धरौटी नबुझाएपछि ३५ स्वास्थ्य संस्था खारेज

14 October, 2020

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने ३५ स्वास्थ्य संस्थाको स्वीकृति खारेज गरेको छ । तोकिएको समयमा धरौटी रकम थप नगरेको भन्दै मन्त्रालयले स्वास्थ्य संस्थाको अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको हो ।

वैदेशिक रोजगार नियमावली २०६४ अनुसार वैदेशिक रोजगारमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्था सूचीकरण हुँदा ५ लाख रुपैयाँ धरौटी राख्नुपर्छ । तर, अधिकांश स्वास्थ्य संस्थाले धरौटी रकम नराख्दा पनि कानुनको अभावमा कारबाही गर्न सकिएन । त्यसैले वैदेशिक रोजगार नियमावली २०७६ संशोधन भएर पूरै रकम धरौटी नबुझाउनेलाई कारबाहीको व्यवस्था गरियो ।

जसअनुसार त्यस्ता स्वास्थ्य संस्थाले वैदेशिक नियमावली २०७६ लागू भएको १ भदौको तीन महिनाभित्र सबै धरौटी रकम बुझाउन आह्वान गरियो । तर, लागू भएको एक वर्ष बित्दासमेत ३५ स्वास्थ्य संस्थाले रकम नबुझाएका कारण उनीहरूको स्वीकृतिपत्र खारेज गरिएको श्रम मन्त्रालयले जानकारी दिएको छ । स्वास्थ्य संस्थाहरूले चित्तबुझ्दो जवाफ नपठाएको तथा धरौटी रकम पनि पूरा नबुझाएको भन्दै २० असोजको मन्त्रीस्तरीय निर्णयले खारेज गरेको हो ।

धरौटी रकम फिर्ता लैजान सक्ने

श्रम, रोजगार तथा स्वास्थ्य मन्त्रालयले खारेजीमा परेका स्वास्थ्य संस्थालाई जम्मा गरेको धरौटी रकम फिर्ता लान सक्ने सुविधा दिएको छ । सूचीकरण हुँदाको समयमा जम्मा गरेको ३ लाख रकम खारेजी परेका संस्थाले फिर्ता लैजान सक्ने मन्त्रालयले जनाएको छ । मन्त्रालयमा २ सय ५० भन्दा बढी स्वास्थ्य संस्था सूचीकृत छन् । जसले खाडी तथा मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षण गर्ने अनुमति पाएका छन् ।

खारेजी परेका स्वास्थ्य संस्था

वैदेशिक रोजगार नियमावलीअनुसार धरौटी रकम थप नगर्ने ३५ वटा स्वास्थ्य संस्था खारेजीमा परेका हुन् । खारेजीमा परेका स्वास्थ्य संस्थाहरू बसुन्धरास्थित ढोरपाटन मेडिकल सेन्टर, गोंगबुस्थित हेल्पिङ हेल्थ मेडिकल सेन्टर, बालाजुस्थित जनस्वास्थ्य केन्द्र, कोटेश्वरस्थित सिर्जनशील हेल्थ केयर, स्युचाटारस्थित यू एन्ड पी मेडिकल सेन्टर, गाेंगबुस्थित रक्षा मेडिकल सेन्टर एन्ड डायग्नोस्टिक सेन्टर, सिनामंगलस्थित एभी पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, कैलालीको धनगढीस्थित नजजीवन अस्पताल, धरानस्थित मञ्जुश्री पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर, सिनामंगलस्थित हेल्थ केयर डायग्नोस्टिक रहेका छन् ।

त्यसैगरी, खारेजीमा परेका अन्य संस्थाहरूमा पुरानो बानेश्वरस्थित नमुना मेडिकल सेन्टर, कालीमाटीस्थित रिलिफ हेल्थ केयर, इटहरीस्थित कान्तिपुर मेडिकल सेन्टर, मध्यबानेश्वरस्थित भेनस अस्पताल, ललितपुरस्थित मेडिसिटी हस्पिटल, बुटवलको नेसनल प्याथल्याब एन्ड रिसर्च सेन्टर, इटहरीस्थित इटहरी मेडिकल एन्ड स्वास्थ्य उपचार क्लिनिक रहेका छन् । साथै, माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पताल, सानेपास्थित मेघा अस्पताल, भक्तपुर शंखधर चोकमा रहेको मध्यपुर अस्पताल, चितवनको चितवन मेडिकड कलेजलगायत पनि खारेजीमा परेका छन् ।

Subscribe now and receive weekly newsletter updates

© Centre for the Study of Labour and Mobility. 2024