प्रक्रिया छल्दै नयाँ कामदारलाई मलेसिया जाने श्रम स्वीकृति

27 January, 2019

गोपाल साउद

 

दुई देशबीच भएको श्रम समझदारी (एमओयू) अनुरूप प्रक्रिया र संयन्त्रले अन्तिम रूप लिन नपाउँदै नेपाली कामदारलाई मलेसियाको रोजगारीमा पठाइएको खुल्न आएको छ । नेपालस्थित मलेसियन दूतावासबाट सोझै भिसा प्राप्त गरेको पत्र पठाएकै आधारमा वैदेशिक रोजगार विभागले गत साता २९ जना कामदारलाई मलेसिया जान व्यक्तिगत श्रम स्वीकृति जारी गरेको हो ।

 

नेपाल र मलेसियाबीच गत १२ कात्तिकमा भएको श्रम समझदारीमा नेपाली कामदारलाई कुनै पनि किसिमको आर्थिक भार नपर्ने गरी कामदार पठाउने उल्लेख छ । कामदारको स्वास्थ्य जाँच, भिसा शुल्क, हवाई टिकट, म्यानपावर कम्पनीको सेवा शुल्कलगायतका सबै खर्च रोजगारदाता कम्पनीले नै व्यहोर्ने भनिएको थियो । समझदारीअघि कलिङ भिसा लागेकालाई मलेसिया जान सहजीकरण गर्ने र त्यसपछिका कामदारलाई एमओयूअनुसार नयाँ व्यवस्था र प्रक्रिया तय गर्ने भनिएको थियो । तर, सरकारले भने समझदारीपछि कलिङ भिसा प्राप्त गरेका कामदारको नाममा नै अन्तिम श्रम स्वीकृति जारी गरेको हो । श्रम स्वीकृति पाएकामध्ये अधिकांश कामदार रोजगारीका लागि मलेसिया गइसकेका छन् । 

 

विभागले श्रम स्वीकृति जारी गरेका कामदारको कलिङ भिसा गएको २२ कात्तिक देखि ६ मंसिरबीचको अवधिमा स्वीकृत भएको कागजातले देखाउँछ । कामदारले सरकारी कारबाहीमा परेको भिएलएनलाई ७ हजार ४ सय ८० रुपैयाँ बुझाएका छन् । भिसा जारी मिति र भिएलएनलाई रकम बुझाएको रसिदले नयाँ संरचना तयार नहुँदै कामदार मलेसिया पठाएको स्पष्ट हुन्छ । ती कामदारको स्वास्थ्य परीक्षण, सेक्युरिटी क्लियरेन्सलगायतका कार्यसमेत सरकार स्वयंले कारबाही गरेका संस्थाहरूबाटै गराइएको छ । कलिङ भिसा आइसकेपछि दूतावासले कारबाहीमा परेका भिएलएन, आइएससी र जिएसजीजस्ता संस्थाहरूबाटै प्रक्रिया पूरा गर्न लगाई २३ जना कामदारको भिसा स्ट्याम्पिङ १० मंसिरदेखि ४ माघको गरेको थियो । 

 

ओटिए टनेल क्वाड एसडिएन बिएचडी कम्पनीले विभागका महानिर्देशकलाई सम्बोधन गर्दै १ माघमा मलेसियाको नेपालस्थित राजदूतावासबाट सोझै भिसा प्राप्त गरेका २० जना र सोको प्रक्रियामा रहेका थप १० जना कामदारको श्रम स्वीकृति उपलब्ध गराइदिन लिखित रूपमा आग्रह गरेको थियो । विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले सोही दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सहमतिका लागि पठाए । मन्त्रालयले भोलिपल्ट नै ‘सेवाका सर्त पूर्ण रूपमा पालना हुने गरी’ श्रम स्वीकृति प्रदान गर्ने सहमति दिएको थियो ।

 

‘कतिपय अवस्थामा गुड फेथ (असल नियत)मा रहेर कूटनीतिक व्यवहार गर्नुपर्ने हुन्छ,’ महानिर्देशक चापागाईंले भने, ‘श्रम समझदारीअघिको कलिङ भिसाको सन्दर्भचाहिँ संस्थागत रूपमा वैदेशिक रोजगारीमा जाने कामदारहरूको हकमा मात्रै हो ।’ 

 

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024