अवसर खोज्दै हजारौं युवा बिदेसिने क्रम बढिरहेका बेला बाजुराका एक युवाले भने फरक बाटो रोजेका छन्। संघर्ष, सीप र आत्मविश्वासको बलमा स्वदेशमै सम्भावना देखाउँदै गंगराज जैशी अहिले एक सफल उद्यमीका रूपमा चिनिएका छन्।
बुढीनन्दा नगरपालिका–७ सेरकाटियामा जन्मिएका जैशीको बाल्यकाल आर्थिक अभावमा बित्यो। परिवारको कमजोर अवस्थाले पढाइलाई निरन्तरता दिन नसकेपछि उनी करिब १० वर्षअघि रोजगारीको खोजीमा भारत पुगे। परदेशी जीवन सजिलो थिएन— दिनभरिको काम, थकान र भविष्यप्रतिको अन्योल। तर, उनले त्यो समयलाई केवल गुजार्ने माध्यम बनाएनन्, बरु त्यसैलाई सिकाइको अवसरमा रूपान्तरण गरे।
भारत बसाइँकै क्रममा उनले बेकरीसम्बन्धी काम सिक्न थाले। कामसँगै सीप सिक्दै उनीभित्र उद्यमी सोच विकास भयो। त्यसपछि थप ज्ञान हासिल गर्ने उद्देश्यले उनी २०७२ सालमा काठमाडौं आए। ‘कोकिला मीठो घर’मा बेकरी तालिम लिन सुरु गरेका उनी त्यहीबेला फैलिएको कोरोना महामारीको मारमा परे। कठिन परिस्थिति र अनिश्चितताका बीच पनि उनले हिम्मत हारेनन्। जेनतेन तालिम पूरा गर्दै प्रमाणपत्र हात पार्दा उनीसँग सीपमात्र होइन, बलियो आत्मविश्वास पनि थियो।
स्वदेश फर्किएपछि उनले स्पष्ट निर्णय गरे— अब विदेश होइन, आफ्नै माटोमा केही गर्ने। यही सोचका साथ उनले सदरमुकाम मार्तडीमा सानो लगानीमा टिनको टहरोबाट चिया पसलसँगै बेकरी व्यवसाय सुरु गरे। सुरुवाती दिनहरू सहज थिएनन्। स्थान परिवर्तन, बजारको अभाव र लगानीको चुनौतीबीच पनि उनले व्यवसाय छाडेनन्। सुरुमा विद्युत् कार्यालय नजिक, त्यसपछि खेलकुद मैदान र हाल बिचबजारको त्रिवेणी चोकमा उनको पसल सरेको छ। गंगराज सदरमुकामको जता सरे पनि ग्राहकको पहिलो रोजाइमा उनी नै पर्ने गरेका छन्। पुराना ग्राहकसँगै नयाँ थपिँदा व्यवसाय झनै फस्टाउँदै गएको उनी बताउँछन्।
उनको ‘बुढीनन्दा बेकरी’ आज बाजुरामा एउटा ब्रान्ड बनिसकेको छ। बिहानैदेखि बेलुकीसम्म उनी पाउरोटी, डोनट, पिज्जा, बर्गरदेखि आकर्षक डिजाइनका केक बनाउन व्यस्त हुन्छन्। विशेषगरी जन्मदिन, वार्षिकोत्सव तथा विभिन्न कार्यक्रमका लागि आउने अर्डरले उनलाई उत्साहित बनाएको छ। ‘दिनहुँ केकको माग हुन्छ, ग्राहकको विश्वास नै मेरो सबैभन्दा ठूलो पुँजी हो,’ जैशी भन्छन्।
उनको व्यवसाय अहिले मार्तडीमा मात्र सीमित छैन। जिल्लाको पूर्वी उत्तरी क्षेत्रको कोल्टी, दक्षिण पश्चिमको बाम्का, फालासैनलगायतका बजारसम्म उनका उत्पादन पुग्ने गरेका छन्। यसले स्थानीय उत्पादनलाई स्थानीय बजारसम्म जोड्दै रोजगारीको सम्भावना पनि विस्तार गरेको छ।
बेकरी व्यवसायबाटै उनले आफ्नो परिवार धानेका छन्। छोराछोरीको पढाइदेखि दैनिक खर्चसम्म यही पेसाले पूरा गरिरहेको छ। उनकी श्रीमती पद्मा तिमिल्सेना जैशीले पनि व्यवसायमा उत्तिकै साथ दिँदै आएकी छन्।
जैशीको विचारमा अवसर कहिल्यै तयार भएर आउँदैन, त्यसलाई आफैंले सिर्जना गर्नुपर्छ। ‘हामी अवसर छैन भनेर गुनासो गर्छौं, तर कर्म गर्ने मान्छेका लागि अवसर यहीँ छ,’ उनी भन्छन्, ‘सानो भए पनि कामलाई निरन्तरता दिन सकियो भने भविष्य आफैं बन्छ।’
बिदेसिने युवाको बढ्दो प्रवृत्तिप्रति चिन्ता व्यक्त गर्दै उनी स्वदेशमै केही गर्न आग्रह गर्छन्। विदेशमा दुःख गर्नुभन्दा आफ्नै ठाउँमा पसिना बगाउनु गर्वको कुरा भएको उनको बुझाइ छ।
गंगराज जैशीको यात्रा व्यावसायिक सफलतामात्र होइन, यो संघर्षबाट सम्भावना खोज्ने प्रेरणादायी कथा हो। उनले प्रमाणित गरिदिएका छन् कि— सीप, मेहेनत र दृढ इच्छाशक्ति भए स्वदेशमै सफलताको ढोका खुल्न सक्छ।