योगेश खतिवडा
मुलुकमा रोजगारीको पर्याप्त अवसर सिर्जना हुन नसक्दा विदेशमा काम गरेर आएका धेरै कामदार पुनः र्फकन गरेका छन् । हाल मासिक रूपमा बिदेसिने कामदारमध्ये धेरै दोहोर्याएर गएको पाइएको छ ।
वैदेशिक रोजगार विभागले हालै प्रकाशित गरेको तथ्यांक अनुसार कात्तिक महिनामा गएका कुल कामदारमध्ये झन्डै आधा बिदामा आएर फर्किएका छन् । कात्तिक महिनामा ४७ हजार १ सय ७६ जना नेपाली काम खोज्दै बिदेसिएका थिए ।
तीमध्ये बिदामा आएर पुनः श्रम स्वीकृति लिएर जाने कामदारको संख्या २२ हजार ४ सय ४६ छ ।
यस्तै संस्थागत श्रम स्वीकृति लिएर जानेमा पनि धेरै कामदार दोहोर्याएर जाने गरेका छन् । कात्तिकमा बिदेसिएका मध्ये २२ हजार ४१ जना संस्थागत श्रम स्वीकृति लिएर गएका छन् । ‘संस्थागत श्रम स्वीकृति लिएर जानेमध्ये पनि झन्डै ५० प्रतिशत कामदार दोहोर्याएर जान्छन्,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजूले भने, ‘मासिक रूपमा संस्थागत श्रम स्वीकृति लिएर बिदेसिएका मध्ये नयाँ अनुहार आधा मात्र हुन्छन् ।’ मुलुकमा पर्याप्त रोजगारीको अवसर सिर्जना नहुँदा यसरी र्फकनेको संख्या उच्च भएको उनी
बताउँछन् । ‘मुलुकमा रोजगारीको अवसर छैन,’ उनले भने, ‘यही कारण देखाउँदै धेरै कामदार पुनः र्फकनुपरेको बताउँछन् ।’ उनका अनुसार एक पटक गएका व्यक्तिलाई कम्पनी, काम र सुविधाबारे राम्रो जानकारी हुने भएकाले पनि उनीहरू सहज रूपमा काम गर्न जाने गर्छन् ।’
यसरी र्फकने गरेका कामदारमा धेरैजसो पहिला काम गरेको कम्पनीमा जाने गर्छन् । ‘पहिलेको कम्पनीमा कुरा मिलेन भने त्यही मुलुक जान्छन्,’ उनले भने, ‘त्यो पनि नभए अर्को मुलुकमा जाने पनि धेरै छन् ।’ म्यानपावर कम्पनीको अध्ययनले बिदेसिएर आएका नेपालीमध्ये झन्डै ७५ प्रतिशत पुनः र्फकने गरेका छन् । ‘२५ प्रतिशत कामदार घरायसी, व्यवसाय, उमेर लगायत कारणले जाँदैनन्,’ उनी भन्छन् ।
विभागका महानिर्देशक पूर्णचन्द्र भट्टराईले व्यक्तिगत श्रम स्वीकृति लिनेमध्ये बिदामा आएर जानेको संख्या बढिरहेको छ । मुलुकमा रोजगारीको पर्याप्त अवसर नहुनु नै यसको प्रमुख कारण भएको उनले बताए । अहिले पुनः र्फकनेको संख्या कति हो भन्ने तथ्यांक नभएको भन्दै उनले थपे, ‘आगामी महिनादेखि विभागले व्यक्तिगत श्रम स्वीकृति, संस्थागत स्वीकृति र बिदामा आएर र्फकने व्यक्तिको समेत तथ्यांक तयार गर्ने योजना बनाएको छ ।’
यसो त केही समय अगाडि विश्व बैंकले गरेको अध्ययनले पनि विदेशमा काम गरेर फर्किएका धेरै नेपाली पुनः जान चाहेको देखिएको छ। सन् २००९ मा ३ हजार २ सय घरमा गरेको आप्रवास सम्बन्धीको अध्ययनले विदेशमा काम गरेर फर्किएका मध्ये ७७ प्रतिशत पुनः जान चाहेको पाइएको छ । अध्ययनका अनुसार बिदेसिने मध्ये धेरै २० देखि ४४ वर्ष उमेर समूहका छन् । यो उत्पादनशील समूह पनि हो । यसरी उच्च संख्यामा बिदेसिएको नेपालीका कारण मुलुकका ग्रामीण क्षेत्रमा श्रम समस्या समेत भएको बताइएको छ ।
हाल झन्डै २५ लाख नेपाली कामका लागि बिदेसिएका छन् । तिनमा सबैभन्दा बढी कामदार खाडी र मलेसियामा छन् ।