नेपालको समृद्धिमा योगदान गर्न गैरआवासीय नेपालीलाई परराष्ट्रमन्त्री शर्माको आह्वान

18 March, 2026

परराष्ट्रमन्त्री बालानन्द शर्माले नेपालको समृद्धि र विकासका लागि आफ्नो ज्ञान, सीप तथा पुँजीमार्फत योगदान गर्न विश्वभर रहेका गैरआवासीय नेपालीलाई हार्दिक आह्वान गरेका छन्।

गैरआवासीय नेपाली संघको १२औँ अधिवेशन तथा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सबै गैरआवासीय नेपालीलाई अझै एकताबद्ध भई राष्ट्र निर्माणको अभियानमा सक्रिय रूपमा सहभागी हुन आग्रह गरे।

मन्त्री शर्माले संघको नयाँ कार्यसमिति अझ सशक्त र प्रभावकारी रूपमा अगाडि बढ्ने विश्वास व्यक्त गरे। उनले भने, ‘अब हामी अझ एकताबद्ध भएर अगाडि बढ्नेछौँ र सहकार्य झनै घनिष्ठ हुनेछ।’

उनले लगानीसँगै ज्ञान, सीप र प्रविधिको आदान–प्रदानमार्फत नेपालको विकासमा योगदान पुर्‍याउन तथा नेपाली भाषा, संस्कृति र पहिचानको अन्तर्राष्ट्रिय स्तरमा प्रचार–प्रसार गर्न प्राथमिकता दिन गैरआवासीय नेपालीहरूलाई अनुरोध गरे।

पश्चिम एसियामा देखिएको पछिल्लो परिस्थितिमा राहत, उद्धार तथा पुनर्स्थापनाका कार्यमा सहयोग पुर्‍याउन गैरआवासीय नेपाली समुदायले देखाएको प्रतिबद्धता प्रशंसनीय रहेको मन्त्री शर्माले उल्लेख गरे।

साथै उनले विदेशमा रहेका नेपालीहरूको अनुभव, सीप र पुँजीलाई नेपालको समृद्धिसँग जोड्न परराष्ट्र मन्त्रालयले आवश्यक समन्वयात्मक भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे।

गैरआवासीय नेपालीहरूले विदेशमा रहेर पनि नेपाली भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवर्द्धन गर्दै आएकोमा उनले प्रशंसा व्यक्त गरे। साथै नयाँ सरकारले विदेशिएका नेपालीहरूलाई स्वदेश फर्केर योगदान दिन सक्ने अनुकूल वातावरण सिर्जना गर्ने विश्वास समेत व्यक्त गरे।

मन्त्री शर्माले गैरआवासीय नेपाली संघको नयाँ कार्यसमितिलाई सफल कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरे।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024