पक्राउ पुर्जी जारी भएका म्यानपावर व्यवसायी ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोकिने

28 October, 2026

Hom Karki

वैदेशिक रोजगार विभागले पक्राउ पुर्जी जारी गरेका मलेसियाद्वारा छनोट गरिएका २५ वटा म्यानपावर कम्पनीका सञ्चालकसहितका व्यवसायीलाई ३५ दिनभित्र सम्पर्कमा नआए बैंकिङ कारोबार र यात्रा अनुमति रोक्ने सूचना सार्वजनिक गरेको छ ।

विभागले वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई २५ वटा म्यानपावर कम्पनीका सञ्चालकलाई पक्राउ पुर्जी जारी गरेको थियो । त्यसमध्ये एक जना व्यवसायी रविन गुरुङ पक्राउ परेका छन् ।

‘वैदेशिक रोजगारसम्बन्धी मुद्दामा वैदेशिक रोजगार न्यायाधिकरणबाट अनुमति लिई यस विभागबाट यसअघि विभिन्न मितिमा पक्राउ पुर्जी जारी भई हालसम्म सम्पर्कमा नआएका व्यक्तिहरू यो सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र यस विभाग वा नेपाल प्रहरीको सम्पर्कमा आउनुहुन यो सूचना प्रकाशित गरिएको छ,’ विभागद्वारा सोमबार जारी विज्ञप्तिमा भनिएको छ, ‘पक्राउ पुर्जी जारी भई फरार रहेका व्यक्तिहरू तोकिएको मितिभित्र उपस्थित नभएमा वैदेशिक रोजगार ऐन, २०६४ लगायतका प्रचलित कानुनबमोजिम निजहरूको बैंकिङ कारोबार रहेको खाता तथा यात्रा अनुमति रोक्का राख्नेलगायतका आवश्यक अन्य कानुनी कारबाहीको प्रक्रिया अघि बढाइने व्यहोरा समेत यसै सूचनामार्फत सम्बन्धित सबैलाई सूचित गरिन्छ ।’

गत भदौको पहिलो साता मलेसियाले नेपालसहित १० वटा स्रोत देशबाट श्रमिक भर्ना गर्न म्यानपावर कम्पनी छनोट गरेको थियो । नेपालबाट २५ वटा म्यानपावर कम्पनीलाई ‘प्रिन्सिपल एजेन्सी’ र २५० वटा म्यानपावर कम्पनीलाई ‘सपोर्ट एजेन्सी’ का रूपमा छनोट गरेको हो ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले ‘कसरी २५ वटा म्यानपावरलाई मात्रै छनोट गरियो’ भन्ने विषयमा अनुसन्धान गरी कारबाही गर्न विभागलाई निर्देशन दिएको थियो । विभागले पहिलो चरणमा प्रिन्सिपल एजेन्सीका सञ्चालकसँग बयान लिन पक्राउ पुर्जी जारी गरेको हो ।

यसअघि ती म्यानपावर कम्पनीहरूले विभागसमक्ष ६ बुँदे स्पष्टीकरण दिएका थिए । विभागले ती कम्पनीहरूलाई ‘के, कति कारण र उद्देश्यले मलेसियाको एफडब्लूसीएमएस प्रणालीमा सूचीकृत भएको हो ? सूचीकरण हुने प्रक्रिया के थियो ? छनोटको मापदण्ड के रहेको थियो ? सूचीकरण हुने मूल्यांकनको आधार र विधि केकस्ता थिए ? उक्त प्रणालीमा संस्थाको नाम सूचीकरण हुन कुनकुन निकायबाट सिफारिस र स्वीकृति लिनुपर्ने थियो ? सूचीकृत हुने कार्यले नेपालका वैदेशिक रोजगार व्यवसायीहरूबीचको प्रतिस्पर्धालाई सीमित गर्छ वा गर्दैन ? र सूचीकृत हुने कार्यमा गैरकानुनी आर्थिक क्रियाकलाप भए/नभएको तथा यस कार्यबाट वैदेशिक रोजगार ऐन, २०६४, वैदेशिक रोजगार नियमावली, २०६४ तथा अन्य प्रचलित कानुनको बर्खिलाप हुन्छ वा हुँदैन ?’ भन्दै स्पष्टीकरण सोधेको थियो ।

विभागले कारबाही प्रक्रिया पूरा नभएसम्म ती म्यानपावर कम्पनीका नाममा जारी हुने पूर्वश्रमस्वीकृतिमा रोक लगाइसकेको छ ।

छनोट भएका म्यानपावर सञ्चालकहरूले भने आफूहरू अनुसन्धानमा सबै प्रकारको सहयोग गर्न तयार रहेको जनाएका छन् । ‘श्रम मन्त्रालयले एक पटक मात्रै हामीसँग छलफल गरेको छ । छलफल गरेअनुसार हामीले मलेसियाको फरेन वर्कर सेन्ट्रलाइज्ड म्यानेजमेन्ट सिस्टम (एफडब्लूसीएमएस) बाट कूटनीतिक माध्यमबाट हटाइदिनु भन्दै लिखित रूपमा निवेदन पनि दिएका थियौँ,’ एक सञ्चालकले कान्तिपुरसँग भने, ‘विभागले मागेका हाम्रो कम्पनीको कारोबारसँग सम्बन्धित सबै कागजात बुझाइसकेका छौँ । छानबिनमा सहयोग गर्न तयार छौँ ।’

गत भदौ ६ गते मलेसियाको मानव संसाधन मन्त्रालय (केसुमा) ले विदेशी श्रमिक भर्नासम्बन्धी नयाँ प्रक्रिया कार्यान्वयनमा ल्याएको भन्दै विज्ञप्ति जारी गरेको थियो । जसअनुसार एफडब्लूसीएमएसमा सूचीकृत भएका म्यानपावर कम्पनीबाट मात्रै रोजगारदाताले मलेसियामा श्रमिक ल्याउन पाउने उल्लेख थियो । एफडब्लूसीएमएसमा नेपालका २५, फिलिपिन्सका ९९, श्रीलंकाका ४०, भियतनामका ४०, बंगलादेशका २५, कम्बोडियाका २३, भारतका १०, म्यानमारका १०, पाकिस्तानका १० र थाइल्यान्डको एउटा म्यानपावर कम्पनी सूचीकृत गरिएको उल्लेख छ ।

नेपालले यो छनोटप्रति असहमति जनाउँदै आएको छ । यसबारे नेपाल र मलेसियाबीच प्रधानमन्त्री र श्रममन्त्रीको तहमा छलफल भए पनि समाधान भएको छैन । श्रममन्त्रीस्तरमा भएको टेलिफोन वार्तामा श्रममन्त्री यादवले समकक्षीसमक्ष नेपालका इजाजतप्राप्त म्यानपावर कम्पनीलाई एफडब्लूसीएमएसमा समावेश गर्न आग्रह गर्नुका साथै म्यानपावर छनोटको मापदण्डमाथि पुनर्विचार गर्न अनुरोध गरेका थिए । तर, मलेसियाले २५ वटा म्यानपावरबाट मात्रै श्रमिक लिने भन्दै कूटनीतिक नोट पठाएको छ ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026