‘पैसा टिप्न गएजस्तो भनिन्छ, तर त्यति सजिलो छैन युरोप’

1 October, 2026

Nirmala Ghimire

पछिल्ला वर्षहरूमा युरोप धेरै नेपाली युवाहरूका लागि सपनाको गन्तव्य बनिरहेको छ। सुरक्षित भविष्यको खोजीमा युरोप छिर्ने युवाहरूको लामो ताँती छ।

त्यस्तै ताँतीमा मिसिएर पुगेका एक हुन् पाँचथरका साजन केरूङ लिम्बू।

सन् २०२४ मा गए उनी दुई वर्षदेखि युरोपेली मुलुक रोमानियामा पिज्जा बनाउने काम गर्छन्।

‘पिज्जा बनाउने काममा म्यानपावरले नेरू एक लाखदेखि दुई लाखसम्म, जति पनि कमाइ हुन सक्छ भनेको थियो। कमाइ ठिकै पनि छ,’ उनले भने।

नेपालमा छँदा जुन काम भनिएको थियो, आफूले त्यही काम पाएको पनि उनले बताए।

रोमानियामा इटालियन पिज्जा चल्तीमा छ। साजनले बनाउने पनि इटालियन पिज्जा नै हो।

उनले नेपाल छँदा नै पिज्जा बनाउने तालिम लिएका थिए।

‘यहाँ कामै पिज्जा बनाउने हो भनेपछि १५ दिनको तालिम लिएको थिएँ। तर नेपालमा सिके पनि यहाँको तरिका फरक हुँदो रहेछ। पिज्जामा के के राख्ने भन्ने पनि फरक पर्ने रहेछ। यहाँ पनि काम गर्दै सिकियो। अहिले त सजिलो छ,’ साजनले भने।

उनको काम महिनामा १५ दिन हुन्छ। १५ दिन बिदा हुन्छ। बिदाको समय आराम र घुमफिरमा कटाउँछन्।

१५ दिन मात्रै काम गर्दा पनि कमाइ महिनामा एक लाख रूपैयाँभन्दा धेरै हुने उनी बताउँछन्। उनलाई बस्ने र खाने खर्च पनि कम्पनीले उपलब्ध गराएको छ।

दुई दिन काम, त्यसपछि दुई दिन बिदा चलिरहन्छ। तर बिदामा अन्यत्र (वर्क पर्मिट नलिएको ठाउँमा) काम गर्न त्यहाँको सरकारले वैधानिकता नदिएको उनले बताए।

साजनका अनुसार त्यहाँ होटल, रेस्टुरेन्ट लगायत क्षेत्रमा काम गर्नेहरूको कमाइ ठिकै छ। कतिपय क्षेत्रमा काम गर्नेहरूको कमाइ भने निकै कम हुने उनले बताए।

‘खान, बस्न खर्चिलो छ। त्यसमाथि कतिपयको त महिनाभरि काम गर्दा ८० हजार रूपैयाँ जस्तो मात्रै कमाइ हुने सुनाउँछन्,’ उनले भने, ‘एजेन्सी र दलालहरूले चाहिँ दुई–तीन लाख कमाइ हुन्छ भनेर लोभ देखाएर ९–१० लाख रूपैयाँ लिएका हुँदा रहेछन्। म चाहिँ ७ लाख रूपैयाँ बुझाएर आएको हुँ।’

दलालहरूलाई १० लाखसम्म बुझाएर अलपत्र अवस्थामा रहेकाहरू पनि धेरै भेटिन्छन्। अझ, रोमानियामा काम गरिरहेकालाई युरोपका अन्य सेन्जेन मुलुकहरूमा आकर्षक काम र कमाइको लोभ देखाएर ठगी गर्ने प्रवृत्तिसमेत मौलाएको उनले बताए।

रोमानियाबाट अवैध रूपमा स्पेन, इटाली, पोल्यान्ड लगायत मुलुक जानेहरू छन्। कतिले त अरू मुलुक पुर्‍याइदिन्छु, त्यहाँ अवसर नै अवसर छ भन्ने लोभ देखाएर पैसा खाइदिएका छन्।

तर त्यसरी अवैधानिक हैसियतमा छिर्दा अन्य मुलुकमा पनि भनेजस्तो काम नपाउने, बस्ने टुंगो नहुने, अझ बिरामी पर्दा समस्या हुने गरेका घटना आफूले सुनिरहेको उनले बताए।

अहिले रोमानिया सरकारले विदेशी कामदारका लागि वर्क पर्मिट र भिसा प्रक्रियामा कडाइ गरेको छ। यसले गर्दा वर्क पर्मिट पाउन निकै कठिन रहेको साजन बताउँछन्।

साजनले सुरूमा जाँदा तीन महिनाको भिसा पाएका थिए। पछि कम्पनीले दुई वर्षको भिसाका लागि पहल गरिदिएको थियो।

पछिल्लो समय त्यहाँको कानुनी झमेल र कामको अनिश्चितताले उनी तनावमा छन्।

‘खासमा एउटा कम्पनीमा दुई वर्ष काम गरेपछि काम परिवर्तन गर्न मिल्छ। जसका लागि कम्पनीले रिलिज पेपर पनि दिन्छ। रिलिज पेपर पाएको तीन महिनाभित्र अर्को काम पाएन भने यहाँका लागि अवैध भइन्छ। अहिले मेरो अवस्था त्यस्तै छ, मैले रिलिज पेपर लिएको छु तर वर्क पर्मिट पाएको छैन। समस्यामा छु,’ उनले भने।

अहिले काम गरिरहेको कम्पनी बन्द हुन लागेका कारण आफूले यस्तो समस्या झेल्नुपरेको उनले बताए।

उनले यो दसैंमा घर आउने सोचेका थिए। बिदा पनि पाइसकेका थिए। दुई वर्ष परदेशमा निरन्तर काम गर्दा न्यास्रिएका उनी बिदा मनाएर फेरि त्यही काममा फर्किने योजनामा थिए।

‘परदेश भनेकै यस्तै हुने रहेछ। नेपाल हुनेलाई कहिले विदेश जाऊँ जस्तो लाग्ने, विदेश हुनेलाई कहिले नेपाल जाऊँ जस्तो लाग्ने रहेछ,’ उनले भने।

अहिले आफूले जस्तो समस्या धेरैले झेलिरहेको उनले बताए। यो समस्याका कारण पनि रोमानिया छाडेर अन्य मुलुक जानेहरू धेरै छन्। तर अरू देश पुगेर पनि भाषा नजान्दा, सीप नहुँदा र काम नपाउँदा धेरै समस्यामा परिरहेका छन्।

‘म त्यसरी अवैध रूपमा अरू देश जान्नँ भनेर बसेको छु,’ उनले भने, ‘बरू अब हुँदै भएन भने नेपालै फर्किन्छु सोचेको छु।’

रोमानिया जानुअघि साजन गाउँमै सानोतिनो व्यवसाय गर्थे। खर्च ठिकै चलिरहेको थियो। साथीहरूले रोमानियामा राम्रो कमाइ हुने सुनाएकाले गएका हुन्।

‘विदेशमा पैसाको रूख हुन्छ, पुगेर टिपेर ल्याउने हो जस्तो गरेर सजिलो सुनाइन्छ। युरोप सुनेजस्तो सजिलो चाहिँ छैन। सीप र भाषा सिकेर आउँदा कमाइ राम्रै छ,’ साजनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024