बैंककमा सत्र नेपाली अलपत्र

28 June, 2011

सुरेन्द्र पौडेल

अमेरिका र युरोपका विभिन्न मुलुक छिराइदिन्छु भन्दै थाइल्यान्डको राजधानी बैंकक पुर्याएर दलालले अलपत्र पारेका नेपालीको संख्या बढेको छ। असारमा मात्र यो संख्या १७ छ। कतिपय त त्यतैबाट गैरकानुनी रुपमै मलेसियातिर छिर्छन्।

सरकारले खाडी देश अवैध प्रवेशमा कडाइ गरेपछि नेपालीलाई भारतको कोलकाता हुँदै बैंकक पुर्याएर मोटो रकम लिई दलालहरू भाग्ने क्रम तीव्र देखिएको हो। त्यसरी अलपत्र परेकाहरू त्यहाँस्थित नेपाली दूतावासको शरणमा पुग्ने गरेका छन्।

‘युरोप, अमेरिकामा रोजगारी लगाइदिन्छु भनी बैंककसम्म ल्याएर दलाल भागेपछि यहाँ अलपत्र पर्ने नेपालीको संख्या पछिल्ला दिन ह्वात्तै बढेको छ,’ बैंककस्थित नेपाली दूतावासका प्रथम सचिव दिलीपकुमार पौडेलले नागरिकसँग फोनमा भने, ‘एकदिनमै दलालबाट ठगिएका १९ जनासम्म नेपाली दूतावासमा आउन थालेका छन्।’

दूतावासका अनुसार सोमबारमात्र दलालबाट ठगियौँ भन्दै ८ नेपाली त्यहाँ पुगेका थिए। स्पेन पुर्याइदिने सर्तमा उनीहरूमध्ये पाँचजनाले ७-७ लाख र दुईजनाले आठ-आठ लाख रुपैयाँ दलाल चितवनका सन्दिप राईलाई बुझाएका थिए।

‘कोलकातास्थित थाइल्यान्डको कन्सुलेटबाट भिसा लगाएर स्पेन पुर्याइदिने सर्तमा राईले तीन महिनाअघि बैंकक ल्याए,’ सोमबार दूतावास पुगेका धरानका कर्णेल सिंहले त्यहीँबाट फोनमा भने, ‘पूरै पैसा लिएपछि होटलमै छाडेर भागे।’

सिंहसँगै उमेश गिरी, राजु घिमिरे, राजेन्द्र गिरी, नारायणप्रसाद ढकाल, दीपक नेपाली र सरोजबाबु बस्नेत ठगिएका छन्। नेपालमा भीम गुरुङ नामले चिनिएका ती दलालको राहदानीमा नाम सन्दिप राई रहेको उनीहरूले बैंकक पुगेपछि मात्र थाहा पाएका थिए।

पर्यटक भिसामा चैत ३ गते कोलकाताबाट बैंकक पुगेका उनीहरूलाई तीन महिना अवधिमा दलालले फेरी-फेरी सातवटा होटलमा राखेका थिए। थाइल्यान्डबाट लिथुआनियाको भिसा लगाएपछि टिकट भोलि आउँछ भन्दै राई भागेको सिंहले बताए। ‘दलालले हामीलाई लिथुआनियाबाट स्पेन पठाउँछु भनेको थियो,’ उनले भने। आफूसँग भएको सबै पैसा दलाललाई बुझाएका उनीहरु अहिले दूतावास र त्यहाँका नेपालीको सहयोग लिई बसेका छन्।

दूतावासका अनुसार यो महिनामात्र दलालबाट ठगिएका १७ जना सम्पर्कमा आएका छन्। कतिपय छ दूतावासको सम्पर्कमै नआई त्यहीँबाट चोरबाटो हुँदै मलेसिया जाने गरेका छन्।

चोर बाटो हुँदै ठूलो संख्यामा नेपाली कामदार खाडी राष्ट्र छिर्न थालेपछिसरकारले ६ महिनाअघि त्यहाँस्थित नेपाली दूतावासको स्वीकृतिमा मात्र म्यानपावर कम्पनीले कामदार पठाउनुपर्ने नियम बनाएको थियो।

नयाँ व्यवस्था कार्यान्वयनमा आएपछि चोर बाटो हुँदै खाडी राष्ट्र जाने नेपाली कामदारको संख्यामा कमी आएको दूतावासहरूको दाबी छ। कोलकातास्थित थाइल्यान्डको कन्सुलेटबाट भिसा दिलाएर बैंकक हुँदै अमेरिका-युरोप पठाउने नाममा अलपत्र पार्ने क्रम बढेको बैंककस्थित नेपाली दूतावासले जनाएको छ।

दूतावासका अनुसार एक साताअघि पनि नेपाली सेनाका मेजर बताउने अर्जुनबहादुर शाहीले धादिङका दीपक कणेँललाई फ्रान्सको सेनामा भर्ती गराइदिन्छु भनी २२ लाख रुपैयाँ लिएर बैंककमा अलपत्र पारेर भागेका थिए। उनी अहिले दूतावासकै शरणमा छन्।

‘बैंककमा अलपत्र पर्नेहरू धेरै युरोप, अमेरिकाका विभिन्न देशमा रहेका ठूला कम्पनीमा जागिर लगाइदिने दलालको प्रलोभनमा परी आउनेहरू छन्,’ दूतावासका प्रथम सचिव पौडेलले भने, ‘उनीहरूसँग दलालले बनाइदिएका राष्ट्रसंघका नक्कली सवारीचालक अनुमतिपत्रसमेत भेटिएको छ।’

दूतावासले अलपत्रका परिवारको उजुरीका आधारमा उनीहरूको खोजीसमेत थालेको जनाएको छ। हालसम्मका उजुरीअनुसार किम भन्ने परशुराम गुरुङ, भीम गुरुङ भन्ने सन्दिप राई, आफूलाई सेनाको मेजर भन्दै ठग्ने अर्जुनबहादुर शाही, हरिप्रसाद राई, शिवजंग लिम्बू, मायादेवी कामी, तिलक गुरुङ, कमल श्रेष्ठ, विनोद थापालगायत दलाल पहिचान भएको छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024