भारतमा रहेको नेपाली राजदूतावासले नेटवर्किङ ठगीमा फसेका ४५३ नेपालीको उद्धार भएको जानकारी दिएको छ ।मंगलबार विज्ञप्ति जारी गर्दै राजदूतावासले भारतको उत्तरप्रदेशस्थित कुशीनगर जिल्लाका विभिन्न स्थानबाट ११५ जना महिला र ३३८ जना पुरुषलाई उद्धार गरेको जनाएको छ ।
१६ गते उद्धार गएिका ती नेपाली नागरिकलाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको जिम्मा लगाएको राजदूतावासले जनाएको छ । सामाजिक सञ्जालमार्फत आकर्षक रोजगारीको प्रलोभनमा पारी सीमावर्ती क्षेत्रमा नेपाली नागरिकको श्रम शोषण तथा ठगी भइरहेको सूचना पाएपछि दूतावासले उत्तर प्रदेश प्रहरी र भारतका गैरसरकारी संस्थासँग समन्वय गरेर अपरेसन सुरु गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले उद्धार गरिएका व्यक्तिहरूमध्ये ६ जना महिलासहित १९ जना शंकास्पद व्यक्तिलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।