धादिङको गजुरी गाउँपालिकामा थुन्चेमा बालुवा बोकेर दैनिक गुजारा चलाउँदै आएका मजदुरको बालुवा संकलन रोकिएपछि उनीहरू समस्यामा परेका छन्। रोजीरोटीको विकल्प नदिई बालुवा संकलनमा रोक लगाइएको भन्दै मजदुरहरूले गुनासो गरेका छन्।
सांसद आशिका तामाङको पहलपछि बालुवा संकलन रोकिएको मजदुरहरूको आरोप छ। रोजीरोटीको विकल्प दिनुपर्ने वा आफूहरूले गर्दै आएको परम्परागत बालुवा संकलनलाई निश्चित मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने उनीहरूको माग छ। मजदुरको पक्षमा स्थानीय तहका जनप्रतिनिधिसमेत उभिएका छन्।
गजुरी गाउँपालिकास्थित त्रिशूली नदी किनारमा आर्थिक अवस्था कमजोर भएका मजदुरहरूको दैनिक गुजाराको प्रमुख स्रोत बालुवा संकलन हो। वर्षौंदेखि नदीमा जोखिम मोलेर बालुवा निकाल्दै आएका मजदुरहरूले यही कामबाट परिवारको छाक टार्दै आएका छन्। बालुवा संकलन यहाँका कतिपय मजदुरको पुर्ख्यौली पेसाजस्तै बनेको छ। तर, धादिङ क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद आशिका तामाङको पहलपछि स्थानीय प्रशासनले बालुवा संकलनमा रोक लगाएपछि आफ्नो रोजीरोटी प्रभावित भएको मजदुरहरूको भनाइ छ।
पूर्वसूचना र वैकल्पिक रोजगारीको व्यवस्था नगरी बालुवा संकलन रोकिएपछि गजुरी–५, राईगाउँका करिब १७० घरधुरीसँगै बाहिरी जिल्लाबाट आएका करिब ५०० मजदुरसमेत प्रभावित भएका छन्। मजदुरहरूले आफूहरूलाई रोजीरोटीको विकल्प दिनुपर्ने वा दैनिक गुजाराका लागि गर्दै आएको परम्परागत बालुवा संकलनलाई निश्चित मापदण्ड बनाएर सञ्चालन गर्न दिनुपर्ने माग गरेका छन्। वर्षायाममा नदीमा जोखिम हुने भए पनि परिवारको छाक टार्न बाध्य भएर बालुवा निकाल्नुपरेको मजदुर कान्छी तामाङको भनाइ छ।
सांसद तामाङले वर्षायाममा नदीबाट बालुवा निकाल्दा जोखिम हुने र मजदुरहरूले मदिरासमेत सेवन गर्ने गरेको भन्दै उनीहरूको जीवन सुरक्षाका लागि बालुवा संकलन रोक्नुपरेको दाबी गरेकी छन्। मजदुरहरूले भने आफूहरूको सुरक्षाको जिम्मेवारी आफैं लिने बताएका छन्। साथै, आफूहरूले मदिरा सेवन गर्ने गरेको आरोप प्रमाणित गरेर देखाउन मजदुर बलराम तामाङले सांसद तामाङलाई चुनौती दिएका छन्।
मजदुरहरूको रोजीरोटीको आधार बन्द भएपछि स्थानीय जनप्रतिनिधि पनि असन्तुष्ट देखिएका छन्। उनीहरू मजदुरहरूले बालुवा संकलन गर्दै आएको बाङेबगर पुगेर मजदुरहरूसँग ऐक्यबद्धता जनाएका छन्। गजुरी गाउँपालिकाले पनि बालुवा संकलनमा संलग्न मजदुरको सुरक्षालाई ध्यानमा राख्दै आवश्यक सुरक्षा सामग्री उपलब्ध गराएको जनाएको छ। नदीमा काम गर्दा जोखिम हुने भएकाले मजदुरलाई सुरक्षा सामग्री हस्तान्तरण गरिएको गाउँपालिका अध्यक्ष गणेशलाल श्रेष्ठले बताए।
श्रेष्ठले छिमेकी जिल्ला नुवाकोटतर्फ त्रिशूली नदी किनारमा मजदुरहरूले बालुवा संकलन गरेर गुजारा चलाइरहेको अवस्थामा धादिङका मजदुरलाई मात्रै रोक लगाउनु न्यायोचित नभएको बताए। राज्यका निर्णयले मजदुर तथा विपन्न परिवारको दैनिक जीवनमा प्रत्यक्ष असर पर्ने भएकाले उनीहरूको रोजीरोटीको विकल्पबारे पनि ध्यान दिनुपर्ने उनको भनाइ छ।
मजदुरहरूसँगै बालुवा बोकेर ऐक्यबद्धता जनाएका गजुरी-५ का वडाध्यक्ष गोविन्द लामिछानेले पनि मजदुरको दैनिक गुजारा चलाउने कामलाई पूर्ण रूपमा बन्द नगर्न आग्रह गरेका छन्। रहरले नभई बाध्यताका कारण मजदुरहरू नदीबाट बालुवा संकलन गर्नुपर्ने अवस्थामा रहेको भन्दै बिना विकल्प रोजगारी बन्द गर्नु उचित नभएको उनको भनाइ छ।
गत एक सातादेखि गजुरीको उक्त क्षेत्रमा बालुवा संकलनमा रोक लगाइएको मजदुरहरूले बताएका छन्। सांसद तामाङले भने वर्षायाममा नदीजन्य पदार्थ उत्खनन गर्दा जोखिम हुने र कानुनी व्यवस्थासमेत पालना गर्नुपर्ने भएकाले रोक लगाइएको बताएकी छन्। यस विषयमा सांसद आशिका तामाङसँग कुराकानी गर्दा उनले नुवाकोट फरक जिल्ला भएकाले त्यहाँको अवस्था र स्थानीय तहले अपनाएको व्यवस्था पनि फरक रहेको बताइन्।
नुवाकोटमा बालुवा संकलन भइरहेको विषयलाई धादिङको अवस्थासँग सीधा तुलना गर्न नमिल्ने उनको भनाइ छ। धादिङमा भने वर्षायाममा नदीमा बालुवा संकलन गर्दा मजदुरको सुरक्षामा जोखिम हुने भएकाले रोक लगाइएको उनले स्पष्ट पारिन्। यता जानकारहरूका अनुसार असार मसान्तदेखि भदौसम्म नदीजन्य पदार्थ उत्खननमा रोक लगाउने व्यवस्था रहे पनि व्यावसायिक रूपमा ठूला उपकरण, एक्साभेटर तथा टिपर प्रयोग गरेर गरिने उत्खनन र मजदुरहरूले दैनिक गुजाराका लागि सामान्य औजार प्रयोग गरेर गर्ने बालुवा संकलनको प्रकृति फरक भएकाले त्यसअनुसार नियमनको व्यवस्था हुनुपर्ने देखिन्छ।
यसैबीच छिमेकी जिल्ला नुवाकोटको बेलकोटगढी नगरपालिकामा भने त्रिशूली नदी किनारबाट मजदुरहरूले थुन्चेमा बालुवा बोकेर दैनिक गुजारा चलाइरहेका छन्। नदीजन्य पदार्थको उत्खनन तथा संकलनमा कानुनी र वातावरणीय मापदण्ड पालना आवश्यक छ।त्यससँगै, यही कामबाट परिवार पाल्दै आएका मजदुरको सुरक्षा र रोजीरोटीको विषयलाई पनि सम्बोधन गर्नुपर्ने देखिन्छ। त्यसका लागि जोखिम न्यूनीकरण, आवश्यक सुरक्षा व्यवस्था र वैकल्पिक रोजगारी सहितको स्पष्ट नीति आवश्यक देखिन्छ।