बाल श्रम अन्त्य गर्ने इँटा उद्योगीको घोषणा

31 July, 2018

देशभरका इँटा उद्योगीले बाल श्रम अन्त्य गर्ने घोषणा गरेका छन्। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमार्फत व्यवसायीले बाल श्रम अन्त्य गर्ने घोषणा गरेका हुन्। मन्त्रालयले केही दिन अगाडि ल्याएको राष्ट्रिय बाल श्रम गुरुयोजना कार्यान्वयनका लागि इँटा उद्योगमा अबदेखि कुनै पनि बाल श्रम प्रयोग नगर्ने व्यवसायीले घोषणा गरेका हुन्।सरकारले २०८२ भित्र नेपालबाट सबै प्रकारका बाल श्रम अन्त्य गर्ने गरी ‘बाल श्रम राष्ट्रिय गुरु योजना’ जारी गरेको थियो।

 

गुरुयोजनामा २०७९ सम्म अतिसंवेदनशील क्षेत्रमा रहेको बाल श्रम अन्त्य गर्ने र २०८२ भित्र सबै प्रकारको बाल श्रम अन्त्य गर्ने गरी राष्ट्रिय गुरु योजना जारी गरेको थियो। ‘प्रत्येक बालबालिकामा जन्मजात विशेषता वा खास क्षमता हुन्छ। उनीहरूमा रहेका त्यस्ता क्षमतालाई उजागर गरी राष्ट्र निर्माणको अभियानमा लगाउनु र बालबालिकालाई उचित वातावरण सिर्जना गरी विकासको उपयुक्त अवसर सिर्जना गर्नु हामी सबैको दायित्व हो। कुनै पनि बालबालिकालाई कलकारखाना, खानी वा यस्तै प्रकृतिका अन्य जोखिमपूर्ण काममा लगाउन नपाइने संवैधानिक व्यवस्था छ। संविधानमा बालबालिकाको मौलिक हकलाई सुनिश्चित गर्नुका साथै राज्यले बालबालिकाको सर्वोत्तम हित प्रबद्र्धनमा ध्यान दिनुपर्ने मार्गदर्शक नीतिलाई मनन्, आत्मसाथ र परिपालना गर्नुपर्ने प्रावधानलाई उद्योगी व्यवसायीले पनि आफ्नो दायित्व ठानेका छन्’, नेपाल इँटा उद्योग महासंघमा अध्यक्ष महेन्द्रबहादुर चित्रकारले भने।

 

बाल श्रम प्रयोग हुनेमा इँटाभट्टा अग्रस्थानमै पर्छ। अहिले नेपालमा साढे तीन लाखभन्दा बढी मजदुर इँटाभट्टामा काम गरिरहेका छन्। यसमा १० प्रतिशत मजदुर बालक रहेको स्वतन्त्र अभियन्ता कार्यसमिति सदस्य मिलन धेरैले बताउँछन्। इँटा भट्टामा बालबालिकाले माटो मुछ्ने, इँटा बनाउने, ओसारर्नेलगायत काम गर्दै आएका छन्।

 

हाल नेपालमा एक हजार एक सयभन्दा बढी इँटा भट्टा सञ्चालमा छ। त्यसमा पनि काठमाडौं उपत्यकामा मात्रै एक सय १० भन्दा बढी इँटा भट्टा सञ्चालनमा छ। नेपाल अहिले इँटामा आत्मनिर्भर छ। इँटा भट्टामा बाल श्रमिक प्रयोग हुँदा उद्योगीको छबि बिग्रने भएकाले इँटा उद्योगमा बाल श्रमिक प्रयोगलाई न्यूनीकरण गर्नु जरुरी रहेको चित्रकार बताउँछन्। तर, चित्रकारले श्रम मन्त्री विष्ट समक्ष देशभर २० देखि ३० जना मात्रै मजदुर बाल रहेको तथ्यांक दिएर पन्छिएका थिए।

 

व्यवसायीले यही साउन १४ गतेदेखि देशभरका इँट्टा उद्योगमा कुनै पनि बाल श्रमिक प्रयोग गर्न नपाउने साझा प्रतिबद्धता गरेका छन्। साझा प्रतिबद्धता उल्लंघन गरी बाल श्रमिक प्रयोग भएको फेला परेमा सरकारलाई कारबाही गर्न सिफारिस समेत गर्ने व्यवसायीको भनाइ छ। व्यवसायीको प्रतिबद्धतालाई श्रम मन्त्री विष्टले स्वागत गरेका छन्। इँटा उद्योगमा काम गर्ने आउने मजदुरका बालबालिका लागि सरकारले व्यवस्थापनमा सहयोग गर्ने उनको भनाइ छ।

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026