पुनः श्रम स्वीकृतिमा ‘विभेद’

18 September, 2019

होम कार्की

ओखलढुंगाका २९ वर्षीय इन्द्रबहादुर कार्की रोयल गार्ड अफ ओमनमा काम गर्छन् । यसले शाही परिवारसँगै विशेष निकायलाई सुरक्षा दिने काम गर्छ । कार्की राजपरिवारकै एक सदस्यको घरमा ड्राइभर छन् । उनलाई सेवासुविधा रोयल गार्ड अफ ओमनले नै दिन्छ । न्यूनतम तलब झन्डै ४२ हजार रुपैयाँ छ । बिदामा घर आएका कार्की ओमन फर्किन पाएका छैनन् । उनको परिचयपत्रमा पेसा घरेलु कामदार लेखिएकैले वैदेशिक रोजगार कार्यालयले पुनः श्रमस्वीकृति रोकिदिएको हो । ओमनस्थित नेपाली दूतावासले उनी घरेलु कामदार नभएको आशयको पत्र दिएपछि मात्र पुनः श्रमस्वीकृति दिन सकिने कार्यालयले जनाएको छ ।

श्रम मन्त्रालयले २०७५ जेठ १ गते ओमनको रोयल कोर्ट अफेयर्स, रोयल कोर्ट अफ दिवान, रोयल गार्ड अफ दिवान र मस्कट नगरपालिकामा काम गर्ने नेपालीले घरेलु कामदारसम्बन्धी निर्देशिकाको अनुसूची ८ बमोजिम दूतावासबाट सिफारिस लिनु नपर्ने निर्णय गरेको थियो । दूतावासले नै ती सरकारी निकायमा कार्यरतहरू घरेलु कामदारभित्र नपर्ने भन्दै सरकारलाई विशेष निर्णय गर्न पहलकदमी गरेको थियो । कार्कीले मस्कटस्थित नेपाली दूतावासलाई सिफारिस दिन अनुरोध पनि गरे । तर दूतावास नमिल्ने भन्दै पन्छिएको छ । घरेलु कामदारलाई पुनः श्रमस्वीकृति दिने पछिल्लो सरकारी निर्णयले अप्ठ्यारो पारेको दूतावासको बुझाइ छ । ‘हामीलाई पहिले श्रमस्वीकृति लिँदा जुन रोजगारदातासँग काम गर्न आएको हो, फेरि त्यसैकहाँ आए मात्रै सिफारीस गर्ने अधिकार दिइएको छ,’ ओमनका लागि नेपाली राजदूत शर्मिला पराजुली ढकालले भनिन् ।

संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले श्रम मन्त्रालयलाई खाडीमा कार्यरत सबै घरेलु कामदारलाई पुनः श्रमस्वीकृति नदिन निर्देशन गरेको छ । ‘श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा गएका घरेलु कामदारलाई मात्र घर फर्की आउन र घर आई सोही ठाउँमा श्रमस्वीकृति लिई काममा फर्केर जान पाउने गरी दिएको निर्देशनका आधारमा अन्य घरेलु कामदारसमेतलाई श्रमस्वीकृति प्रदान गरी पठाउने कार्यमा कडाइसाथ नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिने निर्णय भयो,’ भदौ ४ गते बसेको समिति बैठकको निर्णय छ । यो निर्णयले सबै घरेलु कामदारलाई सम्बोधन गरेको छैन । खाडीमा मात्रै पुरुष र महिला गरी कम्तीमा १ लाख ३९ हजार घरेलु कामदार छन् । कतारमा ३० हजार, साउदी अरबमा ३० हजार, कुवेतमा ४० हजार, यूएईमा १५ हजार, ओमानमा १० हजार, बहराइनमा १० हजार र लेबनानमा ४ हजार नेपाली घरेलु कामदार छन् । कतार र साउदीमा सबैभन्दा बढी ऊँट रेस, मजरा (खेतीकिसानी), हाउस ड्राइभरका रूपमा कार्यरत छन् ।

४५ हजारजतिले मात्रै घरेलु कामदारमा जाने श्रमस्वीकृति लिएको मन्त्रालयको भनाइ छ । फेरि खाडीमा इमानदार रोजगारदाताले अर्को रोजगारदाताको घरमा काम गर्न अनुमति दिए ‘स्पोन्सर’ परिवर्तन गर्न पाउने छुट छ । समितिको निर्णयले स्पोन्सर परिवर्तन गरेका कामदारलाई पनि पुनः श्रमस्वीकृति रोकेको छ । संसदीय टोलीको अध्ययन प्रतिवेदन पेस गर्ने समयसम्मका लागि अस्थायी रूपमा पुनः श्रमस्वीकृति दिन निर्देशन दिइएको समिति सभापति विमल श्रीवास्तवले बताए । ‘साउदी अरब, कतार, कुवेत र संयुक्त अरब इमिरेट्स (यूएई) को स्थलगत अध्ययन भ्रमण गरी समितिमा राय सुझावसहितको प्रतिवेदनका आधारमा ठोस निर्णय गर्न टोली पठाइने भएको छ,’ उनले भने, ‘त्यसपछि अर्को निर्णय आउनेछ ।’

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026