नेपाली युवा विदेशमा, विदेशी नेपालमा

7 May, 2026

Sabita Khadka

नेपालमा रोजगारी अभावका कुरा बारम्बार आइरहँदा त्यसको ठिक विपरीत एउटा रोचक यथार्थ पनि देखिने गरेको छ। विदेशी श्रमिक पनि काम गर्न नेपाल आएसँगै यहाँ कमाएको रेमिटेन्स बिदेसिने गरेको छ।

देशभित्र पर्याप्त रोजगारी अवसर नहुँदा हरेक वर्ष लाखौंलाख नेपाली युवा वैदेशिक रोजगारीको खोजीमा विभिन्न देशमा बाहिरिने गरेका छन्। दैनिक रूपमा करिब दुई हजार पाँच सय नेपाली श्रम स्वीकृति लिएर बिदेसिएका छन् तर यही समयमा नेपाल आफैं पनि विदेशी श्रमिकका लागि काम गर्ने गन्तव्य बन्दै आएको छ।

श्रम तथा व्यवसायजन्य सुरक्षा विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्ष २०८२/८३ को (साउनदेखि वैशाख २२ गते) झन्डै १० महिनामा एक हजार ६ सय २५ जना विदेशीले नेपालमा श्रम स्वीकृति लिएर काम गरिरहेका छन्।

विभिन्न क्षेत्रमा दक्ष जनशक्तिको माग बढेसँगै विदेशी नागरिकले श्रम स्वीकृति लिएर नेपालमै वैध रूपमा रोजगारी गर्दै आएका छन्। निर्माण, प्रविधि, आतिथ्य सेवालगायतका क्षेत्रमा उनीहरूको संलग्नता उल्लेख्य देखिन्छ। यसले नेपालमा अवसर नै छैन भन्ने धारणा केही हदसम्म चुनौती दिइरहेको छ। नेपालमा काम गर्न आएका विदेशी श्रमिकले कमाएको आम्दानी आफ्नो देश फिर्ता लैजाने गरेका छन्।

नेपालमा श्रम स्वीकृति लिएर काम गर्ने विदेशी कामदारमध्ये सबैभन्दा बढी चिनियाँ नागरिक रहेका छन् भने दोस्रोमा अमेरिकाका श्रमिक नेपालमा काम गर्न आएको विभागको तथ्यांकले देखाएको छ। चालु आर्थिक वर्ष २०८२/८३ को साउनदेखि वैशाख २२ सम्ममा एक हजार आठजना चिनियाँ नागरिकले श्रम स्वीकृति लिएर नेपालमा काम गरिरहेका छन् भने ८० भन्दा बढी अमेरिकी नागरिक रहेको विभागले जनाएको छ।

वैदेशिक रोजगारीको खोजीमा नेपालका युवा वर्ग विभिन्न देश पुग्ने गर्छन्। प्रायः सबैलाई लाग्ने गर्छ, नेपालमा रोजगारका अवसर नहुँदा नेपाली युवा बिदेसिएका हुन् तर रोजगारको अवसर देखेरै थुप्रै विदेशी नेपालमा वैधानिक तथा अवैध दुवै तवरले काम गर्न आउने गरेका छन्। त्यसै पनि विदेशी कामदार नेपालका विभिन्न बजारमा यत्रतत्र देख्न सकिन्छ। नेपाली बजारमा विदेशी कामदार वैधानिक तवरले हेर्ने हो भने चिनियाँ नागरिक बढी छन्, तर अवैधरूपमा नेपालमा काम गर्ने विदेशी कामदार भारतीय बढी रहेको अधिकारी बताउँछन्।

विभागका निर्देशक मणिनाथ गोपका अनुसार नेपालको जलविद्युत्, सडक, विमानस्थलसहित ठूला पूर्वाधार निर्माणमा चिनियाँ नागरिकले श्रम स्वीकृति लिएका छन्। चिनियाँ कम्पनीहरूले ठेक्का लिएका स्थानमा चिनियाँ नागरिक कामदारका रूपमा आउने गर्छन्। नेपालमा काम गर्ने विदेशी कामदारमध्ये चिनियाँ नागरिकको पूरा अभिलेख राख्ने गरिएको छ तर भारतीय नागरिकको कुनै अभिलेख नभएको उनले नागरिकसँग बताए।

‘नेपालमा काम गर्ने विदेशी सबै कामदारको अभिलेख राख्ने हो भने भारतीय नागरिक पहिलो नम्बरमा पर्ने गर्छन्’, उनले भने, ‘तर भारतीय नागरिकको अभिलेख हामीसँग छैन। नेपालमा काम गर्ने चिनियाँ नागरिकको अभिलेख हामीसँग भएकाले उच्च दक्ष कामदार बढी छन्।’

चिनियाँ नागरिक नेपालमा काम गर्न आउँदा श्रम स्वीकृति लिने गरेका छन् भने भारतीय नागरिकले श्रम स्वीकृति लिनुपर्ने त्यस्तो कुनै प्रावधान नरहेको उनले नागरिकलाई बताए।

उनका अनुसार नेपालमा निर्माणाधीन खानेपानी, नहर तथा हाइड्रोपावर कम्पनी, इलेक्ट्रोनिक कम्पनी र एयरलाइन्सको रोजगारीमा धेरै विदेशी कामदार कार्यरत छन्। नेपालमा दक्ष श्रमिक नपाएको अवस्थामा मात्र विदेशी श्रमिक राख्न पाउने व्यवस्था श्रम ऐनमा छ, तर विदेशी कम्पनीले खोजेजस्तो दक्ष कामदार नेपाली नपाएको भन्दै उनीहरूले विदेशी कामदार ल्याउने गरेको उनले जानकारी दिए।

आव २०८१/८२ मा (नयाँ र नवीकरण) गरेर दुई हजार पाँच सय ५९ विदेशीले श्रम स्वीकृति लिएका छन्; जसमा आठ सय ९२ विदेशीले नयाँ श्रम स्वीकृति लिएको तथ्यांक विभागसँग छ। त्यस्तै आव २०८०/८१ मा दुई हजार सात सय सातजना, आव २०७९/८० मा दुई हजार नौ सय ९७ जना, आव २०७८/७९ मा दुई हजार चार सय ८५ जना र आव २०७७/७८ मा दुई हजार तीन सय ९० जना विदेशीले नेपालमा श्रम स्वीकृति लिएर काम गरेको विभागको तथ्यांकमा उल्लेख छ। नेपालमा काम गर्ने विदेशी कामदारलाई सरकारले १२ वर्षसम्मको श्रम स्वीकृति दिने गरेको छ।

स्वदेशमा रोजगारी पाइएन भन्दै वर्षौंदेखि ठूलो संख्यामा युवा वैदेशिक रोजगारीमा गइरहेका छन्। अझ भनौं नेपालीको अमेरिका जाने सपना कमै मात्रामा होला। अमेरिका जाने सपनाले लाखौंदेखि करोडौं डुबाउने गरेको घटना पनि यत्रतत्र छरिएकै छन्, तर अमेरिकाजस्तो देशका श्रमिक पनि नेपालमा काम गर्न आएको विभागेको तथ्यांकले देखाएको छ।

यसरी आफ्नै स्वदेशमा पाइने कामका क्षेत्रमा नेपाली युवाका आँखा नलागेको देखिन्छ, तर तिनै क्षेत्रमा काम गर्न विदेशी नेपाल आउने क्रम जारी छ। नेपालमा आएर काम गर्ने विदेशीले रेमिटेन्स पनि लगिरहेका छन्।

यसरी एकातिर नेपाली युवा अवसरको खोजीमा बिदेसिने र अर्कातर्फ विदेशी श्रमिक नेपालमै रोजगारी गर्न आउने परिदृश्यले नेपालको श्रम बजारको यथार्थ झल्काउँछ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024