नवराज ढकाल
कामको खोजीमा फागुन महिनामा बिदेसिनेको संख्या गतवर्षको सोही अवधिको तुलनामा २४ दशमलव १७ प्रतिशतले बढेको छ। गतवर्ष फागुनमा जम्मा ३९ हजार एक सय एकजना बिदेसिएकामा यस पटक यो संख्या बढेर ४८ हजार पाँच सय ५२ जना पुगेको हो। यो संख्या गतवर्षको सोही अवधिको तुलनामा नौ हजार पाँच सय ४१ जनाले बढी हो।
आन्तरिक बजारमा रोजगारका अवसर बढ्न नसकेपछि बिदेसिनेको संख्य थप माथि लागेको हो। बर्सेनि काम गर्न विदेश जानेको संख्या बढ्दोक्रममा छ। सरकारले पनि युवा जनशक्तिलाई वैदेशिक रोजगारमा पठाउन प्रोत्साहित गर्दै आएको छ। अर्थविद् र रोजगार विज्ञले भने तत्कालका लागि बेरोजगार समस्या कम गर्न वैदेशिक रोजगारले सहयोग पुर्याए पनि दीर्घकालमा भने यसबाट ठूलो क्षति पुग्ने बताउँदै आएका छन्।
वैदेशिक रोजगार विभागले हालै प्रकाशित गरेको तथ्यांकअनुसार यस पटक पनि सबैभन्दा बढी नेपाली कामदार जाने मुलुकमा मलेसिया नै परेको छ। विगत लामो समयदेखि मलेसिया नेपाली कामदारको पहिलो रोजाइको गन्तव्य बन्दै आएको छ। मलेसियामा फागुनमा मात्रै १७ हजार चार सय ११ जना युवा काम गर्न पुगेका छन्।
तुलनात्मक रूपमा खुला समाज, मिल्दोजुल्दो हावापानी भएका कारण नेपालीको रोजाइमा यो मुलुक परेको हो। यसबाहेक मलेसियामा रोजगारको अवसर बढेको बढ्यै छ। बहुराष्ट्रिय कम्पनी खुल्नेक्रम बढेको छ। पूर्वाधार, पर्यटन तथा सूचनाप्रविधिका कम्पनीमा काम पाइने सम्भावना धेरै छ।
पठाउन सजिलो हुने र कामदारको मागसमेत धेरै आएकाले म्यानपावर कम्पनीले पनि मलेसियामा पठाउन ध्यान केन्द्रित गरिरहेका छन्। मलेसियापछि वैदेशिक रोजगारको दोस्रो महत्त्वपूर्ण गन्तव्य कतार परेको छ। यो मुलुकमा फागुनमा मात्रै १३ हजार तीन सय ८९ जना युवा पुगेका छन्।
सन् २०२२ मा हुने विश्वकप फुटबल खेलका लागि पूर्वाधार विस्तार गर्न यो मुलुकमा विदेशी कामदारको माग बढ्दो छ। यसैगरी नेपाली कामदारको तेस्रो रोजाइको गन्तव्य साउदी अरब परेको छ। साउदीमा सात हजार नौ सय ३९ कामदार गएका छन्। समीक्षा महिनामा कामदार गएका आधारमा चौथो र पाँचौं नम्बरमा संयुक्त अरब इमिरेट्स र कुवेत परेका छन्। विभागको तथ्यांकअनुसार संयुक्त अरब इमिरेट्समा पाँच हजार चार सय ३१ जना र कुवेतमा दुई हजार पाँच सय १५ जना गएका हुन्।
सरकारी अनुमति लिएरै बिदेसिनेको संख्या अब करिब ३२ लाख पुगेको छ। गैरकानुनी रूपमा जानेको संख्या पनि सोही हाराहारीमा रहेको अनुमान छ। संख्यात्मक रूपमा काम गर्न बिदेसिने युवा बढे पनि गुणस्तर भने सुधार हुन सकेको छैन। बिदेसिनेमध्ये ७९ प्रतिशत अदक्ष छन्। बिदेसिनेमध्ये अधिकांश ग्रामीण क्षेत्रका अशिक्षित युवा हुने गरेका छन्। सरकारले उनीहरूलाई कामसम्बन्धी प्राविधिक तालिम दिएर पठाउन सकेको छैन।
मुलुकभित्र प्राविधिक तालिम दिने संस्थाको समेत कमी छ। अर्थतन्त्रमा बिदेसिएका युवाले पठाएको रेमिट्यान्सको हिस्सा २३ प्रतिशत छ। दैनिक सरदरमा १५ सय युवा काम गर्न विदेश जाने गरेका छन्।
यस्तो छ विदेशिएका कामदारको संख्या
देश संख्या
मलेसिया १७४११
कतार १३३८९
साउदी अरब ७९३९
संयुक्त अरब इमिरेट्स ५४३१
कुवेत २५१५
स्रोत : वैदेशिक रोजगार विभाग