मुलुकमा ँउचित’ रोजगारीको व्यवस्था नहुँदा साधारण शिक्षितदेखि पढेलेखेकासम्म वैदेशिक रोजगारीतिर आकषिर्त भएका छन् तर वैदेशिक रोजगारमा दलाल रोजगारदाता कम्पनीबाट पाइने दुःखका कारण धेरैले विदेश गाइहाल्ने आँट गर्न सकेका छैनन् । वैदेशिक रोजगारीमा कहाँ समस्या र यसको सामाधानको उपायहरू केके भइरहेका छन् । यसबारे केलाउँदै योगेश खतिवडा लेख्छन्-
नवलपरासीका राजन कँडेलले दुई वर्षको दौडधुपमा पनि मुलुक भित्र जागिर पाउन सकेनन् । पत्रिकामा आउने विज्ञापन खोज्दै आवेदन दिनु र चिनजानका मान्छेको पछि लाग्नु उनको दैनिकी बन्यो । तर त्यो दौड काम नलाग्ने देखिएपछि उनी बिदेसिने सुरमा छन् । तर चिन्ता घटेको छैन । विदेशमा काम गर्न जाने अवधारणा बनाउने बित्तिकै उनी डराए, दुःख र ठगीसँग । जुन वैदेशिक रोजगारीबारेको आम मानसिकता पनि हो । ‘बिदेसिने त भनें तर ठगीबाट डराएको छु,’ म्यानपावर कम्पनीको कार्यालयमा धाइरहेका उनी भन्छन्, ‘म सुरक्षित रूपमा जान चाहन्छु ।’
विदेशमा काम खोजिदिने दलालको कुरा सुन्दा उनी सधैं खुसी हुन्छन् । तर उनीहरूप्रतिको शंका अझै हटेको छैन । ‘उनीहरूले खोजिदिएको उत्तम भन्छन्,’ उनले भने, ‘निर्धक्क भएर विश्वास गर्ने अवस्था छैन ।’ स्नातक सम्मको पढाइ पूरा गरेका उनी खाडी वा मलेसिया जाने सोचमा छन् ।कँडेल एक पात्र हुन्, जो अन्तिम विकल्पका रूपमा काम गर्न बिदेसिँदै छन् । मुलुकमा शान्ति स्थापनासँगै रोजगारीको अवसर सिर्जना हुने आशा गरिए पनि अझ बिगि्रएको अाैद्योगिक वातावरणसँगै बिदेसिने बढे । अहिले दैनिक एक हजार बिदेसिन्छन् । मुलुकको श्रम बजारमा प्रवेश गर्नेको हाराहारीमा -वाषिर्क करिब ४ लाख) बिदेसिन्छन् । बिदेसिएका नेपालीले पठाउने रेमिट्यान्सले अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुर्याएको छ । नेपालको मुख्य रोजगार गन्तव्यका रूपमा रहेका झन्डै ३५ मुलुकमा २५ लाखको हाराहारीमा नेपाली बस्छन् ।
अर्थतन्त्र र रोजगारीका लागि यति ठूलो क्षेत्र भए पनि सरोकारवालाको बेवास्ताका कारण यस क्षेत्रमा हुनुपर्ने जति सुधार भएको छैन । जसको कारण अहिले यस क्षेत्रलाई ‘ठगी गर्ने ठाउँ’ को संज्ञा समेत दिइन्छ । वैदेशिक रोजगारीमा जानेका लागि पहिलो गन्तव्य म्यानपावर कम्पनी र उनीहरूको एजेन्टका साथै वैदेशिक रोजगार विभाग र श्रम मन्त्रालयले यसको सुधारमा काम गर्न नसक्दा समस्या आएको हो ।
केही महिनाअघि राष्ट्रिय सतर्कता केन्द्रले तयार पारेको एक प्रतिवेदनले वैदेशिक रोजगारीमा हुने समस्या र ठगीलाई देखाएको छ । विभागबाटै कामदार कति ठगिन्छन् र भ्रष्टाचार हुन्छ भनेर त्यसले बाहिर ल्याएको छ । अझ पैसाको बलमा विभागबाट अपर्याप्त कागजातमा जे भन्यो त्यही काम गराउने व्यवसायी र काम गरिदिने सरकारी कर्मचारी बिगि्रएको वैदेशिक रोजगारीको तस्बिरका कारण हुन् । भारतबाट अवैध रूपमा लैजाने मानव तस्कर यसका मुख्य समस्या रहेको विज्ञहरू बताउँछन् ।
प्रधानमन्त्रीमा बाबुराम भट्टराई भएपछि यसको सुधारमा विशेष चासो देखियो । विभाग वा नियमनमा के सुधार गर्न सकिन्छ भनेर उनले श्रम जानकार गणेश गुरुङको संयोजकत्वमा एक समिति बनाए । समितिले गठन भएको केही समयमै अल्पकालीन रूपमा गर्न सकिने कामको सूची बुझायो । प्रधानमन्त्रीले मन्त्रालयमा रहेका यस क्षेत्रमा राम्रो दख्खल राख्ने सहसचिव पूर्णचन्द्र भट्टराईलाई विभागको महानिर्देशकमा झन्डै दुई साता अघि पठाएका छन् ।
त्यसपछि विभागमा आफूले भने अनुसार काम नभएपछि अपर्याप्त कागजात भए पनि सहजै हुने काम रोकिएका छन् । ‘कानुन नमान्नेको गुटले विभागमा समस्या खडा गरिरहेका छन्,’ विभागका एक कर्मचारीले भने, ‘सुधार गर्न धेरै गाह्रो छ ।’ सर्वसाधारणमा समेत विभागमा काम गर्नेले कमाउँछ भन्ने मानसिकताले पनि भ्रष्ट आचरणमा प्रोत्साहन मिलेको छ ।
महानिर्देशक भट्टराई यस क्षेत्रको सुधार प्रक्रिया सुरु भएको बताउँछन् । ‘सबैमा रहेको वैदेशिक रोजगारी प्रतिको नकारात्मक मानसिकता परिवर्तन गर्न धेरै गाह्रो छ,’ उनले भने, ‘विभागले जसरी भए पनि कामदारलाई सहज रूपमा जाने अवस्था र कानुनी रूपमा व्यवस्थित बनाउँछ ।’ दैनिक झन्डै २ हजार जनासम्मको काम गर्ने विभागमा पूर्वाधार र कर्मचारीको कमी भएको गुनासो उनको छ । ‘तर पनि अहिले उपलब्ध सुविधाबाट सुधारको काम सुरु हुन्छ,’ उनले भने ।
अहिले झन्डै ५९ जना कर्मचारी रहेको विभागमा एक सयको दरबन्दी बनाउने उनको सोच छ । बिदेसिनेहरूका लागि आवश्यक सूचनाहरू वेबसाइटमा नियमित राख्ने काम सुरु गरिसकेका उनले विदेशमा रहेको नेपाली कूटनीतिक नियोगसँग अनलाइन मार्फत काम गर्न सुरु गरेको बताए । ‘जुन ठाउँमा सुधार गरेर भए पनि सहज र कानुनले तोकेको आधारमा सुविधा दिनु विभागको उद्देश्य हो,’ उनी थप्छन्, ‘सरोकारवाला पक्षको सहयोग भए सुधार सम्भव छ ।’
वैदेशिक रोजागरी क्षेत्रको अव्यवस्थापनका लागि एजेन्टदेखि विदेश बस्ने दलाल प्रमुख समस्या हुन् । उनीहरू कुनै कम्पनीमा अबद्ध नहुँदा ठगीबाट उम्केका धेरै छन् । ‘यस्ता धेरै समस्या छन्,’ वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष सोमलाल बाटाजूले भने, ‘संघले सकेसम्म व्यवसायलाई उत्तरदायी र व्यवस्थित बनाउने प्रयास गरिरहेको छ । विभागलाई सघाउँछौ ।’
सरकारले सोचे जस्तै आफूहरूको मुख्य धर्म पनि जाने कामदारलाइ मार नपार्ने रहेको उनले बताए । ‘यही व्यवसायबाट कमाएर दालभात खाएका छौं,’ उनले भने, ‘अनि कामदारलाई रुवाएर खाएको कहाँ पच्छ ।’ व्यवसायलाई इज्जतिलो बनाउँदा आफूहरूलाई नै फाइदा हुन्छ भनेर छिट्टै व्यवसायीहरूको भेला बोलाउने उनले बताए ।