वैदेशिक रोजगारीमा युवा आकर्षण डरलाग्दो गरी बढिरहेका बेला झापाको लोपोन्मुख आदिवासी किसान जातिका ‘राजा’ (महतो) पनि यसबाट मुक्त हुन सकेनन्। किसान समुदायका राजा सिक्ला किसान ६ महिनाअघि रोजगारीका लागि मलेसिया हानिएका हुन्। ‘घरको आर्थिक अवस्थाले थेग्न नसकेर विदेशिनु भएको हो,’ सिक्लाकी श्रीमती पार्वतीले भनिन्, ‘राजा भएर मात्रै खान नपुग्ने रहेछ।’ गत साउनमा काका तथा राजा भाविर किसानको निधनपछि सिक्ला राजा बनेका हुन्। तर, राजा बनेको वर्ष दिन पनि नहुँदै गत चैतमा उनी सस्तो श्रमका लागि मलेसिया हिँडेका हुन्। त्यसअघि उनी धाइजनमा मोटरसाइकल ग्यारेज सञ्चालन गरेर बसेका थिए। ग्यारेजको कमाइले मात्रै श्रीमती र दुई छोरा-छोरी पाल्न समस्या भएपछि विदेश पलायनको बाटो रोजेका हुन्। किसान जातिभित्र हुने विवाह, मृत्युलगायतका संस्कारमा राजा नभई हुँदैन। राजा पत्नीलाई रानी अर्थात् महतराइन भनिन्छ। ‘राजाबिना हाम्रो सबै कर्म अपुरो हुन्छ,’ पूर्वराजा भाविरकी श्रीमती थुप्रीले भनिन्, ‘राजा नै नहुँदा कर्मकाण्डमा समस्या भएको छ।’ गाउँका मुखियाको रूपमा हेरिन्छ।’ राजाको अनुपस्थितिमा सिक्ला श्रीमती पार्वती आफैं काम कर्ममा उपस्थित हुन्छिन्। कुटपिट, लेनदेन, सम्बन्ध विच्छेद, अन्तरजातीय विवाह सबै मुद्दा राजाले मिलाउनुपर्ने परिपाटी छ। कुटपिट गर्नेलाई जरिवानाबापत जाँड र २ वटा घोती लिइन्छ भने अन्तरजातीय विवाह गर्नेलाई खसी र रकम तिराइने पूर्वराजा ढोंगीकी श्रीमती चिलोले बताइन्। खासमा किसान समुदायका युवाहरू २०६० सालपछि मात्रै वैदेशिक रोजगारीमा जान थालेका हुन्। मेचीनगर ४ का सीताराम किसान यो समुदायमा विदेश जाने पहिलो हुन्। उनी अहिले पनि विदेशमै छन्। बिदामा आउने जाने गर्छन्। विगतमा किसानहरू झापाका जमिनदार थिए। कालान्तरमा सुकुम्बासी बने। समाजका ठूला ठालूले एक गिलास रक्सीमा बिघौं बिघा जमिन पनि साटे। ‘मताएर जमिन आफ्नो नाममा पारिएका धेरै उदाहरण छन्,’ बयोवृद्ध चिलो किसान भन्छिन्, ‘हामी बाठो-टाठो भएको भए अवस्था यस्तो हुँदैनथ्यो।’ सामन्तीले जमिन आफ्नो नाममा पारेपछि किसानहरू उनीहरूकै घरमा हली बनाइए। खेती किसानी गरेर बल्लतल्ल परिवार धान्न थाले। त्यसले मात्रै जीविका चलाउन गाह्रो भएपछि बाध्य भएर वैदेशिक रोजगारीको बाटो रोजेको किसान समुदायका अगुवा भीम किसानले बताए। ‘रेमिट्यान्सले विस्तारै किसानको जीवनस्तर उकासिँदै छ,’ भीम भन्छन्। उनका अनुसार झापाका करिब ५० जना युवा खाडी र मलेसियामा कार्यरत छन्। ‘विदेश जानेहरूको आर्थिक जीवनस्तर मजबुद बन्दै गएको छ,’ उनी भन्छन्। विदेशमा रहेकाले पक्की घर बनाउने, जमिन जोड्नेदेखि छोरा-छोरीलाई बोर्डिङ स्कुल भर्ना गरेका छन्।