पोखरा र भैरहवा विमानस्थलमा यात्रु बढाउन म्यानपावर कम्पनीलाई जोड्ने सरकारको तयारी

25 September, 2026

Suraj Kunwar

पर्यटनमन्त्री खडकराज पौडेलले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट वैदेशिक रोजगारीमा जाने यात्रुको संख्या बढाउन म्यानपावर कम्पनीलाई समेत केन्द्रित गर्ने गरी नीतिगत पहल भइरहेको बताएका छन्।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबारदेखि फ्लाई दुबईको दैनिक नियमित उडान सुरु भएको सन्दर्भमा जारी सन्देशमा मन्त्री पौडेलले दुई विमानस्थल सञ्चालनका लागि सरकारले विभिन्न सहुलियत र नीतिगत तयारी अघि बढाएको बताएका हुन्।

‘यी दुईवटा विमानस्थलमा आउने रेगुलर फ्लाइटहरूलाई हामीले विभिन्न प्रकारका इनिसिएटिभ र छुटहरू दिएका छौँ,’ मन्त्री पौडेलले भनेका छन्, ‘ल्यान्डिङ, पार्किङ, नेभिगेसन शुल्कमा धेरै छुट, पूर्ण छुट दिएका छौँ भने ग्राउन्ड ह्यान्डलिङमा पनि ५० प्रतिशतसम्म छुट दिएका छौँ ।’

उनका अनुसार पोखरा र भैरहवा विमानस्थलमा विगतमा पर्याप्त यात्रु नपाउँदा केही वायुसेवाले उडान रद्द गर्नुपरेको तथा नयाँ उडानको सम्भावना नदेखिएको अनुभवलाई ध्यानमा राखेर विमानस्थलको व्यावसायिक सम्भावना बढाउन छुट्टै प्रवर्द्धन समिति गठन गरिएको छ।

उक्त समितिले विभिन्न वायुसेवा कम्पनीसँग छलफल गर्ने, दुई विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको वातावरण बनाउने तथा सरकारका विभिन्न तह र विदेशी नियोगसँग समन्वय गर्ने मन्त्रीले बताएका छन्।

यात्रु संख्या बढाउन सरकारले वैदेशिक रोजगारीमा जाने यात्रुलाई समेत लक्षित गरेको छ। त्यसका लागि श्रम स्वीकृति अनलाइन गर्ने, प्रहरी रिपोर्ट अनलाइन उपलब्ध गराउने र मेडिकल परीक्षणका लागि काठमाडौं आउनुपर्ने बाध्यता अन्त्य गरी स्थानीय अस्पतालबाटै मेडिकल परीक्षण गर्न सकिने व्यवस्था गर्ने तयारी भइरहेको पौडेलले बताएका छन्।

म्यानपावर कम्पनीलाई पनि दुई विमानस्थलको प्रवर्द्धनसँग जोड्ने गरी नीतिगत छलफल भइरहेको उनले उल्लेख गरेका छन्।

‘श्रम बजारको सबैभन्दा ठूलो हिस्सा ओगट्ने यात्रुहरूलाई प्रभावित गर्ने भनेको म्यानपावर कम्पनीहरूले पनि हो,’ सन्देशमा मन्त्री पौडेलले भनेका छन्, ‘म्यानपावर कम्पनीहरू काठमाडौंमा मात्र केन्द्रित हुँदा उनीहरूले नै टिकट काटिदिने र कम्पनीहरू खोजिदिने भएकाले उनीहरूलाई एक प्रकारको ट्राभल एजेन्सीका रूपमा काम गरिरहेको अनुभवका आधारमा यी दुईवटा विमानस्थलमा केन्द्रित भएर म्यानपावर एजेन्सीहरूको कन्सेन्ट्रेसन बढाउने विषयमा नीतिगत छलफल गरेका छौँ।’

बुधबारदेखि फ्लाई दुबईले पोखरा–दुबई–पोखरा दैनिक नियमित उडान सुरु गरेको हो। पहिलो उडानमा ११३ यात्रु पोखरा आएका थिए भने १५३ यात्रु लिएर जहाज दुबई फर्किएको पोखरा विमानस्थलले जनाएको छ। दैनिक उडानका लागि विमान पोखरा साँझ ६:१५ बजे अवतरण गर्ने र ७:१५ बजे दुबईका लागि प्रस्थान गर्ने तालिका छ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024