प्रधानमन्त्रीको निर्देशन पछि वैदेशिक रोजगारीमा ठगी नियन्त्रण सुरु

30 September, 2011

प्रधानमन्त्री बाबुराम भट्टराईको निर्देशनपछि श्रम मन्त्रालयले वैदेशिक रोजगारीका क्रम हुने गरेको ठगी नियन्त्रणको काम सुरु गरेको छ । मन्त्रालयमा बिहीबार भएको बैठकले श्रमविज्ञ गणेश गुरुङको संयोजकत्वमा यस क्षेत्रमा हुने गरेको ठगी नियन्त्रणमा काम गर्न समिति बनाएको छ ।

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघका महासभामा भाग लिएर र्फकंदा दोहा विमानस्थलमा ट्रान्जिटमा रहँदा नेपालीको दुःख सुनेपछि यस क्षेत्रमा धेरै ठगी भएको भन्दै तत्काल नियन्त्रण गर्न निर्देशन दिएका थिए । दोहामा रहँदा उनले विमानस्थलबाट निस्किएर केही समय नेपाली कामदारको गुनासो सुनेका थिए । श्रममन्त्रीसमेत रहेका भएको प्रधानमन्त्रीले सचिवलाई तत्काल ठगी नियन्त्रणका लागि काम गर्न निर्देशन दिएपछि मन्त्रालयले काम सुरु गरेको हो ।

वैदेशिक रोजगारीमा धेरै ठगी भएको गुनासो आएपछि मन्त्रालयले समिति गठन गरेर काम सुरु गरेको सहप्रवक्ता कृष्णहरिपुष्कर कर्णले बताए । समितिका संयोजक गणेश गुरुङले समितिले तत्कालीन, अल्पकालीन र दीर्घकालीन कसरी ठगी नियन्त्रण गर्न सकिन्छ भनेर काम गर्ने बताए ।

‘समिति गठनपछि भएको बैठकले ठगी नियन्त्रणका लागि दसैंपछिको बैठकले तत्काल गर्न सक्ने काम सरकारलाई दिने छ,’ उनले भने, ‘समितिमा धेरै मानिस अहिले यसै क्षेत्रमा काम गरिरहेका भएकाले त्यसका लागि कुनै गाह्रो हुँदैन ।’

त्यस सल्लाहलाई सरकारले तत्काल लागू गर्नुपर्ने उनले बताएका छन् । त्यसपछि समिति थप काम गर्न उत्साहित हुने उनले बताए ।

समितमा विमानस्थल, श्रम मन्त्रालय, रेमिट्यान्स एसोसिएन, अधिवक्ता, अध्यागनम विभाग, वैदेशिक रोजगार विभाग लगायत निकायका प्रतिनिधि रहेका छन् । समितिमा ९ सदस्य छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024