नेपाली युवालाई फ्रान्समा रोजगारी दिलाउनेबारे छलफल

5 January, 2022

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठसँग नेपालका लागि फ्रान्सका राजदूत गिल्स बुर्बाओले शिष्टाचार भेट गरेका छन्। मन्त्रालयमा आज भएको भेटवार्तामा नेपाल–फ्रान्सबीचको आपसी सम्बन्ध र दुईपक्षीय चासोबारे छलफल भएको श्रेष्ठको सचिवालयले जनाएको छ।

सो अवसरमा मन्त्री श्रेष्ठले युरोपका विभिन्न मुलुकमा नेपाली श्रमिकहरू कार्यरत रहेको उल्लेख गर्दै नेपाली युवाका लागि फ्रान्समा रोजगारीका अवसर प्रदान गर्न आग्रह गरेका थिए। श्रेष्ठले नेपाल र फ्रान्सबीचको बहुआयामिक सम्बन्धलाई अझ विस्तार गर्न आफू प्रतिबद्ध रहेको बताएका थिए।

नेपाल–फ्रान्सबीच रही आएको आपसी सम्बन्ध आगामी दिनमा अझ विस्तार हुने विश्वास व्यक्त गर्दै मन्त्री श्रेष्ठले फ्रान्सले नेपाललाई उपलब्ध गराउँदै आएको आर्थिक एवं सामाजिक क्षेत्रको सहयोग निरन्तर हुने विश्वाससमेत व्यक्त गरे।

राजदूत बुर्बाओले नेपाली स्वास्थ्यकर्मीका लागि फ्रान्सको स्वास्थ्य क्षेत्रमा रोजगारीको अवसर सिर्जना हुन सक्ने बताए। साथै, कोभिड महामारीपछि फ्रान्सको पर्यटन उद्योगमा पनि नेपाली श्रमिकहरूका लागि रोजगारी सिर्जना हुने बताए। राजदूत बुर्बाओले फ्रान्समा रोजगारीका लागि जान भाषा तथा व्यावसायिक तालिमको राम्रो प्रबन्ध हुनुपर्ने बताएका थिए। 

उनले फ्रान्समा फ्रान्सेली नागरिकसरह नै विदेशी कामदारले पनि पारिश्रमिक तथा सामाजिक सुरक्षाको सुविधा उपभोग गर्न पाउने बताएका थिए। सन् १९४९ अप्रिल २० मा नेपालको फ्रान्ससँग कूटनीतिक सम्बन्ध कायम भएको थियो। नेपालले कूटनीतिक सम्बन्ध राखेको फ्रान्स चौथो देश हो। दक्षिण एसियामा फ्रान्सको पुरानो कूटनीतिक सम्बन्ध कायम भएको मुलुक हुनु नेपालको लागि खुसीको कुरा भएको मन्त्री श्रेष्ठले बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024