तनहुँकी २८ वर्षीया एक युवती गत १ जनवरीमा सहायक श्रमिक (केयरगिभर) मा काम गर्न भन्दै इजरायल पुगेकी थिइन् । तर, दुई महिना काम गरेपछि मात्र उनलाई थाहा भयो, इजरायलमा होइन प्यालेस्टाइनमा छु भन्ने । उनले काम गर्दै आएको घर प्यालेस्टाइनी नियन्त्रित क्षेत्र वेस्ट बैंकको रमल्लामा पर्छ । रमल्ला प्यालेस्टाइनको राजधानी हो ।
वेस्ट बैंकको एउटा भाग इजरायलको र अर्को प्यालेस्टिनी सरकारको नियन्त्रण छ । वेस्ट बैंकमा नेपाली श्रमिक रहेको विषयमा नेपाल सरकारसँग कुनै पनि आधिकारिक जानकारी छैन । तर, मानव तस्करले नेपाली महिलालाई प्यालेस्टाइनका घर–घरमा काम गर्न पुर्याएको पाइएको छ । ‘हामी ओमानसम्म ३२ जनाको टोली सँगै थियौं । काठमाडौंबाट कतार–ओमान–दुबई हुँदै इजरायलमा आइपुगेका थियौं,’ प्यालेस्टाइन नियन्त्रित वेस्ट बैंकमा रहेकी ती युवतीले भनिन्, ‘ओमानबाट प्यालेस्टाइनमा भने एक्लाएक्लै पठाउने गरेको रहेछ ।’
भिजिट भिसामा कडाइ गर्दा चलखेल बढेपछि गत १३ कात्तिकको मन्त्रीस्तरीय निर्णयअनुसार अध्यागमन विभागले खुकुलो नीति लिएको थियो । जसअनुसार भिजिट भिसामा विदेश जानेले कम्तीमा ६ महिना अवधि भएको राहदानी, सम्बन्धित देशको प्रवेशाज्ञा (भिसा) वा अन अराइभल भिसा प्राप्त हुने मुलुक भए प्रवेशाज्ञा नचाहिने बनाएको छ भने हवाई टिकट भएमा भ्रमणको प्रयोजन र भ्रमणका कारण सिर्जित परिणामका लागि आफैं जिम्मेवार रहेको स्वघोषणा गर्नुपर्छ ।
भिजिट भिसामा गरिएको यही खुकुलो व्यवस्थाको फाइदा उठाएर तस्करहरूले नेपाली महिलालाई विभिन्न मुलुक हुँदै प्यालेस्टाइन पुर्याउने गरेको खुलेको छ । ‘सुरुमा ओमान पुर्याइयो । ओमानको १० दिने भिसा थियो । दुई दिन ओमानमा बसें । त्यहाँ हामीजस्तालाई राख्ने ठाउँ नै हुँदो रहेछ । ओमानमा त नेपाली कति कति,’ उनले भनिन्, ‘ओमानबाट दुबई हुँदै इजरायल आएको हो ।’
उनी डुम्रे, तनहुँमा बस्थिन् । तनहुँबाट त्यहाँसम्म लैजाने प्रबन्ध आफ्नै साथीले गरेकी हुन् । ‘मलाई आफ्नै तनहुँकै साथीले फसाएको हो, उनी पनि यही प्यालेस्टाइनमै घरमा काम गर्छिन् । एक जना तानेबापत उनलाई ४ सय डलर दिँदो रैछ,’ उनले सुनाइन्, ‘मेरो साथीले भक्काभक केटीहरू तानेकी रहिछ । उनी साहुनीकै घरमै काम गर्ने, मलाई चाहिँ काम परिवर्तन गरिदिन्छु भनेर आश्वासन दिएकी थिई । मैले सधैंभर घरमा काम गर्न सक्दिनँ भनेकी थिएँ ।’ राहदानी पठाएको तीन दिनमै भिसा र टिकट आइपुग्यो । भिसा ओमानको थियो, इजरायलको थिएन । इजरायलसम्म पुग्ने टिकट मात्र थियो । उनी ओमानबाट इजरायल विमानस्थलसम्म एक्लै गएकी रहिछन् । अनि एक्लै भिसाबिना कसरी उड्न दियो त ? ‘मलाई दूतावासबाट पनि त्यही सोध्नुहुन्छ, त्यो मलाई थाहा छैन,’ उनले भनिन्, ‘केही कागज थिएन, टिकट मात्रै थियो । भिसा भनेको ओमानको थियो । अरू देशको भिसै थिएन ।’
नेपालमा टिकट दिनेलाई उनले चिनेकी थिइनन् । ‘नाम मलाई ठ्याक्कै थाहा छैन । मैले टिकट दाइ भनेर सेभ गरेको छु । त्यो दाइलाई दुबईमा बस्नेले कन्ट्रोल गर्ने रहेछ । उसलाई र ओमानमा काम गर्नेलाई जोर्डनबाट कन्ट्रोल गर्ने रहेछ,’ उनले भनिन्, ‘कहाँबाट आएर कहाँ फसें भन्ने थाहा छैन । इजरायलको एयरपोर्टबाटै उनलाई सिधै स्थलमार्ग हुँदै वेस्ट बैंक पुर्याइएको थियो ।
राति १२ बजे विमानस्थलमा लिन एक जना पुगेका थिए । ‘बिहान उठेर यताउता गरें । मैले त इजरायलमै छु भन्ने सोचिराथें । पछि त प्यालेस्टाइनमा पो रहेछु । सम्झेर ल्याउँदा ज्यान नै लल्याकलुलुक हुन्छ,’ उनले भनिन्, ‘त्यसै ढले–ढले जस्तो हुन्छ । यहाँ एक जना नर्स हुनुहुन्छ । उहाँले नै सम्हाल्नुहुन्छ ।’ उनले इजरायलको कियरगिभरमा आकर्षक तलब र सुविधा पाउने थाहा पाएकी थिइन् । नेपाल र इजरायलबीच सरकारी संयन्त्रमार्फत मात्र जान पाइन्छ ।
दोस्रो पटक छानिएका दुई हजार जना कियरगिभरमध्ये १७ सय जना गइसकेका छन् । सीटीईभीटीबाट तीनमहिने तालिम पनि लिएकी थिइन् । अस्पतालमै गएर कियरगिभरसम्बन्धी अभ्यास पनि गरेकी थिइन् । अहिले देश नै अर्को परेपछि उनी आत्तिन थालेकी छन् । राहदानी साथमा छैन । फर्केर जान्छु भन्दा एजेन्टले पठाउन सकिन्न भनेर जवाफ दिइरहेको छ । ‘साथीको केही नलाग्ने रहेछ । फेरि मुख्य एजेन्ट जोर्डनको रहेछ । उसलाई कति लाग्छ बरु म आफैं खर्च गरेर नेपाल जान्छु भनिरहेको छु । उसले फिर्ता पठाउन गाह्रो हुन्छ मात्रै भन्छ,’ उनले भनिन्, ‘अहिले उसले म्यासेज नै हेर्दैन ।’
उनी काम गर्ने परिवार निकै धनी छ । परिवारमा चार जना बच्चा छन् । दुई जना साना छन् । दुई जना ठूला भइसके । चार जना गाडी ड्राइभर छन् । ६ जना सुरक्षाकर्मी छन् । दैनिक १२ घण्टाभन्दा बढी खट्नुपर्छ । बच्चाहरूको हेरचाह गर्नेदेखि लिएर पोछा लाउने, भाडा माझ्ने, गाडी धुने काम गर्नुपर्छ । खाना पकाउनु पर्दैन । ‘मैले अरबी पकाउन जान्दिनँ । खाना म्यामले नै बनाउनुहुन्छ,’ उनले भनिन्, ‘मलाई विश्वास पनि गर्छन् । मेरै भरमा घर छाडेर हिँडेका हुन्छन् ।’ उनले भाषामा भने त्यति धेरै समस्या नभएको बताइन् ।
उनीहरू पनि ठुटे अंग्रेजी बोल्छन् । ‘मेरो नि कहाँ राम्रो छ र ? मैले एसएलसी पास मात्रै गरेको हो,’ उनले भनिन् । उनको साथमा राहदानी भने छैन । ‘छिनछिनमा ढल्छु । यहाँ आउनुभन्दा अगाडि पहिले एकचोटि भएको थियो । नेपालमा फुकफाक गरेपछि मलाई फर्केको थिएन । यहाँ आएपछि फेरि अस्ति त्यस्तो भयो । आज फेरि त्यस्तै भयो,’ उनले भनिन्, ‘जति बिरामी भए पनि काम गर्नुपर्छ ।’
रोजगारदाता उनलाई तत्काल फिर्ता पठाउने पक्षमा देखिँदैनन् । रोजगारदाताले एजेन्टसँग चार वर्षसम्म करारपत्र गरेर ल्याएको बताउने गरेका छन् । त्यस्तो लिखित करारपत्र भने उनलाई दिइएको छैन । उनीसँग नियमित सम्पर्कमा आइराख्ने एक नेपाली घरेलु श्रमिक भने भागेर नेपाल पुगेकी छन् । ‘हामी साथी–साथी मिलेर ग्रुपमा कनेक्ट भएका थियौं । सबैले चार वर्ष मात्रै होइन, लाइफ नै जान्छ भनेर कुरा भइराख्थ्यो,’ उनले भनिन्, ‘यहाँ काम गर्न सकेन भने एजेन्टले हामीलाई लैजाने भनेको जोर्डन कि ओमान हो ।
यो भनेको पर्सिपल्ट जस्तो त्यो बहिनीलाई ओमान पठाउने भएछ । राहदानी ऊसँगै थियो । ओमान जाने बेला बीचको ट्रान्जिटबाट नेपाल भागेर गइछ ।’ उत्तरी जोर्डनबाट इजरायल र प्यालेस्टाइनतर्फ जाने मुख्य स्थलमार्गमा तीन नाका छ । राजा हुसेन पुल (एलेनबी पुल), शेख हुसेन पुल र वादी अराबी क्रसिङ रहेको छ ।
प्यालेस्टिनीका लागि राजा हुसेन पुल मात्र खुला छ । जसबाट वेस्ट बैंकको हेब्रोन, रामल्लाह, जेरुसेलम, बेथलेहेम आवतजावत हुन्छ । यो नाका आइतबार–बिहीबार बिहान ८ः३० देखि साँझ ६ बजेसम्म, शुक्रबार बिहान ८ः३० देखि बेलुका ४ बजेसम्म र शनिबार बन्द रहन्छ । यही रुटबाट नेपाली घरेलु श्रमिकको ओसारपसार भइरहेको खुलेको छ । उनलाई यो घरमा काम गर्दा चार सय डलर तलब दिइरहेको छ ।
बस्न छुट्टै कोठा दिइएको छ । बिहान ७ः३० देखि बेलुका १२ बजेसम्म काम गर्नुपर्छ । ‘यो घरबाट भागेर बाहिर जान त सकिन्छ । तर जाने कहाँ ? मसँग राहदानी साथमा छैन,’ उनले भनिन्, ‘यो गाउँ हो । यहाँबाट बजार नजिकै पर्छ । मलाई दुई पटक लिएर गएका थिए ।’ उनले भागेर जोर्डन वा इजरायल छिर्न निकै कठिन भएको बताइन् । ‘ड्राइभरको सहयोगबाट उद्धार हुन कुनै सम्भावना छैन, बिचरा उनीहरू कस्तो डराउँछन्,’ उनले भनिन्, ‘अंग्रेजी बुझ्दै बुझ्दैनन् । टुटफुट कुरा हुन्छ । किन आएको मात्र भन्छन् ।’
उनले आफ्नो रोजगारदातालाई पठाइदिन अनुरोध गरेकी थिइन् । ‘तिमीले अरूसँग के भन्यौ, हामीलाई थाहा छैन । हाम्रो घरमा आएपछि हामीले भनेको काम गर्नुपर्छ । नगर्ने भए तिमीलाई ल्याउन लागेको १५ हजार डलर फिर्ता गर्नुपर्छ भन्छन्,’ रोजगारदाताबारे उनले सुनाइन्, ‘कहाँबाट तिर्न सक्नु त्यत्रो पैसा ? म त चुपचाप बसें ।’ उनले आफूले चार सय डलर मिनीग्रामबाट नेपाल पठाइरहेको बताइन् । ‘घरमा नियमित कुरा भइरहेको छ ।
बुबाआमाले अहिले पनि चिन्ता गर्नुहुन्छ । जसरी नि आइज भनिराख्नुभाको छ,’ उनले भनिन्, ‘कुवेतमा काम गर्न जाने भनेर एक लाख ७० हजार रुपैयाँ डुबाएँ । त्यो उठाउन अर्को देश आएँ । यहाँ आएर फस्नु परेको छ ।’ उनले आफूसँग भएको ‘लाइभ लोकेसन’ पठाउन नसकिने बताइन् ।
‘खोइ के ट्र्याक गर्छ ? मैले एक जना साथीलाई लोकेसन पठाएको एक मिनेट पनि भएको थिएन । मेरो मालिक आएर त्यसरी लोकेसन नपठाऊ भन्यो,’ उनले भनिन्, ‘तिनीहरूले कहाँबाट थाहा पाए, पाए ।’ तेलअविवस्थित नेपाली दूतावासले ती महिला श्रमिकसँग नियमित सम्पर्कमा रहेको जनाएको छ ।
‘प्यालेस्टाइनबाट नेपालीले उद्धार चाहेको विषय हाम्रो नोटिसमा छ, हामी उहाँसँग नियमित सम्पर्कमा छौं, यो केस हाम्रा लागि नौलो भयो । त्यहाँबाट कसरी उद्धार गर्न सकिन्छ भनेर हामी छलफलमा छौं,’ इजरायलका लागि कार्यवाहक राजदूत ओम भण्डारीले कान्तिपुरसँग भने, ‘इजरायली अधिकारीहरूसँग छलफल गर्ने तयारीमा छौं ।’