नेचर गाइड बनेर देशमै अवसर सदुपयाेग गरिरहेका दिनेश

25 May, 2026

Prakash Poudel

रोजगारीको खोजीमा देश छाड्ने युवाहरू दिन प्रतिदिन बढ्दै गइरहँदा बर्दियाको ठाकुरबाबा नगरपालिका–९ हात्तीसारका २३ वर्षीय दिनेश आचार्यले गाउँघरमै बसेर निकुञ्जमा घुम्न आउने पर्यटकलाई घुमाउने अवसरको सदुपयोग गरिरहेका छन्।

ठाकुरद्वारामा रहेको हात्तीसारनजिकै आचार्यको घर छ। सानैदेखि उनले निकुञ्ज घुम्न आउने पर्यटक देखे। छरछिमेकीले विदेशी पर्यटकलाई घुमाउने काम गरेको देखेका उनलाई पर्यटक घुमाउने पनि काम हुँदो रहेछ भन्ने लाग्यो। पछि उनी पनि पर्यटन पेशातिरै लागे।

देश विदेशबाट निकुञ्जमा घुम्न आउने पर्यटकलाई घुमाएर पनि आर्थिक आर्यआर्जन गर्न सकिन्छ भन्ने बुझेर यो पेशामा लागेको आचार्यले बताए। उनले भन्ने, ‘निकुञ्जले गर्दा धेरैले अवसर पाएको देखेँ। मैले पनि यो अवसरलाई प्रयोग गर्नुपर्छ भन्ने लागेर आयो। १८ वर्षको उमेरमा नै प्रकृति पद प्रदर्शक (नेचर गाइड)को तालिम लिएँ। त्यसपछि प्रकृति पद प्रदर्शक बनेँ। अहिले निकुञ्जमा घुम्न आउने पर्यटकलाई घुमाउने काम गरिरहेको छु। मलाई यहीँ देशमा बसेर काम गर्ने मन छ।’

पर्यटक घुमाउनेबाहेक खाली समयमा आचार्य समुदायस्तरमा हुने सचेतनामूलक कार्यक्रममा सहभागी हुने गरेका छन्। निकुञ्ज आसपासको क्षेत्रमा हुने वन्यजन्तुको उद्धारको काममा समेत आचार्य पछि हट्दैनन्। उनी निकुञ्ज आसपासमा हुने चोरी सिकार नियन्त्रण गर्नका लागि बनेको चोरी सिकार नियन्त्रण युवा परिचालन अभियानको सदस्य पनि छन्।

‘मानिस जतिसुकै होहल्ला कोलाहलमा बसे पनि प्रकृतिको काखमा पुगेपछि आनन्द महसुस गर्छ। निकुञ्जमा पाइने वन्यजन्तु हेर्न र शान्त वातावरण खोज्दै आउने पर्यटकको संख्या बढ्दै गइरहेको छ,’ उनले भने, ‘पछिल्लो समय विदेशी भन्दा पनि निकुञ्ज घुम्ने स्वदेशी पर्यटकको सङ्ख्या बढिरहेको छ। मैले अमेरिकन, चाइजिन, जापानिज, फ्रेन्च, जर्मन, भारतीय, नेपालीसहित धेरै देशका पर्यटक घुमाउने अवसर पाएको छु।’

बर्दिया राष्ट्रिय निकुञ्ज विश्वमा बाघको कारण चिनिएको छ। त्यहीँ भएर पनि निकुञ्ज घुम्ने अधिकांश पर्यटकको चाहाना बाघ हेर्ने हुने गरेको आचार्यले बताए। उनले भने, ‘निकुञ्जमा पाइने वन्यजन्तुको बारेमा अझै प्रचारप्रसार गर्न सके सहज रुपमा पर्यटकलाई नेपाल ल्याउने वातावरण तयार गर्न सकिन्छ। पर्यापर्यटन उद्योगको बिकास र प्रचारप्रसार गर्न सके देशभित्र रोजगारी अवसर सृजना हुन्छ।’

राज्यले पर्यटन उद्योगलाई खासै ध्यान दिन नसकेको आचार्यको बुझाइ छ। उनले भने, ‘निकुञ्जमा आउने पर्यटक बढाउन सके अझै धेरै अवसरको ढोका खुल्ने थियो। यहाँ रहेको वन्यजन्तु कला संस्कृति देखाएर पनि आर्थिक आयआर्जन गर्न सकिन्थ्यो। तर कतिपय मानिसहरु वन्यजन्तुको संरक्षणमा लाग्नुको साटो वन्यजन्तुले गर्दा हानीनोक्सानी भएको प्रचार गर्छन्। जसले गर्दा पर्यटन व्यवसायमा नकारात्मक असर पुगेको छ।’

वन्यजन्तु जोगाउने काम निकै चुनौती रहेको उनी बताउँछन्। कतिपय स्थानमा वन्यजन्तु जोगाउनु हुन्न भन्ने गरेको सुन्दा पीर लाग्ने उनले सुनाए। ‘वन्यजन्तुले व्यवहार परिवर्तन गर्न सक्दैन्, हामी मानिसले सक्छौँ। तर हामी व्यवहार परिवर्तन गर्ने पक्षमा छैनौँ। त्यही भएर पनि मानव–वन्यजन्तु द्वन्द्व हुने गरेको छ,’ उनले भने, ‘वनमा जाँदा वन्यजन्तुको दिशापिसाब ख्याल गर्ने, वन्यजन्तुको आनीबानी बुझ्ने हो भन्ने मानव–वन्यजन्तु द्वन्द कम गर्न सकिन्छ।’

त्यसैले मानव–वन्यजन्तुको अस्तित्वको लागि सबैजना मिलेर काम गर्नुपर्नेमा उनले जोड दिए। वन्यजन्तु मानिसका दुश्मन होइनन्, मित्र हुन भनेर बुझाउन सके संरक्षण सहयोग हुने उनको बुझाइ छ। ‘वन्यजन्तु संरक्षण गर्न सके विदेशबाट पर्यटक बढाएर रोजगारीको अवसरसमेत बढाउन सकिन्छ,’ उनले भने।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024