बालश्रमिकलाई छात्रवृत्ति

12 May, 2011

इँटाभट्टामा बालश्रमिकका रूपमा काम गर्दै आएकी मनीषा चौधरीले पढ्नका लागि छात्रवृत्ति पाएपछि अभिभावकले कामबाट छुटाएर उनलाई विद्यालय पठाउन थालेका छन् । उनी यसअघि परिवारको गुजारा चलाउन सहयोगकै लागि ज्याला मजदुरी गर्न बाध्य थिइन् ।

लक्ष्मीपुर कोद्राहा ७ की चौधरी अहिले ६ कक्षामा अध्ययनरत छिन् । मनीषाकी आमा पहुनीयादेवीले गरिबीका कारण छोरी विद्यालय पठाउन नसकेकाले इँटाभट्टामा काम गर्न पठाएको स्मरण गर्दै भनिन्, ‘पढ्ने सहयोग जुटेपछि काम छुटाएका छौं ।’ उनीजस्तै धेरै अभिभावकले छात्रवृत्ति पाएपछि छोराछोरी पढाउन थालेका छन् । बालश्रम न्यूनीकरणका लागि इँटाभट्टामा काम गर्ने बालश्रमिकलाई विश्व शिक्षा सहयोगमा छात्रवृत्ति दिएपछि धेरैले पढ्न पाएका हुन् । उक्त सहयोगमा बुधबार इँटाभट्टामा काम गर्ने ३ सय ९२ बालश्रमिकलाई झोला, विद्यालय पोसाक, कापी, कलमलगायत सामग्री वितरण गरियो ।

यस कार्यक्रम हेर्दै आएकी सरिता कटवालका अनुसार आठ गाविसमा सर्वेक्षण गरेर बाल मजदुरको संख्या एकिन गरेको हो । बालश्रमबाट घरपरिवारको गुजारामा सहयोग पुग्ने भएकाले अभिभाकले पढाउन नमान्ने गरेको अनुभव पनि उनले सुनाइन् । भट्टामा काम गर्ने बालश्रमिकमा बालिकाको संख्या अधिक छ ।

‘त्यसैकारण बालश्रम गर्ने बालबालिकाका अभिभावकलाई लक्षित गर्दै आयआर्जन कार्यक्रममा पनि सँगसँगै चलाएका छौं,’ उनले भनिन्, ‘अहिलेसम्म ८१ जनालाई आयआर्जन कार्यक्रममा नगद सहयोग गरेको र बाँकीलाई क्रमशः दिने कार्यक्रम छ ।’

बालश्रमिकलाई छात्रवृत्ति वितरण गर्दै स्थानीय विकास अधिकारी सुमन घिमिरेले देश विकासका लागि सबै नागरिक शिक्षित हुन आवश्यक रहेको बताए ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024