बंगलादेशमा नेपाली विद्यार्थीबीच सशस्त्र झडप

12 June, 2011

Anmolmani Poudel

बंगलादेशको चटगाउँस्थित युनिभर्सिटी अफ साइन्स एन्ड टेक्नोलोजी -युएटीसी) मा एमबीबीएस अध्ययनरत नेपाली विद्यार्थीको समूह-समूहबीच हतियारसहित झडप भएको छ ।

एउटै होस्टल बस्दै आएका र बाहिर भाडामा बस्ने नेपाली विद्यार्थीबीचकै समूहले शुक्रबार राति आक्रमण गर्दा १५ जनाभन्दा बढी घाइते भएका हुन् । उनीहरू सबै एमबीबीएस अध्ययनका लागि नेपालबाट गएका विद्यार्थी हुन् ।

छात्रावास रहेको चट्गाउँबाट विद्यार्थीले दिएको जानकारीअनुसार घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर छ । आक्रमणकारीले धारिलो हतियार प्रहार गर्दै होस्टलको तीन तलामाथिबाट विद्यार्थीलाई खसालिदिएका थिए । घाइतेहरूको स्थानीय चटगाउँ मेडिकल कलेजको सघन उपचार कक्षमा उपचार भइरहेको छ । होस्टलका अधिकांश विद्यार्थी शनिबार रातिसम्म अस्पतालमा थिए ।

पेटमा छुरा लागेका दीपक गिरी र तीन तलाबाट खसालिएका शैलुजनन्द भुरेलको अवस्था गम्भीर छ । भुरेलको अझै होस आएको छैन । आक्रमणमा ओमप्रकाश पण्डित, जगलाल जैसवाल, पुष्प भुसाल, शेखर यादव, सौभाग्य साह, संजय यादव, मोहम्मद इमरान, दीपेश उप्रेती र शेखर यादव पनि घाइते भएका छन् । उनीहरूको टाउकोमा र शरीरका अन्य भागमा गम्भीर चोट लागेको छ ।

आक्रमणकारी सबै त्यही विश्वविद्यालय अध्ययनरत तर अनुत्तीर्ण विद्यार्थी हुन् । सामान्य भनाभनमा हात हालाहाल भएपछि आक्रमणकारी समूहले हतियार प्रहार गरेका थिए । यसअघि पनि उक्त समूहले विद्यार्थीलाई धम्की दिँदै आक्रमण गर्दै आएको एक विद्यार्थीले बताए । आक्रमणपछि छात्रावासका विद्यार्थी त्रसित छन् । ‘उनीहरू कुनै पनि बेला आएर हामीलाई आक्रमण गर्न सक्छन् भन्ने त्रासले हामी आतंकित भएका छौं,’ सम्पर्कमा आएका एक विद्यार्थीले सुरक्षाको कारण नाम उल्लेख नगर्न भन्दै चटगाउँबाट कान्तिपुरसित भने, ‘हतियारधारी समूह भएकाले कुन बेला के हुन्छ भन्न सक्ने अवस्था छैन । हामीले विश्वविद्यालयसित सुरक्षा माग गरेका छौं तर सुनुवाइ भएको छैन ।’ छात्रावासमा १ सय ५० जना नेपाली विद्यार्थी बस्दै आएका हुन् ।

शुक्रबार राति भएको घटनाबारे तत्काल विश्वविद्यालयलाई जानकारी दिए पनि बेवास्ता गरेको ती विद्यार्थीले बताए । विश्वविद्यालय प्राध्यापक नुरुल इस्लामले सञ्चालन गरेका हुन् । पीडित विद्यार्थीहरूले शनिबार उनका छोरा एआई इस्लामलाई भेटेर आफूहरूको सुरक्षाका लागि माग गरेका छन् । ढाकास्थित नेपाली दूतावासलाई समेत घटनाबारे जानकारी दिएको ती विद्यार्थीले बताए । विश्वविद्यालयले प्रहरी पहरा सुरक्षा दिने बताए पनि शनिबार साँझसम्म त्यस्तो व्यवस्था नभएको विद्यार्थीले बताए ।

‘घटनाबारे तत्काल जानकारी गराउँदा पनि स्थानीय प्रहरीले हाम्रो सुरक्षाका लागि कुनै सहयोग गरेन’ ती विद्यार्थीले भने, ‘हामीले आक्रमणकारीको नामसहित क्याम्पस र प्रहरीलाई किटानी दिएका छौं । तर कुनै वास्ता भएन । छात्रावासका विद्यार्थी अत्यन्त त्रासमा छन् ।’

आक्रमणकारी विद्यार्थी लागू पदार्थको लती भएको विद्यार्थीहरूले जनाएका छन् । अस्पतालमा रहेका अर्का एक विद्यार्थीले भने, ‘पेटमा छुरी रोपे र कोठा लक गरेर उनीहरू गए । हामीले साथीहरूको जसो तसो उद्धार गर्‍यौं । कलेज र कसैलाई कम्प्लेन गरे मारिदिने धम्की दिएका छन् । उनीहरूबाट हामीलाई खतरा छ ।’ निजी अस्पतालमा गरिएको उपचार खर्च कसरी बेहोर्ने भनेर पनि विद्यार्थी पिरोलिएका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024