अतुल मिश्र,मकर श्रेष्ठ
बिएस्सी नर्सिङ दोस्रो वर्षमा अध्ययनरत मनीषा श्रेष्ठलाई ‘पढाइ कसरी सकौं’ भन्दा पनि ‘पढाइ सकेर के गर्ने ?’ भन्ने चिन्ता छ । कडा मिहिनेत गरी पढेर नाम निकालेकी उनका धेरै सहपाठी काम नपाउने चिन्ताले अहिल्यैदेखि पिरोलिएका छन् ।
स्नातक तहको पढाइ आधा बाँकी हुँदै गर्दा श्रेष्ठकै सहपाठी कृष्णा कार्की पनि जागिरकै रुमलोमा छिन् । महाराजगन्ज नर्सिङ क्याम्पसमा बिएस्सी गर्ने विद्यार्थीमध्ये कामको पिरलो नलिई पढाइमा मात्रै घोटिने विद्यार्थी सायदै होलान् ।
एसएलसी सकेपछि प्रमाणपत्र तहमा नर्सिङ पढाइ सकेर जागिर नपाएपछि माथिल्लो तहको अध्ययन सुरु गर्छन् । पढाइ सकेपछि उनीहरूले राजधानी र मोफसलमा छ्यासछ्यास्ती अस्पताल खुलेका छन् । तर, न्यून तलबमा शोषण गर्ने गरेका छन् । त्यस्तै सीटीईभीटीबाट एक वर्षअघि प्रमाणपत्र तह नर्सिङ सकेकी स्लोजा तामाङले काठमाडांैकै एक अस्पतालमा मासिक चार हजारमा काम गर्छिन् । ६ महिनासम्म स्वयंसेवक बनेकी उनले चार हजार पनि नियमित पाउँदिनन् । ‘गाडीभाडा र खाजा खाने तलब पनि पाइँदैन,’ उनले भनिन्, ‘पाँच लाख खर्च गरेर पढ्यो, जागिर पाइँदैन ।’
पढ्दा सिकेको सीप नर्बियोस् भनेर मात्रै कम तलबमा काम गर्नुपर्ने बाध्यता रहेको उनले बताइन् । अन्य कलेजको भन्दा सीटीईभीटी अन्तर्गत अध्ययन गरेका विद्यार्थीले जागिर पाउन मुस्किल रहेको उनले बताइन् । काम पाए पनि व्यापक पहुँचको उपयोग हुने गरेको छ । सेवा भावको कार्य रहेको नर्सिङ पेसामा बर्सेनि चुनौती थपिंदै गएको छ । उनका अनुसार एक-दुई भाग्यमानी बाहेक निजी क्षेत्रका ठूला अस्पतालमा समेत पुराना नर्सलाई ठीकै भए पनि नयाँहरूको स्थिति भने अत्यन्त दयनीय छ ।
‘जनताले पैसा सबैभन्दा बढी निजी क्षेत्रको अस्पतालमै तिर्छन् तर त्यहाँ भर्ना गरिएका नयाँ नर्सिङ स्टाफले अत्यन्त न्यून तलब पाउँछन्, अझ स्वयंसेवक पनि हुन पुग्छन्’, वीर अस्पताल इकाई कमिटीकी अध्यक्ष शान्ता राईले भनिन्, ‘नर्सिङ पेसामा नयाँ आउनेहरूको दयनीय स्थिति छ, यो बाढी आए जस्तो उत्पादनले गर्दा भएको हो ।’
बर्सेनि स्वदेश र विदेशबाट अध्ययन गरी करिव एक हजार ६ सय सम्म नर्स थपिंदै गरेको नेपाल नर्सिङ संघकी अध्यक्ष प्रमिला देवानले बताइन् । ‘यसमध्ये ७५ प्रतिशतभन्दा बढी बेरोजगार छन्’, मुलुकमा बहुसंख्यक नर्स बेरोजगार रहेको उल्लेख गर्दै देवानले भनिन्, ‘धेरै बढी उत्पादन हुँदा आवश्यता एकवटा नर्स भएको ठाउँमा सयभन्दा बढीले आवेदन दिन्छन् ।’ सरकारले दक्ष नर्सिङ जनशक्तिको वास्तविक आवश्यकताबारे कुनै अध्ययन नगरेको उनले बताइन् । नर्सिङ पेसाको हालको मुख्य समस्या बेरोजगारी नै रहेको उनले बताइन् ।
नेपाल नर्सिङ काउन्सिलको तथ्यांक अनुसार अगस्टसम्म १६ हजार १ सय ७१ नर्स दर्ता गरिएका छन् । तीमध्ये ६ सय ७५ जना विदेशी नर्स हुन् । त्यस्तै १७ हजार ७२ जना अनमी छन् । त्यसमा नवीकरण गर्ने नर्स ४ हजार ८ सय २९ जना र अनमीमा १ हजार ७ सय ७७ छन् । सीटीईभीटीअन्तर्गत नर्स उत्पादन गर्ने कलेज मात्रै ८९ वटा छन् ।
नर्सिङ होम र निजी अस्पतालमा श्रम शोषण हुने गरेको राईले बताइन् । ‘स्टाफ नर्स पास गरेर आएकाहरूलाई भोलेन्टियरी राख्ने वा दुई हजारमा काममा लगाउने स्थिति छ,’ उनले भनिन् ।
यति मात्र नभई २४ सै घन्टा बिरामी कुरेर बस्ने नर्सहरूले त्यस अनुसारको प्रतिक्रिया नपाउने गुनासोसमेत गर्छिन् । रोगीको चापमा अत्यधिक वृद्घ भए पनि सरकारी क्षेत्रमा वषार्ंै पहिले नर्सिङको दरबन्दी हालसम्म कायमै रहेको उनले बताइन् । ‘रोगी र कामको अनुपात बढेको छ तर दरबन्दी भने बढेन,’ उनले भनिन्, ‘यो पेसामा विद्यावारिधिसम्म गर्ने प्रावधान भए पनि हाल मुलुकमा शिक्षाको स्तरअनुसार काम पाउने वा गर्ने वातावरण छैन ।’
नर्सिङको स्कोप घटे पनि अरूको देखासिकीमा पढ्नेको संख्या बढ्दो छ । पढाउने कलेजले पनि मनपरी शुल्क लिने गरेको सरकारी अध्ययन समितिले निष्कर्ष निकालेको छ । शिक्षा मन्त्रालयद्वारा गठन गरेको शुल्क अनुगमन समितिले सीटीईभीटीअन्तर्गत नर्सिङ कलेजको शुल्क अनुगमन गरेको थियो ।
साउन १९ मा मन्त्रालयले शुल्क निर्धारण गर्न पाठ्यक्रम विकास केन्द्रका निर्देशक खगराज बरालको संयोजकत्वमा समिति गठन गरेको थियो । पाँच विकास क्षेत्रका ४० कलेजको अनुगमन गरेको थियो । नर्सिङमा २ लाख ६० हजारदेखि ६ लाख ३१ हजारसम्म शुल्क लिएको अनुगमन गर्दा पाएको समितिका सदस्य सुप्रभात भण्डारीले जानकारी दिए । ग्वार्कोको हिमाल नर्सिङ कलेजले गत वर्षको तुलनामा ६२ प्रतिशत वृद्धि गरेको उनले बताए ।