सर्लाहीको गोडैता नगरपालिका– १० का ३५ वर्षीय विवेक मण्डलको परिवार आर्थिक रूपमा विपन्न थियो, तर पढाइमा तेज थिए । विज्ञान (साइन्स) उनको रुचिको विषय थियो । विलक्षण छोरालाई पढाउन सके भोलिका दिन सुखद हुनेछ भन्ने आसमा परिवार ऋण काढेरै भए पनि विवकलाई पढाउने निष्कर्षमा पुग्यो ।
विवेकका काका हजुरबुबा रामएकबाल मण्डलका अनुसार उनलाई प्लस टु, बिएस्सी र एमएस्सीसम्म पढाउँदा बुबा उपेन्द्रको टाउकोमा ऋणको गह्रौँ भारी लाग्यो । गाउँका महाजनसँग लिएको ऋणमा मिटरब्याज लाग्दा यति चर्को पर्यो कि त्यो बोझ घटाउन जमिन धितो राखेर लक्ष्मी बैंकबाट १४ लाख ऋण लिए । तर, पढ्दा लागेको ऋणको ब्याज तिर्न बैंकले गर्ने ताकेता र पढेपछि बेरोजगार रहनुपर्ने आफ्नो अवस्थाका कारण विवेक मानसिक दबाबमा थिए । त्यही दबाब खप्न नसकेका उनले शुक्रबार दिउँसो शरीरमा पेट्रोल छर्किएर आगो लगाए । हेलिकोप्टरबाट उद्धार गरिएका उनको काठमाडौंको कीर्तिपुरस्थित ‘बर्न अस्पताल’मा उपचार भइरहेको छ ।
‘विवेक पढाइमा तेज थियो । काठमाडौंमा एमएस्सी पढ्दा पनि कलेजमा एक नम्बरमै नाम निकालेको थियो । उसलाई पढाउँदा परिवारलाई ठुलै ऋण लाग्यो । पढेपछि रोजगारी मिल्ला, कमाएर तिरिएला भन्ने आस ऊसँग थियो, तर रोजगारी मिलेन । बैंकको ब्याज धान्न नसकेपछि केही महिनादेखि ऊ निकै तनावमा थियो,’ काका हजुरबुबा रामएकबालले भने ।
विवेकले करिब तीन वर्ष महोत्तरीको गौशालास्थित एक विद्यालयमा (कक्षा ११ र १२) पढाए । त्यहाँको जागिर छाडेको पनि एक वर्ष भइसकेको थियो । परिवारका सदस्यका अनुसार विद्यालयभित्रको राजनीतिक चलखेलका कारण उनी जागिर छाड्न बाध्य भएका थिए । हजुरबुबा रामएकबालका अनुसार उनले अन्य विभिन्न विद्यालय र शैक्षिक संस्थामा पनि रोजगारीको प्रयास गरे । लोकसेवा आयोगका परीक्षामा समेत सहभागी भए । तर, कुनै प्रयास सफल नभएपछि उनी बेरोजगार भएर घरमै बस्दै आएका थिए ।
‘विवेकलाई पढाउँदा परिवारले महाजनसँग लिएको ऋणको ब्याज चर्को थियो । त्यो ब्याजबाट मुक्त हुन जग्गा धितो राखेर बैंकबाट १४ लाख ऋिण लियो । तर, बैंकको ब्याज तिर्न सक्ने अवस्था पनि भएन । त्यत्रो पढेर पनि बेरोजगारी बस्नुपर्ने, अर्कोतिर ऋणले थिच्दै जाने अवस्थाले ऊ मानसिक रूपमा कमजोर बन्दै गएको थियो,’ रामएकबालले भने ।
बैंकबाट लिएको ऋणले पनि गाउँका महाजनको सबै ऋण चुक्ता भएको थिएन । महाजन र बैंकको गरी अहिले पनि ३० लाखभन्दा बढी ऋण रहेको परिवार स्रोत बताउँछ । आफूलाई पढाउन परिवारले लाखौँ लगानी गरे पनि बेरोजगारीका कारण आफूले परिवारको अपेक्षा पूरा गर्न नसकेको पीडा विवेकमा रहेको काका हजुरबुबा रामएकबाल बताउँछन् । उनका अनुसार गएको प्रतिनिधिसभा निर्वाचनमा विवेक रास्वपामा सक्रिय भएर लागेका थिए ।
‘पढाइमा परिवारले ठुलो लगानी गर्यो, तर भनेजस्तो रोजगारी पाएन । केही वर्ष महोत्तरीमा कलेज पढाएको पनि थियो, पछि के भएर हो छाडेछ,’ रामएकबालले भने, ‘गत निर्वाचनमा रास्वपामा लागेर हिँडेको देखेको थिएँ । पछि के भयो थाहा भएन ।’
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार विवेकको ९० प्रतिशत शरीर जलेको छ ।
विवेकका काकाहजुरबुबा रामएकवाल मण्डल भन्छन्–३० लाखभन्दा बढी ऋण छ भन्थ्यो, प्रायः तनावमा देखिन्थ्यो
विवेक पढाइमा तेज थियो । काठमाडौंमा एमएस्सी पढ्दा पनि कलेजमा एक नम्बरमै नाम निकालेको थियो । उसलाई पढाउँदा परिवारलाई ठुलै ऋण लाग्यो । पढेपछि रोजगारी मिल्ला, कमाएर तिरिएला भन्ने आस ऊसँग थियो, तर रोजगारी मिलेन । बैंकको मात्रै १४ लाख ऋण थियो, चर्को ब्याजमा साहुमहाजनसँग लिएको समेत गरी ३० लाखभन्दा बढी ऋण छ भन्थ्यो । त्यत्रो पढेर पनि बेरोजगारी बस्नुपर्दा र ब्याज पनि तिर्न नसक्दा केही महिनादेखि ऊ निकै तनावमा देखिन्थ्यो ।
बुद्धनगरमा ५२ वर्षीय अश्विन राउतले गरे आत्मदाह
बुद्धनगरनिवासी अश्विन राउतको परिवार शनिबार आमाको श्राद्ध गर्ने तयारीमा थिए । सोही प्रयोजनका लागि परिवारका सदस्य घरमा भेला हुँदै थिए । त्यही वेला ५२ वर्षीय अश्विनले आफैँमाथि पेट्रोल खन्याएर आगो सल्काए । श्राद्ध गर्ने सुरमा रहेका राउत परिवार एकाएक शोकमग्न बन्न पुग्यो । केहीबेरमै वीर अस्पताल पुर्याइएका उनको उपचारकै क्रममा ज्यान गयो ।
अश्विनकी फुपू राधा कार्कीका अनुसार परिवारमा केही समस्या थिएन । आर्थिक रूपमा पनि सम्पन्न नै थियो, तर उनको यस्तो निर्णयका पछाडिको कारण खुल्न सकेको छैन । बुद्धगरस्थित निवासमा भेटिएकी राधाले भनिन्, ‘अश्विनको आर्थिक अवस्था राम्रै छ । हेटौँडामा तारजालीको कारखाना छ । जग्गा–जमिन पनि प्रशस्त छ । परिवारभित्र पनि खासै समस्या देखिन्न । तर, उनले किन यस्तो गरे बुझ्न सकिएको छैन ।’
राधाका अनुसार आमाको श्राद्ध गर्न अश्विन शुक्रबारदेखि नै तयार थिए । पण्डितलाई उनैले खबर गरेका थिए । सैलुनमा गएर कपाल पनि कटाएका थिए । योजनाअनुसार अश्विन शनिबार बिहानै उठे । बाथरुममा छिरेर नुहाए । उनी भान्छाकोठा छिरे । बाथरुममा उनकी श्रीमती डिम्पल राउत छिरिन् । डिम्पल बाथरुममा नुहाउँदै थिइन् ।
अश्विन भने भान्छाकोठाबाट निस्किएर पार्किङ गरिराखेको स्कुटरनजिक पुगे । बोतलबाट पेट्रोल झिके, लिएर सरासर भन्छाकोठामा छिरे । पेट्रोल शरिरमा खन्याएर आगो सल्काए । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता भट्टराईका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ ।
फुपू कार्कीका अनुसार अश्विन जन्मजात नशाको बिरामी थिए । हिँडडुलमा समस्या हुने उनले गत वर्ष मंसिरमा दिल्लीमा उपचार गराएपछि सहज भएको थियो । तर, केही महिनादेखि उनको स्वभावमा केही बदलाव देखा परेपछि श्रीमती र छोरा आर्यनले उपचारका लागि अस्पताल जान भनेका थिए । तर, उनी जान मानिरहेका थिएनन् ।
गणेश नेपालीलाई सहिद घोषणा गर्न माग : परिवारले बुझेनन् शव, दुई दिनसम्म हुन सकेन पोस्टमार्टम
महानगर प्रहरीसँगको विवादपछि शरीरमा आगो लगाउँदा मृत्यु भएका गणेश नेपालीलाई सहिद घोषणा गर्न उनको परिवारले माग गरेको छ । सरकारी प्रतिनिधिसँग भएको छलफलमा परिवारका सदस्यले सहिद घोषणालगायत माग राखेका छन् ।
नेपालीका आमा–बुबासमेत शुक्रबार मुगुबाट काठमाडौं आइपुगेका थिए । आमा–बुबालगायत परिवारका सदस्यसँग शुक्रबारै जिल्ला प्रशासन कार्यालयमा छलफल भएको थियो । छलफलमा सहिद घोषणा, दोषीलाई कारबाही, राहत, रोजगारीलगायत विषयमा छलफल भएको थियो । मागमा सरकारी पक्ष सकारात्मक भए पनि लिखित सहमति नहुँदा परिवारले शनिबारसम्म शव बुझेका छैनन् ।
गणेशको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा राखिएको छ । तर, पोस्टमार्टमका लागि पनि परिवारले सहमति दिएको छैन । शनिबार पनि पीडित र सरकारी पक्षबिच अनौपचारिक छलफल भएको स्रोत बताउँछ । त्रिपुरेश्वरको राहदानी विभागअगाडि ‘नो पार्किङ’मा मोटरसाइकल पार्किङ गरेको भन्दै काठमाडौं महानगरपालिकाको नगर प्रहरीले उनको मोटरसाइकलमा ‘ह्विल लक’ गरेको थियो ।
सोही विषयमा नगर प्रहरी र गणेशबिच विवाद भएको थियो । त्यसको करिब डेढ घण्टापछि उनले आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किई आगो लगाएका थिए । गम्भीर घाइते भएका उनको उपचारका क्रममा शुक्रबार वीर अस्पतालमा मृत्यु भएको थियो ।