फलाखु खोलाकाे काम ७ महिनादेखि ठप्प

4 February, 2020

हिमनाथ देवकोटा

रसुवा – रसुवाको नौकुण्ड गाउँपालिका–१, थाङ्दोरमा निर्माण भइरहेको फलाखु खोला जलविद्युत् आयोजनाको काम सात महिनादेखि ठप्प भएको छ। गएको असारदेखि आयोजनाको काम रोकिएको हो।

कामदार अभावका कारण काम रोकिएको आयोजनाले जनाएको छ। बर्खाको समयमा काम नगर्ने भन्दै असारमा चिनियाँ कामदार फर्किएका थिए। अर्को परियोजनामा काम गर्नका लागि उनीहरू नेपाल आएका थिए।अर्को परियोजनाबाट यो आयोजनामा आएका उनीहरूको पुरानो परियोजनाको काम सकिएपछि यहाँ बस्न सम्भव नभएको हो। वर्किङ भिसामा उनीहरूलाई ल्याउन प्रक्रियागत झन्झट भएपछि ढिलाइ भएको थियो।

पछिल्लो समय चीनमा कोरोना भाइरसको प्रकोप सुरु भएसँगै अझै डेढ दुई महिनामा कामदार आउने सम्भावना नरहेको आयोजनाले जनाएको छ। आयोजनाको ३० प्रतिशत काम सकिएको छ। १४.७ मेगावाटको आयोजना डेड वर्षमा निर्माण सम्पन्न गर्ने गरी काम अघि बढाइएको थियो। तर विविध समस्याका कारण आयोजनाको कामले गति लिन सकेको छैन। यो आयोजना चिनियाँ ठेकेदार चोङकिङ वाटर टर्बाइन वक्स कम्पनी लिमिटेड (सिडब्लुटिडब्लु)ले निर्माण गरिरहेको छ।

आयोजनाले जग्गा अधिग्रहण, लाइन निर्माण, बाटो निर्माण र क्याम्प निर्माण सम्पन्न गरेसँगै संरचना निर्माणको काम अघि बढाएको भए पनि कामदार नभएपछि काम रोकिएको बेत्रावती हाइड्रोइलेक्ट्रिक कम्पनीले जनाएको छ। आयोजनाको सुरक्षाका लागि नेपाली सेनाको कालीजंग गणको क्याम्प राखिएको छ। यार्सामा हेडवक्स रहने आयोजनाको घिचेतमा पावर हाउस रहनेछ। आयोजनाको लागत दुई अर्ब ४० करोड रहेको छ। आयोजनाले दिएको जानकारी अनुसार दुई हजार तीन सय मिटर टनेल र एक हजार आठ सय मिटर पेनस्टक रहनेछ। तीमध्ये तीन सय मिटर टनेल निर्माण भइसकेको छ।

त्यसैगरी फलाखुखोला (५ मेगावाट) जलविद्युत् आयोजनाको निर्माण कार्य २० प्रतिशत सकिएको छ। यो आयोजनाको लागत करिब एक अर्ब रुपयाँ रहेको छ। आयोजनाले दिएको जानकारी अनुसार एक हजार एक सय मिटर मुख्य सुरूङ र एक हजार दुई सय मिटर पेनस्टक रहने छ। यो आयोजनाको ड्याम साँघाचौरमा रहने र दनुस्वारामा पावर हाउस रहने बताइएको छ। उत्पादन हुने विद्युत् त्रिशूली थिब्री हबमा जोडिने छ। पाँच मेगावाट क्षमताको आयोजनाले नौ किलोमिटर र १३.७ मेगावाट क्षमताको आयोजनाले १४ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्नेछ। जिल्लामा अहिले १३ वाटा जलविद्युत् आयोजना निर्माण भइरहेका छन्। पाँच वर्षभित्र यी आयोजनाबाट ६ सय ९८ मेगावाट विद्युत् उत्पादन हुन्छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024