घरमा आधारित ‘केयरगिभिङ’ र कृषि क्षेत्रमा नेपाली कामदार भित्र्याउन इजरायलले नेपालको श्रम मन्त्रालयसँग थप दुई प्रोटोकलमा वार्ता गरिरहेको नेपालका लागि इजरायली राजदूत श्मुलिक एरी बासले बताएका छन् । उनका अनुसार यी प्रोटोकल पारित भएमा नेपाली कामदारले खाडी मुलुकको तुलनामा निकै धेरै आम्दानी गर्न पाउनेछन् ।
बिहीबार पोखरामा पत्रकारसँगको भेटमा राजदूत बासले नेपाली कामदारले ६३ महिनामा १ लाख ३० हजार डलर (२ करोड रुपैयाँ) कमाउने यो ‘प्रोटोकल’मा हस्ताक्षर गर्न नेपाल सरकार हिच्किचाइरहेको बताए । उनका अनुसार इजरायली कानुनमा यस्ता पेसामा काम गर्ने कामदारले पाँच वर्ष तीन महिना अर्थात् ६३ महिनासम्म काम गर्न पाउँछन्, जसमा न्यूनतम पारिश्रमिक मासिक करिब दुई हजार एक सय डलर तोकिएको छ ।
सेवा शुल्कबापत कामदारले एकपल्ट मात्र एक हजार पाँच सय डलर तिर्नुपर्ने व्यवस्था छ । ‘६३ महिनाको तलब जोड्दा एक लाख ३२ हजार डलर हुन्छ, त्यसमा सेवा शुल्क घटाउँदा पनि एक लाख ३० हजार डलरभन्दा बढी हातमा पर्छ,’ राजदूत बासले भने । उनका अनुसार यो रकम खाडी मुलुकमा उही अवधिमा कमाउन सकिने अनुमानित २५ हजार डलरको तुलनामा पाँच गुणाभन्दा बढी हो ।
सेवा शुल्क सम्बन्धमा नेपाल सरकार अलमलमा रहेको उल्लेख गर्दै उनले भने, ‘यो रकम मानव बेचबिखन वा दलाल कम्पनीलाई तिर्ने होइन, इजरायल सरकारले टेन्डरमार्फत तोकेको कम्पनीलाई स्वास्थ्य बिमालगायतका सेवाबापत तिरिने भएकाले यसमा शंका गर्नुपर्दैन ।’
इजरायल सरकारले कामदारसँग अग्रिम १ हजार ५ सय डलर लिने नियमसँग नयाँ सरकार हच्किएको उनको अनुमान छ । ‘कमाइको तुलनामा यो रकम धेरै होइन तर नेपाल सरकारले हतार नगरी सोच्दै गरेको देखिन्छ,’ उनले भने ।
सरकारले किस्ताबन्दीमा भुक्तानी गर्न पाइने व्यवस्था खोजिरहेको भए पनि इजरायली संसद्ले सन् २००१ मै आगमनको तीन दिनभित्रै विद्युतीय माध्यमबाट भुक्तानी गर्नुपर्ने कानुन बनाइसकेको उनले स्पष्ट पारे ।
हाल इजरायलमा रहेका वृद्धवृद्धा र अपांगता भएको व्यक्तिको स्याहार गर्ने संस्थामा नेपालबाट ‘केयर गिभर’ लैजाने एउटा प्रोटोकल सक्रिय रहेको छ । त्यसअन्तर्गत लैजाने इजरायली संस्थाको संख्या सीमित हुँदा थोरै नेपाली कामदार इजरायल पुग्छन् । अब भने गृह–आधारित (इजरायली नागरिकको घरमै गएर गरिने) स्याहारमा माग निकै धेरै रहेको उनले बताए ।
‘बढ्नेछन् इजरायली पर्यटक’
पर्यटन प्रवर्द्धनका सन्दर्भमा राजदूत बासले फ्लाई दुबई र एमिरेट्सको सहयोगमा दुबई हुँदै पोखरासम्म जोड्ने उडान व्यवस्थाबारे छलफल भइरहेको जानकारी दिए । इजरायल र संयुक्त अरब इमिरेट्सबीच साप्ताहिक ८४ उडान सञ्चालनमा रहेकाले त्यसैको सदुपयोग गर्दै पर्यटकलाई सोझै पोखरासम्म ल्याउन सकिने उनको भनाइ छ । यसबारेमा उनले बुधबार गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँगको भेटमा समेत छलफल गरेका थिए ।
सन् २०२५ मा नेपाल भ्रमण गर्ने इजरायली पर्यटकको संख्या ११ हजारभन्दा बढी पुगेको र यो अघिल्लो वर्षको तुलनामा उल्लेख्य वृद्धि भएको उनले बताए । इजरायलले इरानविरुद्ध सैन्य कारबाही गरेको र नेपालमा पनि जेन–जी आन्दोलनका क्रममा केही समय उडान अवरुद्ध भएको जस्ता घटनाका बाबजुद पर्यटक वृद्धि भएको उल्लेख गर्दै आगामी वर्ष संख्या दोब्बर हुने विश्वास उनले व्यक्त गरे । अप्रिल–जुन र सेप्टेम्बर–नोभेम्बरलाई इजरायली पर्यटकका लागि मुख्य याममा गनिने र यो अवधि दसैं–तिहारसँग मिल्दो भएकाले इजरायलमा कार्यरत नेपाली कामदार पनि यसै बेला बिदामा फर्किने भएकाले दुवैतर्फको आवतजावत एकसाथ बढाउन सकिने उनको तर्क छ ।
नगर व्यवस्थापनसम्बन्धी अनुभव आदानप्रदानका लागि सञ्चालित ‘म्युनिएक्स्पो’ कार्यक्रमअन्तर्गत यसपटक पोखराका मेयर, काठमाडौंका कार्यवाहक मेयर र जनकपुरधाम उपमहानगरपालिका मेयरलाई इजरायल भ्रमणमा लगिएको उनले बताए । ‘यो इजरायलले जे गर्यो त्यही सिको गर्न होइन, आ–आफ्नो सहरका लागि उपयुक्त कुरा छानेर अपनाउने अवसर हो,’ उनले भने ।
मशाभ तालिम र ‘सिक्दै कमाउँदै’ कार्यक्रम
राजदूतका अनुसार नेपाल–इजरायल कूटनीतिक सम्बन्धभन्दा पनि पुरानो ‘मशाभ’ सहायता कार्यक्रममार्फत हालसम्म साढे तीन हजारभन्दा बढी नेपालीले शिक्षा, कृषि, मौरीपालन, माछापालन, बागवानी तथा भण्डारण व्यवस्थापनजस्ता विषयमा तालिम लिइसकेका छन् । आगामी नोभेम्बरमा साइबर तथा सूचना प्रविधिसम्बन्धी नयाँ तालिम सुरु हुने र यसका लागि इच्छुक संस्थाहरूले सम्पर्क गर्न सक्ने उनले बताए ।
सन् २००१ देखि सञ्चालित ‘लर्न एन्ड अर्न’ (सिक्दै कमाउँदै) कार्यक्रमअन्तर्गत कृषितर्फको तेस्रो वर्षमा अध्ययनरत नेपाली विद्यार्थीले इजरायलका कृषि प्रतिष्ठानमा ११ महिने व्यावहारिक तालिम लिने गरेको र हालसम्म पाँच हजारभन्दा बढी विद्यार्थी यसअन्तर्गत फर्किसकेको उनले जनाए । कैलालीदेखि चितवन, धादिङ हुँदै मकवानपुरको चितलाङसम्मका सफल उदाहरण दिँदै उनले चितलाङको सहकारीमा आबद्ध एक हजार एक सय परिवारले सन् २०१४–१६ मा इजरायल गएका दुई विद्यार्थीबाट सिकेको प्रविधि अपनाइरहेको बताए । ‘दुईजनाले सिकेको ज्ञान एक हजार एक सय परिवारका लागि पर्याप्त भयो,’ उनले उदाहरण सुनाए ।
उनी बुधबार पोखरा पर्यटन परिषद् र गण्डकी प्रदेश चेम्बर अफ कमर्सले आयोजना गरेको ‘नेपाल–इजरायल : पर्यटन, व्यापार र आर्थिक सहकार्य’ विषयक अन्तरक्रियामा पनि सहभागी भएका थिए ।