नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्छ : मन्त्री भण्डारी

4 July, 2025

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले विदेशी भूमिमा श्रम गर्ने नेपाली श्रमिकको स्वामित्व राज्यले लिनुपर्ने बताएका छन्।

बिहीबार ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले जुनसुकै माध्यमबाट विदेशी भूमिमा पुगेर काम गरिरहेका भए पनि ती नेपाली नागरिकको स्वामित्व राज्यले लिनुपर्ने बताए।

‘नेपाली नागरिक विभिन्न माध्यमबाट कामका लागि विदेशी भूमिमा पुगेका छन्, कतिपय ठगिएर पुगेका छन, कतिपय अनौपचारिक माध्यमबाट गएर लुकेर लामो समयदेखि कागजातविहीन भएर बसेका छन्, तिनीहरू सबैलाई कि त राज्यले नेपाली नै होइन भन्नुपर्यो, होइन भने स्वामित्व लिनुपर्छ,’ उनले भने।

मन्त्री भण्डारीले नेपालको श्रम तथा रोजगारी क्षेत्रमा देखिएका समाधानका लागि सबै पक्ष इमानदार भएर लाग्नुको विकल्प नहरेको जिकिर गर्दै यसलाई व्यवस्थापन गर्न ढिलासुस्ती गर्न नहुनेमा जोड दिए।

‘गाउँ रित्तो भयो, खाली भयो, गाउँमा बस्ने अवस्था भएन भनेर मात्रै हुँदैन, जनशक्ति पलायनको क्रम रोखिएन, यी विषयमा गम्भीरतापूर्वक समीक्षा हुनुपर्छ, गाउँबाट मान्छे मात्रै पलायन भएका छैनन्, गाउँमा भएकाे सानोतिनो पुँजी पनि पलायन हुँदा झन् रोजगारीको अभाव सिर्जना भएको हो,’ उनले भने।

मन्त्री भण्डारीले वैदेशिक रोजगारीमा जानेलाई श्रम स्वीकृति दिनुभन्दा श्रम अनुमति दिनुपर्ने बताए। ‘श्रम स्वीकृति त गन्तव्य देशले जारी गर्ने हो, हामीले त काम गर्न जाने श्रमिकलाई श्रम अनुमति उपलब्ध गराउनुपर्छ। काम गर्न जाने कामदार तयार छन्, कामका लागि लैजाने मुलुक तयार छन्। अनि हामीले रोकेर रोकिन्छ ?’ उनले भने।

उनले अहिले वैदेशिक रोजगारका नाममा एक नेपालीले अर्को नेपालीलाई ठग्ने गरेको घटनाप्रति चिन्ता व्यक्त गर्दै ठग, बिचौलिया र एजेन्टलाई तह लगाउन एकद्वार प्रणालीमार्फत सेवा प्रदान गर्न मन्त्रालयले मेहनत गरिरहेको बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024