निर्माण मजदुरले पाएनन् ज्याला

16 January, 2026

कहिले ट्याक्टर चलाएर त कहिले पाखुरा बजाएर श्रम गर्ने टीकापुर नगरपालिका–१, शक्तिनगरका प्रेमलाल चौधरीले काम गरेको ज्याला पाएको भए यसै माघीमा पक्की घरको छानामुनि बास हुने थियो तर श्रम गरेको ज्याला नपाएपछि पक्की घरमा पुरानो जस्ता, खर र कपडाको छानो लगाएर ओत लाग्नुभएको छ । उहाँ काम गरेर नपाएको ज्यालाको हिसाब हेरेर बस्नुभएको छ ।

मुक्त कमैया प्रेमलालले एक वर्षअघि मदन भण्डारी राजमार्गस्थित गुटुखोला र बिउरेनीखोलामा बनेका पुल निर्माणमा काम गरेको ज्याला नपाउँदा उहाँको यो हालत भएको हो । मृत सञ्जीवनी प्रदेज जेभीले निर्माण गरेका ती पुलमा काम गरेका टीकापुर नगरपालिका–२ का मजदुरले ज्याला नपाएर ठगिएपछि उनीहरूको ज्याला पनि प्रेमलालले नै तिर्नु परेको छ । २०८१ मङ्सिर र पुसमा काम गरेका मजदुरहरू कामको ज्याला नपाई पुस अन्तिम साता घर फर्केका थिए ।

टीकापुरका मजदुरले सात लाख ५१ हजारको काम गरेकोमा दुई लाख ८० हजार रुपियाँ पाएका र चार लाख ७१ हजार पाउन बाँकी रहेको बताएका छन् । “पहिले बर्दियाका साथीको सहयोगमा पोखरामा काम गर्दा सबै ज्याला पाइएको थियो । उसैले सुर्खेतमा काम छ आऊ भनेपछि साथीहरूलाई पनि भनेँ र सबै गयौँ, काम सकेर फर्किंदा बिनु क्षेत्री भागे र पारिश्रमिक पाइएन,” प्रेमलाल चौधरी भन्नुहुन्छ, “माघीका मुखमा ज्याला नपाउँदा रिसाएका थारू युवा मविरुद्ध खनिए र सताए । मेरो घर भत्काउने र मलाई कुटपिट गर्ने धम्की दिएपछि समूहबाट दुई लाख ऋण निकालेर दिएर श्रीमतीसहित भागेर भारत पसँे ।”

समूहको ऋणको ब्याज बढ्दै गएपछि दिल्लीमा काम गरिरहेकी छोरीले तिरिदिएको र साढे दुई लाख रुपियाँ श्रीमान्श्रीमती नै भारतको गुजरातमा रोजगारी गरेर तिरेको प्रेमलाल बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सबैको पैसा तिरिसकेपछि घर फर्केर पहिलेको नम्बरमा फोन गर्दा म बिनु क्षेत्री होइन, अर्कै हुँ भन्छ । अहिलेसम्म आशामा बाँचेको म मर्नु न बाँच्नुको अवस्थामा पुगँे ।”

“साथीहरू (अरू मजदुर) खोजेबापत ५० रुपियाँ दिन्छु भनेको थियो । त्यो रकम दिएको भए थप ४१ हजार पाँच सय पाउनुपर्ने थियो तर आफ्नै ज्याला नपाएका पे्रमलाल घर त फर्किनुभएको छ,” पे्रमलालका छिमेकी चैतराम डगौरा भन्नुहुन्छ, “मुक्त कमैया भएकाले दुःख त धेरै छ । हामीलाई पनि ठग्नेको पनि भलो नहोस् भनेर चित्त बुझाइरहेका छौँ, उहाँ धेरै चिन्ता गर्नुहुन्छ ।”

मदन भण्डारी राजमार्ग आयोजना कार्यालय सुर्खेतका इन्जिनियर टोपनारायण पौडेलले काम सम्पन्न भइसकेकाले निर्माण कम्पनीसँग सम्पर्क गर्न भने पनि निर्माण कम्पनीका सञ्चालक प्रदेज ढकाल सम्पर्कमा आउनुभएन । सडक विभागले व्यावसायिक सुरक्षा र स्वास्थ्य कार्यविधिमार्फत मजदुरलाई सुरक्षित गर्न खोजे पनि निर्माणमा काम गर्ने मजदुर ज्याला नपाएरै ठगीमा परिरहेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2026