कुल रकमको २१.५ देखि २५ प्रतिशतसम्म छ । गत आर्थिक वर्षका तीन महिनामा पनि ५ खर्ब ९ अर्ब ७१ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । यो त्यस वर्षको कुल रेमिट्यान्सको २१.६ प्रतिशत हो ।

त्यस वर्ष भदौमा १ खर्ब ७४ अर्ब ६७ करोड, असोजमा २ खर्ब १ अर्ब २२ करोड र कात्तिकमा १ खर्ब ३३ अर्ब ८२ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको राष्ट्र बैंकको तथ्यांक छ । तीन महिनाको रेमिट्यान्स हेर्दा असोजमा सबैभन्दा बढी रकम भित्रिएको देखिन्छ । परम्परागत रूपमा नेपाली श्रमिकको प्रमुख गन्तव्य रहेका मध्यपूर्वका देशबाहेक युरोपका पोल्यान्ड, रोमानिया, टर्की र माल्टालगायत मुलुकमा पनि नेपाली कामदार जाने क्रम बढेको मुद्रा विप्रेषक संघका पूर्वअध्यक्ष टन्डनको भनाइ छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026