नेपालगञ्जका होटलमा निकृष्ट बालश्रम

22 March, 2014

सुरेन्द्र काफ्ले

नेपालगन्जका होटल तथा मिठाई पसलमा १२ वर्षमुनिका बालबालिकाको प्रयोग भइरहेको छ। महिला तथा बालबालिका कार्यालय र जिल्ला बालकल्याण समितिले नेपालगन्जका होटल तथा मिठाई पसलमा गरेको अनुगमनमा बालबालिकाको प्रयोग भएको पाइएको हो। 

महिला तथा बालबालिका कार्यालय र जिल्ला बाल कल्याण समितिको पहलमा जिल्ला प्रशासन, जिल्ला प्रहरी कार्यालय, श्रम कार्यालयको सहयोग लिएर ८ जना बालश्रमिकको उद्धार गरिएको छ।

नेपालगन्जका होटल र मिठाई पसलमा बालश्रमिकको प्रयोग बढेको गुनासो आएपछि अनुगमन गरी बालकको उद्धार गरिएको महिला तथा बालबालिका कार्यालयकी निमित्त महिला विकास अधिकृत बिन्दु कुँवरले बताइन्। उनले उद्धार गरिएका सबै बालक १२ वर्षमुनिका रहेको जानकारी गराइन्। उद्धार गरिएका बालकमा बाँके होलीका दुखराम कोरी, भुलन यादव, छोटकउ, राकेश, टहलु, राजकुमार, असफाक लगायत रहेका छन्।

उद्धार गरिएका बालक नेपालगन्ज आसपास र भारत घर भएका छन्। उनीहरूलाई सिविनको संरक्षणमा पठाइएको जानकारी दिँदै कँुवरले भनिन्, ‘बालश्रमिकले पारिश्रमिक पाए नपाएको बुझेर एक साताभित्र अभिभावकको जिम्मा लगाउनेछौं। होटलमा काम गर्ने बालबालिकालाई यातना समेत दिने गरेको उनीहरूले बताए। उनीहरू मालिक र अन्य कर्मचारीले पिट्ने गरेको बताए।

उनीहरूलाई बिहान ४ बजे उठाएर राति ९ बजेसम्म लगातार काम लगाइन्छ। उद्धार गरिएका बालक सोनकरले बिहान ४ बजे उठेर राति ९ बजेसम्म काम गराउने गरेको बताए। उनले मालिक तथा कर्मचारी सानो काम बिगारेमा कुटपिट गर्ने गरेको समेत बताए। ‘ठूलाठूला भाडा मझाउने, सानो काम काम बिगार्‍यो भने मालिकदेखि स्टाफसम्मले कुट्थे’, बालक सोनकरले भने।

होटलमा काम गर्ने बालबालिका पूर्ण निरक्षर

होटल तथा मिठाई पसलमा काम गर्ने बालबालिका पूर्ण निरक्षर रहेका छन्। उनीहरूलाई पढ्न लेख्न आउँदैन। उनीहरूले आफ्ना घरका दाजुभाइ दिदीबहिनी पनि पूर्ण निरक्षर रहेको बताए।

नेपालगन्जस्थित बागेश्वरी स्विट पसलमा कार्यरत बाँके होलिया- खडैचाका १२ वर्षीय टहलु सोनकरले आफू निरक्षर रहेका बताए। ‘कहिल्यै स्कुल गएकै छैन के पढ्न आउनु’, बालक सोनकरले भने ‘खेतपात छैन, आमा पनि हुनुहुन्न। घरमा पढाउने कोही छैन, कसले पढाउने।’

बालक सोनकरले गरिबी र आमा नभएकै कारण सानै उमेर होटलमा काम गर्न बाध्य भएको गुनासो गरे। १३ वर्षीय दुखरामले घरमा गाईभैंसी चराउने, घाँस काट्ने, जंगलबाट काठ ल्याएर बेच्ने गरेको बताए। उनले भने, ‘घरमा कसैले स्कुल नै पाएनन् , गाईभैंसी चराउन, घाँस काट्न मात्र लगाए अनि के पढ्ने त।’ उनले आफ्ना दुईवटा भाइलाई पढ्न लेख्न नआउने गरेको बताए।

होलिया-३ चौफेरीका १२ वर्षीय राकेश सोनकरले स्कुलमा पढाइ नै नहुने गरेका कारण अभिभावकले आफूलाई नपढाएको बताए। गाउँमा स्कुल भए पनि यहाँ पढाइ हुँदैन। घरबाट भागेर आएर होटलमा काम गर्न थालेको उनले बताए। बेतहनी- ५ बाणीका ११ वर्षीय बालक राजकुमार सोनकरले आफ्ना दाजुलाई समेत केही पढ्न लेख्न नआउने बताए।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024