फिर्ती अभियानका नेतै तेस्रो मुलुकतिर

25 August, 2011

पर्वत पोर्तेल

भुटानी शरणार्थी आन्दोलनमा पछिल्लो समय देखा परेको अन्योलका कारण स्वदेश फिर्ती आन्दोलनका अग्रजहरू नै धमाधम तेस्रो मुलुक पुनर्वासमा जान थालेका छन् ।

यसका पछिल्ला पात्र हुन्- भुटान राष्ट्रिय प्रजातान्त्रिक पार्टीका प्रवक्ता नारद अधिकारी । ‘स-सम्मान स्वदेश फिर्ती’ को अडानमा लामो समयदेखि आन्दोलनरत टेकवीर छेत्री, सुवास आचार्य, आरपी सुब्बा, गणेश सुवेदी, छविलाल तिम्सिनालगायत दर्जनांै नेता यसअघि नै तेस्रो देश पुगिसकेका छन् । अधिकारी गत अगस्ट ३ मा काठमाडौंबाट सपरिवार अमेरिका उडेका हुन् । कान्तिपुरसँगको फेसबुक कुराकानीमा उनले भुटानी नेताहरूबीच देखिएको बेमेल र फुटका कारण निराश भएर आफूले अमेरिका जाने निर्णय गरेको बताए । ‘नेताहरूबीचको फुटका कारण आन्दोलन धरापमा परेको छ,’ उनले भने, ‘त्यही कारण स्वदेश फिर्तीको आन्दोलन शिथिल भइरहेको छ ।’

अधिकारी अमेरिकाको हेम्प्सायरमा बस्न थालेका छन् । उनले अमेरिकामा बसेरै भए पनि स्वदेश फिर्तीको आन्दोलन क्रमिक रूपमा अघि बढाउने योजना रहेको दाबी गरे । शरणार्थीसम्बन्धी राष्ट्रसंघीय उच्चायोग (यूएनएचसीआर) ले अमेरिका, युरोप तथा अस्ट्रेलियालगायत आठ मुलुकमा शरणार्थीलाई पुनर्वास गरेको छ ।

अधिकारीका अनुसार आठै मुलुकबाट एकै चोटि स्वदेश फिर्तीको अभियान थालिने छ ।

उनले कहिलेदेखि र कसरी अभियान सुरु गर्ने भन्ने बताउन चाहेनन् । ‘सबै मुलुकमा भएका साथीहरूसँग सल्लाह भइरहेको छ,’ उनले भने, ‘मिति तय भएको छैन ।’

यूएनएचसीआरले साढे तीनवर्षे कार्यक्रमअन्तर्गत ५१ हजार हाराहारीमा भुटानी शरणार्थी पुनर्वास भइसकेको हालै जानकारी गराएको छ । सन् २००८ यता पुनर्वासमा जानेको संख्या ह्वात्तै बढेको छ । सबभन्दा बढी अमेरिकामा ३६ हजार पुगेका छन् ।

करिब एक वर्षअघि भुटान पिपुल्स पार्टीका अध्यक्ष बलराम पौडेल, भुटान राष्ट्रिय प्रजातान्त्रिक पार्टीका डीएनएस ढकाल र भुटानी स्वदेश फिर्ती आन्दोलन संघर्ष समितिका सभापति टेकनाथ रिजाललगायत नेताले एकजुट भएर घर र्फकने अभियान सुरु गर्ने बताएका थिए ।

तर त्यसको कुनै गतिविधि देखिएको छैन । भुटानी शरणार्थी स्वदेश फिर्ती समितिका अध्यक्ष भम्पा राईले शरणार्थी आन्दोलन राजनीतिक कारणले तुहिन लागेको बताए । तेस्रो मुलुक पुनर्वासका कट्टर विरोधी मानिने राईले भुटानमा प्रजातन्त्र हुनुपर्छ भन्नेहरू अहिले विदेशमा मजदुर भइरहेको आरोप लगाए । ‘घर फिर्तीको कुरा अहिले कसैले सुन्न मान्दैनन्,’ उनले भने ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024